नेपाली समाजमा दरको महत्व बेग्लै खालको छ। खास गरेर तीजको अघिल्लो दिन सबै दिदी–बहिनीहरू बसेर मिठा–मिठा पकवान पकाएर खानुलाई दर भनिन्छ। तर, बिडम्बना पछिल्लो समय तीज आउनुभन्दा महिना दिन अगाडिदेखि नै विभिन्न तवरले पार्टी प्यालेसहरूमा दर खाने गरिन्छ। यसका साथै दरमा विभिन्न मदिरायुक्त पदार्थ खाने तथा उत्ताउलो तरिका अपनाउने प्रचलन बढ्दै गएको छ। यस्तो प्रचलन रोक्नुको साटो अझ यसलाई प्रश्रय दिने गरेर केही तीजका गीत समेत बजारमा आएका छन्।
विवादको अर्को नाम मानिने गायिका ज्योति मगरले फेरि यो साल पनि दरमा भोड्का खान्छु भनेर तीज गीत सार्वजनिक गरेकी छन्। जसले नेपाली महिलाहरूको यो महान पर्वको गरिमामाथि नराम्रोसँग प्रहार गरेको छ। दरमा के खाने या नखाने? हरेकलाई स्वतन्त्रता हुन्छ तर तीजजस्तो सांस्कृतिक गरिमा बोकेको पर्वमा दरलाई भोड्का र रमसँग तुलना गर्नु ज्योतिको मानसिक दरिद्रता हो। अहिले केही महिलाहरूले ज्योतिले भनेजस्तै भोड्का नै खालान् दरमा यो मान्न सकिन्छ।
तर, के यो कुरा नेपाली समाजमा स्थापित गर्न योग्य छ त? हामीले समाजमा भएका नराम्रा कुरालाई परिवर्तन गर्दै लैजाने या गीतमा जोडेर अझ प्रेरित गर्ने? कलाकारले गहिरो दिमागले बुझ्न जरुरी छ। क्षणिक चर्चाका लागि हाम्रो विशेष महत्व बोकेको पर्वलाई नै माध्यम बनाउने काम गर्नु आफ्नै कलाकारितामाथिको विश्वास गुमाउँदै जानु हो। नेपाली समाजमा तीज पर्वको आगमनलाई विभिन्न गीत संगीतले जनाउ दिइसकेका छन्। बजार, पसल सबैतिर तीजका भाका बेजोडसँग गुन्जिरहेका छन्।
विशेष गरेर नेपालमा पछिल्लो समय स्थापना भएका रेडियोहरूले यसको झल्को बलियोसँग दिएका छन्। नेपाली महिलाहरूको महान पर्वका रुपमा रहेको यस पर्वलाई सांगीतिक पर्वका रुपमा समेत लिने गरिन्छ। गीत, संगीत र नृत्यसँग जोडिएको यो पर्व निकै उल्लासपूर्ण पर्वका रुपमा रहेको छ। वर्ष दिनमा माइत जाने महिलाहरूले घरमा भोगेका दुःख र पीडालाई मुखरित गर्न र वर्ष दिनको पीडा भुल्नका लागि यो पर्वले अहम भूमिका खेलेको छ।
तीज पर्व भन्नेवित्तिकै गाउँभरिका महिलाहरू एक ठाउँमा भेला भएर मनका भाव गीतका माध्यमबाट फुकाउने पर्वका रुपमा लिने गरिन्छ। यसरी मनका भाव फुकाउने गीतका शब्द पनि समाज सुहाउँदा हुनु पर्दछ। तर, पछिल्लो समय परिवर्तनका नाममा समाजलाई गलत बाटोतर्फ धकेल्ने खालका शब्द र दृश्यको संयोजन गरेर गीत निर्माण भइरहेका छन्। जसले समाजलाई नयाँ कुरा सिकाउने भन्दा पनि गलत मार्गतर्फ लगेको पाइन्छ।
मानवीय मष्तिस्कमा बलियो असर पर्ने आँकलन गरेर पछिल्लो समय सरकारले विद्युतीय सञ्चार माध्यमबाट समेत मदिराको विज्ञापन हटाएको छ। तर, पछिल्लो समय बजारमा आएका तीजका गीतमा भोड्का र रमका कुरा बलियोसँग आएका छन्। यसले नेपाली समाजमा नकारात्मक भावनाको विकास मात्रै गर्दछ। रक्सी खाएको कुरालाई तीजको गीतमा जोडेर गीत बनाउनु मानसिक दरिद्रता भन्दा बढी केही होइन। तीज पर्वमा दर खाएर मातिनुपर्छ भन्ने सन्देश गीतमा प्रवाहित हुनु कति आवश्यक कुरा हो?
