बुहारी सरितालाई मिर्गौला दिएका ससुरा रणबहादुर राई। तस्बिर: भरतबन्धु थापा/सेतोपाटी
बिहानै उठेर पहिले पेटभरि रक्सी पिउथे रणबहादुर राई। त्यसपछि खेत जोत्न जान्थे। अलि मेलो बनाएपछि फेरि पिउथे।
उनको शरीरमा रगत र रक्सी सरोबरी भइसकेको थियो, दिनभरि नै रक्सीको रमरम भएन भने शरीर कामिहाल्थ्यो।
‘रक्सीले मातेर बसिरहन पाए एक हप्तासम्म अर्थोक नखाई बसौं जस्तो लाग्थ्यो,’ मोरङ, पथरीका रणबहादुरले भने, ‘सानैदेखि लत लागेपछि त्यस्तो हुने रै’छ, के गर्नु?’
कुरा रक्सीको लतको मात्र थिएन, रक्सीले मातेपछि उनी घरका सबैलाई गाली गर्थे। नसाले उनी मात्र पीडित थिएनन्, एकनासले पीडित थियो उनको परिवार। बुहारी सरितालाई समेत तथानाम गाली गर्थे, ससुराको व्यवहार देखेर उनी आजित थिइन्।
सरिताका बाबाले उनलाई सानैमा छाडेर गए। अलि ठूली भएकी थिइन्, आमाले पनि अर्को पुरुषसँग बिहे गरिन्। आठ कक्षा पढ्दापढ्दै आफूभन्दा केही उमेर बढीको केटासँग उनको पिरती बस्यो। १७ वर्षको उमेरमा सरिता लिम्बूले तिनै केटासँग बिहे गरिन्।
पति मदन राईको घर उनको माइतीबाट एक घन्टा टाढा थियो। ‘गरिखाने’ घर भित्रिँदा त्यहाँ आफ्ना श्रीमानका अलावा ससुरा, सासु, आमाजु र दुई नन्द पनि थिए। आफ्ना आमाबाबु र परिवारको न्यानो नपाएकी उनलाई खुसीको संसार पाएजस्तो भयो।
एउटै कुरा खट्किरहन्थ्यो- ससुरा बेसमारी रक्सी खाएर कराइरहन्थे। उनलाई गाली गरिरहन्थे। बिहे गरेर आठ वर्ष बित्यो, छोरीसमेत सात वर्ष पुगिन्, ती आठ वर्षमा ससुराले रक्सी नखाएको र नकराएको दिन थिएन।
सरितालाई मनमनै लाग्थ्यो, ‘यो बूढाले यति गाली गर्छ, मेरो त एकरति माया छैन उसलाई।’
बिहे गरेको आठौं वर्षमा सरितालाई यस्तो बिमारले भेट्यो, उनी मृत्युको सम्मुख पुगिन्। अन्तत: उनै ससुरा अघि सरेर सरितालाई नयाँ जीवन दिए। सरिताको मन एक्कासि हर्ष र विस्मातले भरियो। विस्मात यसकारण, किनकि उनले सधैं ससुराले आफूलाई माया गर्दैनन् भन्ने सोचिन्।
‘उहाँको मनभित्र मेरा लागि त्यति धेरै माया रहेछ,’ भक्तपुरस्थित मानवअंग प्रत्यारोपण अस्पतालको ओछ्यानबाट सरिताले सेतोपाटीसँग भनिन्, ‘ससुरा हैन, बा नै हुनुहुँदोरहेछ। मलाई पुनर्जन्म दिने बा।’
बिहे गरेर आउँदा सरिता हट्टाकट्टा थिइन्। घर र खेतको दुवै काम गर्थिन्। विस्तारै उनका हातखुट्टा सुन्निन थाले। वास्ता नगरी घरखेतको काममा एकनासले लागिरहिन्। जब सास फुल्ने र सास फेर्न गाह्रो हुन थाल्यो, बल्ल सरितालाई अस्पताल जानुपर्छ भन्ने लाग्यो।
पति मदन साउदीमै थिए। आमाजूले उनलाई विराटनगरस्थित अस्पताल लगिन्। गोल्डेन अस्पतालका डाक्टरले उनलाई केही जाँचेजस्तो गरे अनि दबाई खान दिए। डाक्टरहरुले के रोग लागेको भनेर भनिदिएनन्, दबाई मात्रै दिए। तर, उनको स्वास्थ्यमा कुनै सुधार आएन।
