रियो ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो हुने सम्भावना बलियो देखिएको छ।
१३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले आइतबार राति नेपाली समयअनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गर्दैछिन्। उनी लेन नम्बर १ मा कोसोभोकी रिता जेकिरी र समाओकी इभिलिना अफोआसँग प्रतिस्पर्धामा उत्रिने छिन्।
यी दुवै खेलाडीभन्दा हाल गौरिकाको समय राम्रो छ। गौरिकाको नाममा सय मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। उनले ६ महिनाअघि भारतको पूर्वीय राज्य गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा यो कीर्तिमान राखेकी हुन्।
उनीसँग प्रतिस्पर्धामा उत्रिन लागेकी कोसोभोकी २० वर्षीय रिता जेकिरीको यो स्पर्धामा १ मिनेट १२ दशमलव ६७ सेकेन्डको ‘टाइमिङ’ रहेको छ। ८ वर्षअघि रूसबाट छुट्टिएको कोसोभोले पहिलो पल्ट पौडीतर्फ ओलम्पिकमा भाग लिएको हो। गत वर्ष रूसको कजानमा भएको १६औं फिना विश्व पौडी प्रतियोगितामा कोसोभोकी फ्लाक पुरुथीले भाग लिएकी थिइन्। त्यतिबेला उनको ‘टाइमिङ’ गौरिकाको भन्दा निकै कमजोर १ मिनेट १४ दशमलव २९ सेकेन्ड थियो। उनलाई ओलम्पिकको छनोटमा जेकिरीले पछाडि छोडेकी थिइन्।
यस्तै, सन् २०१४ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १ मिनेट ०६ दशमलव ४६ सेकेन्डमा सय मिटर दुरी पुरा गरेकी इभिलिनाको पछिल्लो समयको प्रदर्शन फितलो छ। उनले कजानमा १ मिनेट ०८ दशमलव ४३ को ‘टाइमिङ’ मा दुरी पुरा गरेकी थिइन्। कजानमा गौरिका १ मिनेट ०८ दशमलव ४३ सेकेन्डको समयसहित ५८ औं स्थानमा थिइन् भने इभिलिना ५९ औं स्थानमा।
गौरिकाको पछिल्लो एक वर्षमा ‘टाइमिङ’ मा निकै सुधार आइसकेको छ। उनले रियोमा आफ्नो लक्ष्य आफैंले सागमा राखेको राष्ट्रिय कीर्तिमानमा अझै सुधार गर्ने बताएकी छिन्। गौरिकाले पछिल्लो २ वर्षको अन्तरालमा ३० पल्ट राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन्। त्यसैले उनीबाट आशा गरिएको रियोबाट प्रशिक्षक ईश्वर कार्कीले सेतोपाटीलाई बताए। ‘उनको टाइमिङ राम्रो छ। अहिलेको लय बिग्रिएन भने उनले राष्ट्रिय कीर्तिमान बनाउने छिन,’ कार्कीले भने।
स्वर्णका लागि सय मिटर ब्याकस्ट्रोकको हिट्समा ३४ खेलाडीले भाग लिदैछन्। हिट्समा उत्कृष्ट हुने खेलाडीले अन्तिम १६ मा स्थान पाउने छन् भने अन्तिम १६ बाट छनोट भएका खेलाडी स्वर्णका लागि भिड्ने छन्।