प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको सोमबार अन्त्येष्टि गरियो।
झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो। दुवै मृगौला खराब भएर उनी लामो समयदेखि थलिएका थिए। उनको निन्दा खोलामा अन्त्येष्टि गरिएको हो।
नेम्वाङको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाए। नेकाँ केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, नेकपा एमालेका वरिष्ठ नेता सुवास नेम्वाङ, व्यवस्थापिका–संसद सदस्य भीष्म नेम्वाङ, केशवकुमार वुढाथोकी, सरिता प्रसांई, महिन्द्र लिम्वु, उषा गुरुङ, नेकाँ झापा जिल्ला सभापति उद्धव थापा र कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले पनि स्व. नेम्वाङप्रति श्रद्धान्जलि अर्पण गरेका थिए।
पछिल्लो समय उनलाई मुटुमा पनि सङ्क्रमण देखिएपछि आइतबार मात्रै सिटी हस्पिटल ल्याइएको पारिवारिक स्रोतले जनाएको छ।
काँग्रेसका पुराना नेता नेम्वाङले प्रजातन्त्र प्राप्तिका लागि हतियार समेत उठाएका थिए। बिपी कोइराला, मच्छिन्द्र केरुङ, दान खालिङहरुसँगै उहाँले पूर्वमा सशस्त्र क्रान्तिका लागि हतियार समेत बोकेका थिए। बिपी कोइराला निकट भई राजनीति गर्नुभएका उहाँ लामो समयदेखि राजनीतिबाट पृथक रहँदै आएका थिए। विसं २००७ र २०१८ को प्रजातान्त्रिक आन्दोलनमा सशस्त्र मोर्चाको कमान्ड सम्हालेका नेम्वाङ काँग्रेसद्वारा गठित मुक्ति सेनाका कमान्डर थिए।
विसं २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गरेपछि उनले पूर्वको आन्दोलनको नेतृत्व गरेका थिए। विसं २०४८ सालमा झापाको कलवलगुडीमा भएको काँग्रेसको आठौं महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्य चुनिएका थिए। स्व. नेम्वाङका एक छोरा, तीन छोरी र श्रीमती छन्।