अलि पछि भने डाक्टहरुले जाँचिसकेपछि उनलाई बाहिर पठाउन थाले र उनकी आमाजूसँग एक्लै भित्र बोलाएर कुरा गर्न थाले।
मकैझैं औषधि चपाउँदा पनि शरीर निको नभएपछि सरितालाई शंका लाग्न थालिसकेको थियो। डाक्टरले 'दिदी'लाई मात्र भित्र बोलाउँदै एक्लै कुरा गर्न थालेपछि उनलाई डर लाग्न थाल्यो।
आखिर उनको शंका सत्य साबित भयो, एघार महिना दबाई खाइसकेपछि बल्ल गत चैतमा आफ्ना दुवै मिर्गौला फेल भएको उनले थाहा पाइन्। डाक्टरले दिदीलाई बोलाएर एक्लै कुरा गरेको रहस्य खुल्यो।
‘औषधिले अब निको हुन्न भन्दा त म एकैपटक छाँगाबाटै खसेँ,’ उनले भनिन्।
तर, डाक्टरले उपाय पनि सुझाए- घरका परिवारबाट कसैले मिर्गौला दिने हो भने बचाउन सकिन्छ। ‘मान्छेको शरीरमा दुईवटा मिर्गौला हुन्छ, कसैले एउटा दिए तपाईंलाई सार्न मिल्छ,’ डाक्टरले भने।
२४ वर्षीया सरिताको सिंगो जीवन बाँकी थियो। सपना बाँकी थिए, सात वर्षीया छोरी हुर्काउनु, बढाउनु र पढाउनु थियो।
‘के भयो के, छोरीको अनुहार देखेर असाध्यै बाँच्न मन लागेर आयो,’ उनले भनिन्, ‘तर, अरुसँग मिर्गौला कसरी माग्नु, म आत्तिएँ?’
आफ्नी साख्खै दिदीसँग उनले बह पोखिन्। ‘मिल्यो भने मै दिउँला मिर्गौला, तँ धेरै चिन्ता नगर,’ दिदीले सामुन्ने हुन्जेल उनलाई सम्झाइन्। पछि मिर्गौला दिन आइनन्, आमाकहाँ खबर भने पुर्याइछन्।
आमाले आफैं रुँदै फोन गरिन्। ‘आफ्नै घरकाले दिए त मिर्गौला फेर्न मिल्छ रे, आमा,’ सरिताले भनिन्।
‘मसँग दुई वटा मिर्गौला हुन्छ भने मै दिन्छु तँलाई एउटा, पिर नगर,’ आमाले भनिन्।
आमाले दिन्छु भनेर मात्रै हुन्नथ्यो, रगतको समूह मिल्नुपर्थ्यो, उनको स्वास्थ ठिक हुनुपर्थ्यो। बिहे गरेर दोस्रो लोग्नेसँग गएकी उनको घरसल्लाह मिल्नुपर्थ्यो।
डायलासिसका लागि सरिता काठमाडौं आइन्। हिँड्न लाग्दा छोरी उनको सारीको फेर समाएर रोइन्। त्यो दृश्य सरिताका आँखामा सधैं नाचिरह्यो, छोरी सम्झेर दिनमा धेरैपटक मन चस्किन्थ्यो। आमाले नै मिर्गौला दिन्छु भनिरहेपछि उनको मनको एउटा कुनो ढुक्क थियो। तर, पापी मनको अर्को कुनामा बतास चलिरहन्थ्यो।
वैशाख-जेठतिर श्रीमतीको उपचार गर्न मदन पनि साउदीबाट आए। सासुआमालाई अस्पताल लगेर रगत जँचाए। रगत त मिल्यो तर परिस्थिति मिलेन। आमा नै अचानक बिरामी परिन्।
यता सरिताको मन ढक्क फुल्यो, भरोसाले ठाउँ छाड्यो। आफूले छाडेर हिँड्दा रोइरहेकी छोरी एकनासले आँखा अगाडि आइरहिन्।
अन्तत: मदनले नै आँट गरे- 'मै मिर्गौला दिन्छु।'
अस्पताल गएर जँचाए। रगतको समूह मिल्यो।
कलिलै उमेरमा सरिताले मदनमाथि विश्वास गरेकी थिइन्। दुवैले माया साटेका थिए। त्यो माया कति चोखो, कति बलियो थियो भन्ने मदनले प्रमाणित गरे।