समयको परिवर्तनसँगै तीजका भाका पनि बदलिँदै गएका छन्। समयको भाव आउने गरेर तीजका भाकालाई विभिन्न स्वरुपमा बदल्दै लगेको पाइन्छ। कुनै समय महिलाहरू वर्ष दिनसम्म पनि माइत जान पाउँदैनथे। वर्षभरि मनमा विभिन्न भाव र बेदना बोकेर बाँच्न बाध्य हुने गर्दथे। अझ बुहारीप्रति सारा परिवारले गर्ने व्यवहार निकै पीडादायी हुन्थ्यो। वर्ष दिनमा मात्र तीजमा माइत भएर गीतका माध्यमबाट मनका भाव पोखेर हलुका महसुस गरेर उनीहरू फेरि माइतमा फर्कन्थे। यसरी अहिले यातायातको सुगमता, प्रविधिको विकास र सामाजिक चेतना अभिबृद्धिजस्ता कारणले गर्दा महिलाहरूले मनका भाव पोख्नका लागि वर्ष दिन नै कुर्नुपर्ने हुँदैन। कारणले पनि पछिल्लो केही समययता तीजका भाका विभिन्न तरिकाले बदलिँदै गएका छन्।
समाज र मानिसका परिवर्तित भोगाइ तीजका भाकामा बिम्बित भइरहेका छन्। समयको बदलिँदो स्वरलाई वैज्ञानिक ढंगले सम्बोधन गर्नका लागि भाका परिवर्तन भइरहेका छन्। यो गतिलो कुरा पनि हो। तर, बिडम्बना अहिले हाम्रा चेलीहरूले गाउने तीजका भाकामा हाम्रो समाजलाई नपच्नेका खालका शब्द राखेर चर्चा कमाउने ध्यानमा कलाकारहरू उद्धत छन्। उनीहरूले अश्लिल मात्र होइन दरमा जाँड खाने कुरा समेत गीतमा गर्न थालेका छन्। तीज पर्वका गीतका भाका भनेका सबैले चौतारीमा बसेर गाउने भाका हुन्। जसमा महिलाका विभिन्न भाव र भोगाइ समेटिएका हुन्छन्। केही वर्षयता तीजका भाकामा समाजले पचाउनै नसक्ने अश्लिल शब्दमात्रै होइन दरखादा रक्सी खानुपर्छ भन्ने खालको विरोधाभाषपूर्ण शब्द पनि समेटिएका गीत बजारमा घन्किएका छन्। समाजमा प्रत्यक्ष प्रभाव पार्ने गीत संगीत बजार आउनु पक्कै पनि हाम्रो संस्कृतिप्रतिको गम्भीर प्रहार हो। बिना सेन्सर गीत रेकर्ड गरेकै आधारमा बजारमा पठाउन पाइने परिपाटीका कारण पनि यस्तो खालको समस्या देख्न सकिन्छ।
‘मेरो ढाड चिलायो’, ‘म सेक्सी देखिन्छु’, ‘दरमा रक्सी खाइन्छ’ खालका अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर गीत तीजका भाकामा आउन थाले भने त्यसले नेपाली समाजको मनोविज्ञान कहाँ लैजाला? विगतमा पनि यस्तै विवादास्पद शब्दको संयोजन गरेर चर्चा कमाएको प्रलोभनमा यस्तो प्रवृत्तिको फेरि पुनरावृत्ति भएको छ। यो पक्कै पनि कसैका लागि पनि जायज छैन। कलाकार क्षणिक रुपमा लोकप्रिय बन्ला तर समाजको अंग भने बन्न सक्दैन। नेपाली कला र संस्कृतिको बिम्बका रुपमा यस्ता कुराहरू आउन थाले भने हाम्रो संस्कृतिको अवस्था के होला? कलाकार भनेर देशका गहना मात्रै होइनन्, समाजमा सबैले पत्याएका मान्छे पनि हुन्। कलाकारको बढ्दो चर्चाले गर्दा उसका शुभेच्छुकहरू उनीहरूकै जीवनको अनुशरण गरिरहेका हुन्छन्। कलाकारले नै समाजका विभिन्न विकृति विसंगतिका विरुद्ध आवाज मुखरित गर्नुको साटो सस्तो लोकप्रियताका लागि त्यही विकृति र विसंगतिलाई प्रश्रय दिन थाले भने यो देशका कलाको संरक्षण कसले गर्ने?
