एसियाको नोबल पुरस्कार मानिने म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आफूले सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्दमा सरकारले लगानी गर्नुपर्ने बताएका छन्।
पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय आविष्कार केन्द्र नाफा कमाउनका लागि नभइ अनुसन्धानका माध्यमबाट मुलुकको विकासमा सहयोग पुर्याउनका लागि स्थापना भएको भन्दै केन्द्र सञ्चालनका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने बताए। उनले आफूले रमाइलो गर्नका लागि नभइ १० मेगावाटको जलविद्युत योजना निर्माण गरेर केन्द्रलाई दिगो बनाउनका लागि सरकारसँग बजेट मागेको बताए।
मुलुकको विकासमा सहयोग पुर्याउने गरी केन्द्र सञ्चालनका लागि वार्षिक १० देखि १५ करोड रूपैयाँ चाहिने र तत्काल लाभ हासिल नहुने कारण त्यो रकम व्यापारिक समुदायबाट जुटाउन सम्भव नभएकाले सरकारी सहयोग मागेको बताए। केन्द्र पुनले ४ वर्ष पहिले दर्ता गरेको कम्पनी हो। पुनले आफूले दर्ता गरेको कम्पनी अन्य कम्पनी भन्दा फरक प्रकृतिको भएको भन्दै केही वर्षपछि यसको स्वामित्व सरकारले लिन सक्ने बताए। पुनले केन्द्र संचालनका लागि बजेट माग गरेपनि अघिल्लो सरकारले माग बमोजिमको बजेट दिन अस्वीकार गरेको थियो।