सरिता भावविह्वल भइन्। मदन अस्पतालमा यता र उता दौडेको चुपचाप हेरेर बसिरहिन्। मदनप्रतिको प्रेम र समर्पण एकपटक फेरि उम्लेर आयो।
आमाबासँग सल्लाह गर्न मदन घर गए, पथरी। भने, ‘सरिताकी आमाले दिन मिलेन, अब मै दिन्छु उसलाई मिर्गौला। एउटा दिए पनि एउटा बाँकी रहन्छ, केही फरक पर्दैन रे।’
मदनको कुरा सुनेर उनका आमाबा चुपचाप भए। मदन एक्लो छोरो हुन् उनीहरुका।
२६ वर्षको लक्का जवान छोरो, त्यसमाथि विदेश बसेर काम गर्ने, पत्नीलाई मिर्गौला दिन्छु भन्छ, रणबहादुरलाई पर्नु पीर पर्यो। रणबहादुरले धेरै नसोची भने, ‘तँ हैन, म दिन्छु बुहारीलाई मिर्गौला।’
‘बा पो म दिन्छु बुहारीलाई मिर्गौला भनेर जंगिएका छन्,’ मदनले सरितालाई फोनमा सुनाए।
'ससुराले रक्सी खाएका बेला त्यसै बोलेका हुन् कि?' आमाले मिर्गौला दिन नसकेपछि सशंकित बनेकी सरिता ढुक्क हुन सकिनन्, तर पनि ससुराले त्यसो भने भन्ने सुन्दा उनलाई अचम्म लागिरह्यो।
नभन्दै केही दिनमा बाबु-छोरा काठमाडौं आइपुगे। सरिताका आँखा रसाए।
जाँच गर्दा रणबहादुरले बुहारीलाई मिर्गौला दिन मिल्ने देखियो। डाक्टरले उनलाई सोधे, ‘अरु सबै कुरा ठिक छ, तर तपाईं रक्सी खानुहुँदो रहेछ। छोड्न सक्नुहुन्छ?’
‘अलिअलि त खान मिल्ला नि डाक्टर साप?’ रणबहादुरले सोधे।
बुबाको रक्सीको लत भोगेका मदनले भने, ‘भो बा, तपाईंले नानीदेखि लागेको बानी छोड्न सक्नुहुन्न, मै दिन्छु।’
‘हैन डाक्टर साप, म अबदेखि एक थोपा पनि खान्न,’ छोराको बोली भुइँमा खस्न नपाउँदै उनले डाक्टरसँग भने।
काठमाडौं आएको करिब दुई महिनासम्म रक्सीको गन्ध नजिक पनि गएनन् रणबहादुर। र, चार दिनअघि बुहारीलाई आफ्नो एउटा मिर्गौला दिए।
भक्तपुरको मानव अंग प्रत्यारोपण अस्पतालमा कुरा गर्दै उनले भने, ‘म त चियाभन्दा पहिले रक्सी बढी खान्थेँ। छोडेँ भने बहुलाउँछु जस्तो लागेकोथ्यो, केही भएन।’
बुहारीलाई मिर्गौला दिने निर्णय गरेपछि रणबहादुरलाई गाउँलेले खुब उक्साएछन्।
‘बुहारीलाई मिर्गौलै दिन्छु भन्छस्, बहुलाइस् कि के हो?’ कसैले भने। अरुले थपेछन्, ‘बुहारी त अर्को खोजेर पनि पाइन्छ, ज्यानै काटेर दिने?’
‘अरुले जे भने पनि मेरो मनमा बुहारी आफ्नै छोरीजस्तै लाग्थी,' उनले भने, ‘गाउँलेले जे-जे भने पनि म आफ्नो निर्णयबाट डेग चलिनँ।’
‘होस् दिन्नँ’ भन्ने एकपटक पनि लागेन त? डर पनि लागेन?’
‘मेरी नातिनीकी आमा रहिन भने, उसको बाउलाई केही भयो भने उसको बिचल्ली हुन्छ भन्ने सम्झें, अनि बुहारीलाई मिर्गौला दिने निर्णय गर्न केही गाह्रो भएन,’ उनले मुस्कुराउदै नातिनीतिर हेरेर भने।
‘बत्ती’ जस्ती उनकी नातिनी आफ्ना बासँग चलमल गरिरहेकी थिइन्।