अमेरिकी पौडीबाज माइकल फेलप्सले आधुनिक मात्र होइन, परापूर्वकालदेखि चल्दै आएको ओलम्पिकको सबै कीर्तिमान तोडेका छन्।
शुक्रबार बिहान रियोको अक्वाटिक पौडी पोखरीमा भएको २ सय मिटर बटरफ्लाई स्पर्धामा ३१ वर्षीय पौडीबाजले स्वर्ण जितेपछि उनी ओलम्पिकमा २२ स्वर्ण जित्ने एक्लो खेलाडी बन्न पुगेका छन्। यसमा पनि एकल स्पर्धातर्फ स्वर्णको संख्या १३ पुगेपछि उनी रोडेस (पुरानो ग्रिस) का लियोनिदासको २ हजार वर्ष पुरानो कीर्तिमानलाई पनि भंग गर्न सफल भएका छन्। इतिहासकारहरूका अनुसार धावक लियोनिदासले १ सय ५२ बिसीमा एक्लो प्रयासमा १२ वटा स्वर्ण जितेका थिए।
३६ वर्षीय लियोनिदासले २ सय, ४ सय र सिल्ड बोकेर दौडिनु पर्ने तीनवटा स्पर्धामा लगातार ३ ओलम्पिकमा स्वर्ण जितेका थिए। लियोनिदासभन्दा ५ वर्ष कान्छा फेलप्सले ४ वटा ओलम्पिकमा एक्लो स्पर्धामा १३ र रिलेमा १० गरि कूल २२ स्वर्ण जितेका हुन्। ओलम्पिकमा भने उनको कूल पदक संख्या २६ पुगेको छ। उनले स्वर्णबाहेक १ रजत र ३ कास्य जितेका छन्।
उनले ४ वटा ओलम्पिकको एकल स्पर्धामा पदक जितेर अमेरिकाका ट्रयाक एन्ड फिल्डका दुई धावक अल ओर्टर र कार्ल लुइसको कीर्तिमानलाई पनि बराबरी गरेका छन्। यि दुवै धावकले ४ वटा ओलम्पिकमा एकल स्पर्धातर्फ स्वर्ण जितेका थिए फेलप्सले २ सय मिटर बटरफ्लाईमा स्वर्ण जित्न १ मिनेट ५४ दशमलव ६६ सेकेन्डको समय निकालेका थिए। बेइजिङ ओलम्पिकमा १ मिनेट ५४ दशमलव २३ सेकेन्डमा दौडिएका फेलप्सको यो दोस्रो उत्कृष्ट समय हो। उनले ४ वटै ओलम्पिकमा यो स्पर्धामा स्वर्ण जितेका हुन्।
दुरी पुरा गरेपछि रियो ओलम्पिकमा आफूले ४ वटा स्वर्ण जितेको जनाउ दिन उनले ४ वटा औला हावामा हल्लाएका थिए। फेलप्सले रियोमा २ सय मिटर इन्डिभिजुअल रिले, २ सय मिटर बटरफ्लाई सय गुणा ४ सय मिटर फ्रिस्टाइल र २ सय गुणा ४ सय मिटर फ्रिस्टाइल रिलेमा गरि ४ वटा स्पर्धामा स्वर्ण जितिसकेका छन्।