सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त छन्।
आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उनले निःशुल्क स्वास्थ्योपचार गर्दै छन्।
सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा.केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहेका हुन्।
डा.केसी आफैले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा आएका हुन्। उक्त ठाउँमा आज मात्रै उनले २५/३० जनाको निःशुल्क उपचार गरेको तिलाठीका युवक नीरज झाले जानकारी दिए।
डा.केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गरेको बताइएको छ। यसअघि शनिबार डा.केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गरेका थिए।