अनिल पुन ३० वर्षमा टेके। बागलुङका उनी कक्षा १० को परीक्षाका लागि तयारी गरिरहेका बेला मिर्गौला फेल भयो र जीवनको याचना गर्दै डायलासिसका लागि काठमाडौं हानिए। त्यसपछि जन्मथलोमै फर्खिए उनी।
डायलासिसमा धेरै वर्ष बिताएका उनले दीर्घकालीन समाधान खोज्दै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे तर फोक्सोको संक्रमणले तीन वर्षमै उनको प्रत्यारोपण असफल भयो। फेरि डायलासिसकै भरमा उनको जीवन अघि बढ्यो।
उपचारका लागि १२ वर्षमा उनले करिब ६० लाख रुपैयाँ खर्चेका छन्। घरखेत अर्कैको हातमा परिसकेको छ। सहयोग माग्ने ठाउँ कतै नभएपछि विरक्तिमा छट्पटाइरहेका बेला सरकारले डायलासिस सेवा निःशुल्क गरिदियो। हिजोआज उनको जीवनमा नयाँ उत्साह देखिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
वीर अस्पतालमा तीनपटक निःशुल्क डायलासिस गरिसकेका र चौथोपटक डायलासिसका लागि शरीरमा मेसिन जडान गर्नुअघि उनले भने, 'जीवनप्रतिको आशा मरिसकेको थियो तर डायलासिस निःशुल्क गर्न पाउँदा त्यो आशा फेरि पलाएको छ। कोठाभाडासमेत तिर्न नसक्ने अवस्थामा छु। डायलासिस निःशुल्क गर्ने निर्णयमा सरकार पुगेको दिन खुसीले मेरा आँसु झरेका थिए।'
गत वैशाख ३० गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मिर्गौला फेल भएका बिरामीलाई साताको दुईपटकका दरले आजीवन निःशुल्क डायलासिस सेवा दिने घोषणा गरेको थियो। त्यसको करिब साढे दुई महिनापछि मात्रै अस्पतालहरूले डायलासिस सेवा निःशुल्क गर्न थालेका हुन्। वीर अस्पतालले साउन १२ गतेदेखि सातामा दुईपटकका दरले डायलासिस सेवा निःशुल्क गरेको छ।
अनिल आफूलाई भाग्यमानी सम्झिन्छन् र भन्छन्, 'मजस्ता सबै बिरामीलाई लक्षित गर्र्दै सरकारले चालेको यो कदमले जीवन रहेसम्म सकारात्मक आशा र उत्साह दिनेछ। सबैको उपचार गर्दागर्दै पैसा रित्तिएको थियो।'
डँडेल्धुराकी ३१ वर्षीया मनकला कार्कीको कथा अलि फरक छ तर व्यथा झन्डै अनिलसँग मिल्दोजुल्दो। गत माघमा दुवै मिर्गौला फेल भएपछि जीवन बचाउन उनले ठूलो संघर्षमा होमिनुपर्यो। उच्च रक्तचापको समस्या भोगिरहेकी उनलाई डँडेल्धुरा उपक्षेत्रीय अस्पतालले मिर्गौलामा समस्या देखिएको संकेत गर्दै कोहलपुर जान सुझायो।
कोहलपुर मेडिकल कलेजले वीर अस्पताल रेफर गरेपछि यहाँ आएर जाँच गरेकी उनको मिर्गौलामा समस्या आएको चिकित्सकले बताए। त्यसपछि उनी औषधि बोकेर घर फिरेकी थिइन्।
अत्यधिक ज्वरो आउने, छिनछिनमा पिसाब आउने, अनुहार र खुट्टा सुन्निनेजस्ता समस्या सुरु भएपछि गत जेठमा उनी पुनः वीर अस्पताल आइन्। जाँचपछि मनकलाका दुवै मिर्गौला फेल भएको नतिजा आयो। पहिलोपटक डायलासिस गर्न तयार हुँदै गरेकी उनले भनिन्, 'मेरो घर धेरै टाढा छ। उपचारका लागि आउनेजाने खर्च जुटाउन नै मुस्किल छ।
यस्तो बेला निःशुल्क डायलासिस गर्न पाइने भयो। पक्कै पनि यसबाट म खुसी छु।' मनकलाको भित्री इच्छा सरकारले अब आफ्नो जिल्लामा पनि डायलासिस सेवा विस्तार गरिदेओस् वा प्रत्यारोपण निःशुल्क गरोस् भन्ने छ।
'डायलासिस गर्न हामी दुई दिनको यात्रा तय गर्दै ज्यान धरापमा पारेर काठमाडौं आउनुपर्छ। यहाँ कोठा लिएर बस्ने क्षमता छैन। निःशुल्कै भए पनि डायलासिस गर्न सधैंभरि काठमाडौं आउनसक्ने अवस्था हुँदैन', उनले भनिन्। उनको सुन्निएको अनुहारमा आफ्नो रोगभन्दा घरपरिवार तथा बालबच्चाको पिर र विगतमा रोग पत्ता लगाउन खर्च भएको पैसा कसरी जुटाएर साहूलाई तिर्ने भन्ने चिन्ता बढी झल्किन्छ।
वीर अस्पालतमा अहिले दैनिक २० जनाले निःशुल्क डायलासिस सेवा लिइरहेका छन्। अनिल, मनकलाजस्ता मिर्गौला फेल भएर लामो समयदेखि डायलासिस गरिरहेका बिरामीको अनुहार पहिलेभन्दा तेजिलो हुन थालेको छ। तर उनीहरू आफ्नो जीवन बचाउने दीर्घकालीन उपाय भने मिर्गौला प्रत्यारोपण नै भएको बताउँछन्। त्यसका लागि आफूहरूसँग पैसा नभएकाले सरकारले नै सहयोग गर्नुपर्ने माग उनीहरूको छ।
'सरकारले निःशुल्क डायलासिस गरेर राम्रो निर्णय गरेको छ। यसले हामीजस्ता रोगीको जीवनको रक्षा पनि गर्छ', डायलासिसको पालो कुरिरहेका स्याङ्जाका झङ्गनाथ शर्माले भने, 'तर प्रत्यारोपण सेवालाई सहज बनाएर निःशुल्क गरिदिने हो भने हामीजस्तालाई झन् अर्थ राख्नेछ।'