संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागेका पुष्पकमल दाहाल बुधबार हुने निर्वाचनका एक्ला उम्मेद्वार हुन्। तर, नेकपा एमाले र राप्रपा नेपालसहित केही साना दलले उनको विपक्षमा मतदान गर्दै छन्।
एमाले सचिव योगेश भट्टराईका अनुसार दुई सय २० भन्दा धेरै सांसदले दाहालको विपक्षमा मतदान गर्ने भएका छन्।
एमालेसँगै संसदको चौथो ठूलो दल राप्रपा नेपालले पनि दाहाललाई समर्थन नगर्ने भएको छ। बुधबार बिहान बसेको राप्रपाको बैठकले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
संसदमा एमालेको १८२ र राप्रपा नेपालको २५ सिट छ।
ओली सरकारमा सहभागी चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सिपी मैनालीको नेकपा माले र नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनमा दाहालको विपक्षमा उभिने भएका हुन्। संसदमा अहिले जनमोर्चाको ३, नेमकिपाको ४ र नेकपा मालेका ५ सांसद छन्।
यस्तै बहुजन समाजवादी पार्टीका सांसद विश्वेन्द्र पासवान र मधेश समता पार्टीका मेघराज नेपाली दुषादले पनि दाहालको विपक्षमा मतदान गर्ने भएका छन्।