आफ्नो भागमा परेका ८ मन्त्री मध्ये बाँकी ५ मन्त्री छान्न माओवादी केन्द्रको बैठक आज बस्दैछ। ‘पार्टीबाट को को बन्ने भन्ने विषयमा अझै आधिकारिक भइइसकेको छैन। त्यसका निम्ति आज ३ बजे कार्यालयको बैठक बसेर टुङ्गोमा पुगिने छ,’ पार्टी प्रवक्ता पम्फा भुसालले सेतोपाटीसँग भनिन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल निकट नेताहरुका अनुसार मन्त्री चयन भने लगभग टुङ्गो लागिसकेको दावी गरेका छन्। त्यस अनुसार जनार्दन शर्माले माओवादीको भागमा परेका मन्त्रालय मध्ये रोजेर मन्त्रालय पाउने छन्। तर उनको आँखा उर्जा मन्त्रालयमा परेको पार्टी नेताहरुको भनाइ छ।
अर्का नेता प्रभु शाहले कानुन मन्त्रालय पाउने सम्भावना छ। तर उनको अनको आँखा पनि ऊर्जा मन्त्रालयमा परेको केही नेताहरुको दावी छ। शाहको समर्थनमा जुटेका छन् पार्टी नेता तथा पूर्व उर्जामन्त्री टोपबहादुर रायामाझी।
अर्का नेता डीआर पौडेल शिक्षा मन्त्री बन्ने सम्भावना रहेको छ। ‘नारायणकाजी श्रेष्ठ समूहले शिक्षा मन्त्रालयमा केही विशेज्ञता हासिल गरिसकेको छ। त्यसकारण शिक्षा मन्त्रालय उहाँहरूले पाउनु हुन्छ,’ दाहाल निकट एक नेताले भने।
प्रचण्ड निकट नेता हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने भएका छन्। त्यसैगरी नेता राम कार्कीले सूचना तथा सञ्चार मन्त्रालय पाउने लगभग सहमति छ। उनलाई पार्टी नेता शक्ति बहादुर बस्नेतले साथ दिएका छन्।
‘मन्त्री आकांक्षी पार्टीमा धेरै छन् भने मन्त्रालय थोरै। उक्त लिष्टमा सबै नेताहरुको सहमति पनि छैन,’ पार्टी प्रवक्ता पम्फा भुसालले भनिन, ‘पहिले मन्त्री भइसकेकालाई फेरि पठाउने होइन। एक जना महिला, एक जना जनजाती र एक जना मधेसी छान्ने हो। बाँकी दुई जनाको मन्त्री बन्नु हुन्छ थाहा छैन।’
तर समानुपातिक प्रतिनिधित्व मिलाउने कुरा राज्य मन्त्री नियुक्ति मार्फत हुने प्रचण्ड निकट नेताहरुले बताएका छन्।