सन् २००८ को बेइजिङ ओलम्पिकका लागि प्रसिद्धजंग शाह र करिश्मा कार्की छनोट हुँदा शिरिष गुरुङको उमेर थियो, मात्र १० वर्ष। त्यतिबेला ओलम्पिक कुन चरीको नाम हो, त्यो उनलाई थाहा पनि थिएन्। तर, काठमाडौंको पौडी पोखरीमा निकै हल्ला खल्ला मच्चियो।
पत्रपत्रिकामा पनि उनीहरूको चर्चा उस्तै। यो देखेपछि फुच्चे शिरिषलाई लागेछ, ओलम्पिक भनेको खतरै प्रतियोगिता हुँदो रहेछ। यसपछि उनले प्रतिज्ञा गरे, एकदिन ओलम्पिक खेलेरै छाड्छु। ८ वर्षअघि ओलम्पिकको सपना देखेका तिनै शिरिष रियो ओलम्पिकमा भाग लिँदैछन्। त्यो पनि ओलम्पिकको सवैभन्दा रोचक मानिने सय मिटर फ्रिस्टाइलतर्फ। यो स्पर्धामा शिरिषको राष्ट्रिय कीर्तिमान छ।
उनले गत वर्ष रुसको कजानमा भएको १५ औं फिना विश्व पौडी प्रतियोगितामा सय मिटर फ्रिस्टाइल ५८ दशमलव २२ सेकेन्डमा पुरा गरेका थिए। उनका लागि रियोमा आफ्नो यहीँ प्रदर्शनलाई दोहर्याउनु नै मुख्य चुनौती हुनेछ। किनभने शिरिष यस कुराको राम्रै जानकार हुन्, ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा खेलाडीमाथि पर्ने मानसिक दबाबको विषयमा।
आफ्ना अग्रज प्रसिद्धजंगले बेइजिङ र लन्डन ओलम्पिकको ५० मिटर फ्रिस्टाइलतर्फ भोगेको दबाबबाट उनी राम्रै परिचित छन्। प्रसिद्धजंगले बेइजिङमा ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेन्डमा पुरा गरेका थिए। लन्डन ओलम्पिकमा नेपाली झण्डा बोकेर मार्चपास गर्ने सौभाग्य पाएका प्रसिद्धले यही स्पर्धामा २६ दशमलव ९३ सेकेन्डको मात्र प्रदर्शन गर्न सफल भए। दुवै ओलम्पिकमा उनले सन् २००३ मा काठमाडौंमा चित्रबहादुर गुरुङले राखेको २६ दशमलव ३९ सेकेन्डको राष्ट्रिय कीर्तिमान पनि भंग गर्न सकेका थिएनन्।
शिरिषको अहिलेको लक्ष्य छ, सय मिटर फ्रिस्टाइल १ मिनेटभन्दा कम समयमा पुरा गर्ने। किनभने अहिलेसम्म कुनै नेपाली पौडीबाजले ओलम्पिकको सय मिटर स्पर्धा १ मिनेटभन्दा तलको समयमा पुरा गर्न सकेका छैनन्। ‘पक्कै पनि मैले ओलम्पिकमा निकै ठूलो दबाबको सामना गर्नु पर्नेछ,’ १६ वर्षीय शिरिष भन्छन्–‘रियोमा मैले आफ्नो आदर्श मानेका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।’ सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान अस्ट्रेलियाका इमोन सुलिभानको नाममा छ।
उनले बेइजिङ ओलम्पिकमा ४७ दशमलव ०५ सेकेन्डमा यो दुरी पुरा गरेका थिए। पछिल्लो लन्डन ओलम्पिकमा अमेरिकाका नाथन एड्रिनले ४७ दशमलव ५२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका थिए। शिरिष देशभित्र कीर्तिमान बनाउने पौडी खेलाडीको रुपमा चिनिन्छन्। विगत १० वर्षदेखि नेपाली पौडीमा सक्रिय उनले हालसम्म ४५ पल्ट राष्ट्रिय कीर्तिमान बनाउँदै भंग गर्दै आइरहेका छन्। उनको नाममा अहिले पनि ९ वटा राष्ट्रिय कीर्तिमान छ। तर, देशबाहिर उनको प्रदर्शन त्यति सन्तोषजनक मानिदैन्। उनले सन् २०१३ र २०१५ गरी दुईवटा फिना विश्व च्याम्पियनसिप खेलिसकेका छन्। दुई वर्षअघि दक्षिण कोरियाको इन्चोनमा एसियन गेम्स पनि खेलेको थिए। ६ महिनाअघि भारतको पूर्वोत्तर राज्य गुवाहटीमा सम्पन्न १२ औं दक्षिण एसियाली (साग) खेलमा पनि भाग लिएका थिए।
तर, २०१५ को फिना विश्व च्याम्पियनसिपबाहेक सम्झनलायक प्रदर्शन छैन्। तर, उनी रियोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै २ वर्षपछि आफ्नै देशमा आयोजना हुने १३ औं साग गेम्समा पदक जित्न चाहन्छन्। ‘हिटिङ पुल नहुँदा अहिले पनि हामीले ६ महिना पौडीको अभ्यासबाटै बाहिर बस्नु पर्ने बाध्यता छ,’ उनी भन्छन्–‘यस्तो अवस्थामा पदकको आशा गर्नु अन्याय हुनेछ।’
यति हुँदा हुँदै पनि शिरिष सकारात्मक सोच राख्छन्। यसपालिको ओलम्पिकमा सिङ्गापुरका जोसेफ स्कुलिङ पनि सहभागी हुँदैछन्। उनलाई पदकको दाबेदारको रूपमा हेरिएको छ। त्यसैले शिरिष भन्छन्–‘सिङ्गापुरको खेलाडीले गर्न सक्छन भने हामीले किन नसक्नु।’ शिरिष अमेरिकाका कीर्तिमानधारी पौडीबाज माइकल फ्लेप्सका पं्रशसक हुन्। रियोमा फ्लेप्ससँग भेट्ने कल्पनाले मात्र उनी उद्देलित छन्। उनको हिट्स मंगलबार हुनेछ।