विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिक ओलम्पिकको आफ्नो पहिलो खेलबाटै बाहिरिएका छन्। उनलाई १ सय ४१ नम्बरमा रहेका अर्जेन्टिनाका जुआन मार्टिन डेल पोट्रोले ७–६ (७–४), ७–६ (७–२) को कडा प्रतिस्पर्धाका बीच पराजित गरे। ४ वर्षअघि लन्डन ओलम्पिकमा कास्यका लागि भएको प्रतिस्पर्धामा जोकोभिक पोट्रोसँगै पराजित भएका थिए।
सर्वियाका २९ वर्षीय जोकोभिकले रियोमा स्वर्ण जित्ने लक्ष्य बनाएका थिए। तर, अर्जेन्टिनी प्रतिस्पर्धीसँग अढाई घण्टा लामो प्रतिस्पर्धामा पराजित हुन पुगेपछि टेनिस कोर्टमा उनको आँशु थामिएन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा जोकोभिकले कास्य जितेका थिए।
‘यो मेरो जीवनकै प्रतिस्पर्धात्मक पराजय हो,’ जोकोभिकले भने। जोकोभिकले गत जुनमा फ्रेन्च ओपनको उपाधि जितेपछि उनी ४७ वर्षपछि ग्रान्ड स्लामको ४ वटै उपाधि जित्ने खेलाडी बनेका थिए।