नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन हुनु प्रजातन्त्रको सुन्दरता भएको बताएका छन्।
बुधबार व्यवस्थापिका संसदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै उनले भने,‘ ओलीजीले त बल्ल अविश्वासको प्रस्ताव पाउनु भयो। मैले त धेरैपटक पाइसकेको छु। यसलाई अन्यथा लिनु हुँदैन। शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन हुनु भनेको प्रजातन्त्रको सुन्दरता हो।’
शेरबहादुर देउवा
अस्ति केपी ओलीको आज मेरा मित्र प्रचण्डको भाषण पश्चात मलाई अप्ठयारो लागेको छ। के बोल्ने भनेको सबै बिर्सिएँ।
हामीले विगतमा भएका परिवर्तन संस्थागत गर्न संविधान बनाए पनि यसको सर्वस्वीकार्यताको वातावरण निर्माण भइसकेको छैन। यो जहाँ पनि हुन्छ। अहिले तराई मधेसका विषयमा सहमति भएको छ। तराईको मुद्दा सम्बोधन गरेर भए पनि सर्वस्वीकार्यता बनाउने कुरामा हामीले अगाडि बढ्न लागिपरेका छौं।
संविधानको सर्वस्वीकार्य बनाउन हाम्रो पार्टीको भूमिका महत्वपूर्ण छ। हामीले आन्दोलनरत पक्षसग सहमतिमा अगाडि बढेमा संविधान सर्वस्वीकार्य हुन सक्छ।
विश्वास र अविस्वास धरै ठूलो कुरा होइन। प्रजातान्त्रिक अभ्यासमा मैले धेरे पटक अविश्वास खाइसकेको हो। यसलाई अन्यथा लिनु हुँदैन। सरकार बने पनि राष्ट्रिय हित र नीतिमा सबै एक भएर हिड्न सक्छौ। शान्तिपूर्ण सत्ता परिवर्तन भनेको प्रजातन्त्रको सुन्दरता हो र यो अभ्यास जति परिपक्व हुन्छ त्यसले नेपालकै हित गर्छ। माओवादी पनि यही बाटोमा आएको विश्वास भएर नै हो।
शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन र राष्ट्रपति हुन्छ भने मारकाट हत्या हिंशा आवश्यक छैन।
संविधान कार्यन्वयनका लागि सर्वस्वीकार्य भएमा मात्रै स्थानीय निकाय, प्रदेश र संघको निर्वाचन गरी नेपाल प्रजातान्त्रिक अभ्यस्त हुन्छ। जनता सार्वभौमसत्ता सम्पन्न हुनसक्छ। जनताले राम्रो काम गर्नेलाई मत दिने र नगर्नेलाई हराइदिन्छन्।
स्थायी शान्ति भए मात्रै नेपाल अगाडि बढ्छ। विकास हुन्छ। यसका लागि शान्ति प्रमुख सर्त हो।
कुरामा जे भने पनि सम्भव कुरा मात्रै गरौं। नहुने कुरा नगरौं किन कि जनतालाई थाहा भइहाल्छ।
गएको सरकारलाई मात्रै दोष दिएर हुँदैन। भोलि फेरि आफैंले गर्नुपर्छ। अहिले पनि भूकम्पपीडितको लागि तत्काल राहत दिने कार्य गर्नुपर्छ।
विदेश नीति र राष्ट्रिय नीतिका बारेमा साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिदैन भने जस्तै भारत र चीनको सहयोग हामीले राष्ट्रिय हितमा उपयोग गर्न पर्छ। कुनै पनि देशको राष्ट्रिय नीतिले विदेश नीतिको प्रतित गराउँछ।
हामीले ठूला राष्ट्रको बीचमा खेल्ने काम गर्न हुँदैन। हामीले भारत र चीन दुबैसँग राम्रो सम्बन्ध राखि राष्ट्रिय हीतमा काम गर्न र अरु देशसँग पनि राम्रो सम्बन्ध राखी देशलाई विकासमा अगाडि बढाउनु छ।