आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार पछिल्लो राजनीतिक घटनाक्रममा सरकारमा जाने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट हुने नेताहरू बढ्दै गइरहेका छन्।
गुट फेरेका केसी पनि असन्तुष्ट
महाधिवेशनका वेला संस्थापनबाट देउवा पक्षमा सरेर महामन्त्रीका उम्मेदवार बनी पराजित अर्जुननरसिंह केसी सरकारमा जाने विषयमा सभापतिसँग असन्तुष्ट भएका छन्।
आफूले रोजेजस्तो मन्त्रालय नपाएको भन्दै उनी सरकारमा जान मानेनन्। उनले पार्टीको तर्फबाट आफ्नो नेतृत्वमा सरकारमा जाने र गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने माग गरेका थिए।
त्यसो नभएमा स्थानीय विकास, भौतिक योजना तथा यातायात मन्त्रालय उनको प्राथमिकतामा थियो। तर, देउवाले रक्षा वा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन भनेपछि अस्वीकार गर्दै सपथ लिन जान मानेनन्। जनतासँग सीधै जोडिएको मन्त्रालय नदिएकाले मन्त्री नभएको उनको भनाइ छ।
गोपालमान श्रेष्ठ
सभापति शेरबहादुर देउवाको टिममा गोपालमान श्रेष्ठ पुराना नेता हुन्। उनी उपभापतिका दाबेदार हुन्। प्रजातान्त्रिक कांग्रेसको उपसभापति भएको तथा सिनियर भएकाले अहिले पनि उपसभापति पाउनुपर्ने उनको माग छ। उपसभापति बनाउन देउवा तयार नभएपछि उनी असन्तुष्ट बनेका छन्। सरकारमा पनि नलग्ने संकेत पाएपछि उनी थप असन्तुष्ट बनेका छन्।
कुलबहादुर गुरुङ
महाधिवेशनको मुखैमा केबी गुरुङसहित गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्दलगायतको टिम देउवा पक्षमा लागेको थियो। गुरुङले केन्द्रीय सदस्यमा जिते पनि अन्य नेता पराजित भए। देउवाले सहयोग नगरेकाले उनीहरू पराजित भएको बुझाइमा गुरुङ असन्तुष्ट छन्।
आफ्नो पक्षकालाई महत्वपूर्ण ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग गुरुङले देउवासँग गर्दै आएका छन्। मनमोहन भट्टराई केन्द्रीय सदस्यमा देउवाले सहयोग नगरेका कारण पराजित भएको भट्टराइको बुझाइ छ।
उनको केन्द्रीय सदस्यमा मनोनीत हुने अपेक्षा रहेको स्रोतको भनाइ छ। तर, देउवाले चासो नदिएकोमा असन्तुष्ट छन्।