एमाले अध्यक्ष केपी शर्मा ओली नौ महिने बालुवाटार बसाइपछि बुधबार बालकोट फर्किए। कार्यकर्ताहरूको ठूलै जुलुस अघि लाएर बालकोट फर्किएका उनी राति अबेरसम्मै विभिन्न भेटघाटमा व्यस्त रहे। विभिन्न समूहमा आएका कार्यकर्तालाई भेट्नमै उनलाई भ्याइनभ्याई भएको थियो।
ओली प्रायः राति अबेरसम्म बस्न रुचाउँछन्। बिहान अबेर मात्रै राजनीतिक र अन्य महत्वपूर्ण भेटघाट सुरु गर्छन्। प्रधानमन्त्री हुँदा पनि ९–साढे ९ बजे मात्रै नियमित भेटघाट र काम सुरु गर्थे। पूर्व प्रधानमन्त्रीका रूपमा बालकोटको पहिलो दिन पनि उनको ढिलै सुरु भयो।
उनले बिहान परिवारसँगै बिताए। बिहानको खाना खाने समयसम्म उनी परिवारसँगै थिए। साढे १० बजे बिहानको खानापछि बाहिर निस्किँदा एमाले नेता तथा पूर्वमन्त्री खगराज अधिकारी उनलाई भेट्न पर्खिरहेका थिए। अधिकारी कास्कीका केही पुराना एमाले कार्यकर्तासहित ओलीलाई भेट्न गएको उनका प्रेस संयोजक चेतन अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
ओलीको दोस्रो भेटघाट एमाले सर्लाही जिल्ला कमिटीको टोलीसँग भयो। यो टोलीसँग ओली करिब आधा घन्टा गफिए। सर्लाहीको टोलीसँग उनले मधेसको परिस्थितिबारे कुरा गरेका थिए।
सर्लाहीको टोली बाहिरिएपछि उनी केही बेर निजी सचिवालयका कर्मचारीसँग कुरा गरेर बसेका थिए। सचिवालयका कर्मचारीसँग विकसित राजनीतिक परिस्थितिबारे कुरा भएको अधिकारीले जानकारी दिए।
‘उहाँले सचिवालयको टोलीलाई राष्ट्रिय राजनीतिको अबको बाटो निकै जटिल देखिएको सुनाउनुभयो,’ अधिकारीले भने, ‘स्थानीय निकाय निर्वाचनको मिति पर धकेलिएकाले २०७४ मंसिरभित्र तीनवटै चुनाव हुन नसक्नेमा उहाँको चिन्ता थियो। समयमा निर्वाचन नभएपछि सिर्जना हुने रिक्तताको अवस्था निकै कठिन हुने विश्लेषण उहाँले सुनाउनुभयो।’
निजी सचिवालयसँगको छलफल सकेर साढे दुई बजेतिर ओली नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको सपथमा भाग लिन राष्ट्रपति निवास गएका थिए।
बिहीबार उनले कुनै पनि कूटनीतिक भेटघाट गरेनन्। दाहालको सपथग्रहणबाहेक कुनै औपचारिक कार्यक्रममा भाग पनि नलिएको अधिकारीले बताए।