सरकारले विभिन्न ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको छ ।
युवा तथा खेलकुद् मन्त्रालयले अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रबार काठमाडौमा एक समारोह गरी विभिन्न ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो।
सम्मान पाउनेमा समाज सेवातर्फ काठमाडौंको धुर्मुस सुन्तली फाउण्डेशन र व्यवसायिक कृषितर्फ गुल्मीको पैंचो पसल रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरे। यस्तै, वातावरण सरसफाइ र स्वयंसेवातर्फ संखुवासभाका डा. राजु अधिकारी, चित्रकलातर्फ मकवानपुरका अमिर लामा, कला र संगिततर्फ सर्लाहीका शिव परियार, कृषितर्फ ओखलढुंगाका लोचन बस्नेत, चेलीबेटी बेखबिखन नियन्त्रणतर्फ माइती नेपालकी फुलमाया तामाङले सम्मान पाएका छन्।
कास्कीका दिपक तिमिल्सिनाले पशुपालनतर्फ, मुगुका मिनबहादुर भामले कला र संस्कृतितर्फ तथा काभ्रेका डा. सुमन सत्यालले वैज्ञानिक खोज र अनुसन्धानतर्फ सम्मान पाएका छन् । सम्मानसँगै सबैलाई १/१ लाख रुपैयाँ पनि प्रदान गरिएको छ।
सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुको परिचालन गरेर मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि रोजगारीका लागि विदेश जानुपर्ने वाध्यताको अन्त्य गरिनुपर्ने बताए। उनले युवाहरु मुलुकभित्रै रहने सुनिश्चित गर्नका लागि प्राविधिक र सीपमूलक शिक्षा दिन तथा उद्यमशिलताको विकास गर्न आवश्यक रहेको बताए।
नेपालमा कुल जनसंख्याको ४० प्रतिशत युवाहरु छन् । तर युवाहरुको ठूलो संख्या भने बेरोजगार छ । अन्र्तराष्ट्रिय श्रम संगठनका अनुसार ३६ प्रतिशत युवा अर्ध बेरोजगार छन् ।