बङ्गलादेशको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा मङ्गलबार गरेको छ।
बङ्गलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सामूहिक हत्या प्रकरणमा योजनाकार मानिएका क्यानेडाली नागरिक तमिम चौधरीको सम्पर्क दिने जो कसैलाई पनि उक्त रकमको इनाम दिइने बताइएको छ।
चौधरी ढाका आक्रमणको योजना बनाएपछि सार्वजनिक रुपमा सम्पर्कमा नरहेको बताइएको छ।
चौधरीले जमाऐतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी) विद्रोही समूहलाई नेतृत्व गरेको र कैयौँ सङ्ख्यामा अल्पसङ्ख्यक धर्मावलम्बीको हत्या गरेको आरोप छ।
त्यसैगरी प्रहरीले बङ्गलादेश सेनाको मेजरबाट सन् २०११ मा बर्खास्तमा परेका सैयद मोहम्मद जिउल हकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सोही रकम बराबरको इनामको घोषणा गरेको छ।
जिउल हकले यहाँको अर्को अतिवादी इस्लामिक समूह अन्सार अल इस्लामको नेतृत्व गरेको र धर्म निरपेक्षताको पक्षमा कलम चलाउने ब्लगर तथा अधिकारकर्मीको हत्या गरेको आरोप छ।
हामी यी दुई नेतालाई पक्राउ गर्ने प्रयासरत छौँ र हामीलाई के आशा छ भने उनीहरुको पक्राउले बङ्गलादेशबाट अतिवादी धार्मिक गतिविधिलाई अन्त्य गर्न सकिने छ, बङ्गलादेशका प्रहरी प्रमुख ए.केएम सहिदुल हकले बताए। रासस/एएफपी