कला, संस्कृति मनोरञ्जन र आनन्दको पाटो मात्र नभएर हाम्रो पहिचान र परिचय पनि हो। तीजका भाका भनेका त झन् नेपाली संस्कृतिसँग प्रत्यक्ष रुपमा जोडिएका भाका हुन्। यसरी तीजका भाकामा नै रक्सी खाइन्छ भनेर उफ्रनु कत्तिको जायज हो? नेपाली नारीहरूमाथि गरिएको अपमानको पराकाष्ठा हो यो। तीजका भाकामा हाम्रा भोगाइ मिठो ढंगले आउनु पर्दछ। तीजमा दर भनेर रक्सी, भोड्का र रम खानुपर्छ भनेर गीत बनाउनु कति सान्दर्भिक कुरा हो? के हाम्रो समाज या कुरा पचाउन सक्ने भएको छ? के नेपाली नारीहरू दरमा रक्सी खाने कुरामा प्रेरित भएका छन्?
चर्चा कमाउनु एउटा कुरा हो। हरेक तवरले चर्चा कमाउन सकिन्छ। तर, समाजमा प्रतिष्ठा र इज्जत नगुमाएर चर्चा कमाउनु नै बुद्धिमानी हुन्छ। तीजका भाकाको सहारा लिएर यु्ट्युवमा भिजिटर वढाउनका लागि मात्रै गीत सँगितको गलत चर्चा गर्नु आवश्यक छैन । कलाकारहरु प्रोपोगान्डा गरेर होइन, कलाले अगाडि बढ्नुपर्छ। के हाम्रा दिदी–बहिनीहरूले यस्ता गीत गाएर नाच्न सक्छन् चौतारीमा? नेपाली संगीत जगतमा सेन्सर गर्ने परम्परा नहुनुले नै यसप्रकारका तुच्छ गीत बजारमा आएका हुन्। एउटा पत्रिका निकाल्न आचारसंहिताको पालना गर्नुपर्छ, सिनेमा बनाउन सेन्सर पास हुनुपर्छ तर त्यतिकै प्रभावकारी माध्यम गीत–संगीतका लागि किन केही पनि गर्नु नपर्ने? यसका बारेमा सम्बन्धित निकायले समयमै चासो र चिन्ता व्यक्त नगर्ने हो भने नेपाली संगीत बजारमा योभन्दा पनि तुच्छ र अति घृणित खालका गीत आउन सक्छन्।
कसैले दरमा रक्सी खाएर रमाउछ भने त्यो व्यक्तिको स्वतन्त्रताको कुरा हो। तर, गीत–संगीत अझ त्यसमा हाम्रो सांस्कृतिक महत्व बोकेको तीज पर्वको गीतमा त्यसरी शब्द अभिव्यक्त गर्नुु पक्कै पनि सुहाउने कुरा होइन। यसरी समाजमा अपाच्य हुने कुरा परम्परासँग जोडेर हेर्ने गरियो भने वितृष्णा ल्याउने गर्दछ। हामीले हाम्रो पहिचान बोकेका कुरा मेट्दै जाने या जोगाउँदै जाने बेलैमा सोच्न आवश्यक छ।