आगामी साउन २५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता हुने भएको छ।
लामो समयको छलफलपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शम्शेर राणा नेतृत्वको राप्रपाबीच एकीकरण घोषणा सभा गर्ने निश्चित भएको राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।
‘शनिबार दुवै पार्टीका अध्यक्षले एकता सम्बन्धि विभिन्न ९ बुँदा समेटिएको पत्रमा हस्ताक्षर गर्नुभएको छ’, उनले भने, ‘२५ गते हुने एकीकृत पार्टीमा राष्ट्रिय अध्यक्ष र अध्यक्ष गरी दुई वटा अध्यक्ष पद राखिने भएको हो। राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्षमा राप्रपा नेपालका अध्यक्ष कमल थापा हुने छन्।’
दुवै पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि दुवै पार्टीका अध्यक्षले ९ बुँदे सहमति पत्रमा शनिबार हस्ताक्षर गरेको श्रेष्ठले बताए। ९ बुँदे सहमतिमा पार्टी एकताको आधारलाई समेटिएको छ।
एकताका लागि राप्रपाले लामो समयदेखि वार्ता समिति बनाएर छलफल अगाडि बढाएको थियो।
एकता घोषणा सभाको बारे जानकारी गराउदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र सनातन धर्ममा आस्था राख्नेहरुलाई खुसीको खबर–साउन २५ गते राप्रपा नेपाल र राप्रपाका बीचमा एकीकरण घोषणा सभा हुनेछ।’
दुई राप्रपाको एकतासँगै केन्द्रीय समितिमा अब दुई वटा अध्यक्ष हुनेछन्।
एकीकृत पार्टीमा राष्ट्रिय अध्यक्ष र अध्यक्ष गरी दुई वटा अध्यक्ष पद राखिने भएको हो। राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्षमा राप्रपा नेपालका अध्यक्ष कमल थापा हुने भएका छन्।
एकीकृत पार्टीको केन्द्रीय कार्यसमिति ३ सयभन्दा बढी सदस्यीय हुनेछ। हाल राप्रपाका सबै केन्द्रीय सदस्य र राप्रपा नेपालका सबै केन्द्रीय सदस्य एकीकृत पार्टीको केन्द्रीय सदस्य हुने छन्। दुवै पार्टीका केन्द्रीय सदस्य मिलाउँदा झण्डै २० सदस्यहरू बाहिरबाट मनोयन गर्ने तयारी भइरहेको छ।
राप्रपाले हिन्दू राज्य र गणतन्त्रलाई स्वीकार गर्छ भने राप्रपा नेपालले विधानमा गणतन्त्रात्मक व्यवस्था अझै स्वीकार गरिसकेको छैन। हिन्दू राज्यका मामिलामा भने दुवै पार्टीको समान धारणा रहेको छ।
राप्रपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा जाने तयारीमा छ भने राप्रपा नेपाल प्रचण्ड–सरकारको विपक्षमा छ।
नयाँ व्यवस्थाअनुसार पशुपतिशमशेर राष्ट्रिय अध्यक्ष भएमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वबाट बाहिरिने छन्। केही दिनअघि मात्र राप्रपामा नेतृत्व हस्तान्तरण भएको थियो। राप्रपाको केन्द्रीय समिति बैठकमा चन्दले राणालाई अध्यक्ष हस्तान्तरण गरेका थिए।