हेटौंडाको प्रस्तावित रंगशालाबाट १० किलोमिटर माथि उक्लिएपछि शिखरपानी गाउँ पुगिन्छ। धेरैका लागि अपरिचित हुनसक्ने यो गाउँको एउटा छुट्टै विशेषता छ।
यो ओलम्पिक खेल्ने पहिलो नेपाली आर्चरी खेलाडीको इतिहास कोर्न लागेका जीतबहादुर मोक्तानको गाउँ हो।
हुन त यो गाउँ न आर्चरीको उर्वरभूमि हो न त यहाँका स्थानीय आर्चरी खेलका सामान्य जानकार नै हुन्। तर, जीतको सफलताले गरिबी र अशिक्षाबाट ग्रस्त यो गाउँमा रौनक छाएको छ।
गत आइतबार रियो ओलम्पिकका लागि ब्राजिल उड्नुअघि जीतलाई भेट्न गाउँका युवाहरूको ताँती नै लागेको थियो, दशरथ रंगशालामा। मोक्तान परिवारका आठ छोराछोरीमध्ये सातौं सन्तान हुन्, जीत। गाउँमा पढ्ने वातावरण राम्रो नभएपछि १२ वर्षको उमेरमा उनी हेटौंडाबाट भागेर काठमाडौं छिरेका थिए।
त्यतिबेला उनी चुरियामाई स्कुलमा तीन कक्षा पढ्थे। स्कुलमा शिक्षकहरूले पढाएको उनी बुझ्थेनन्। त्यही भएर कक्षा छलेर साथीहरूसँग गुच्चा खेल्न जान्थे। यही कारण उनलाई पढाइमा खासै चासो लागेन। आमाबाबु भने पढाइमा ध्यान नदिएको भन्दै दिनहँु कचकच गरिहन्थे।
यही कचकचबाट वाक्क भएर एकदिन जीतले घर छाड्ने निधो गरे। गाउँमै एक जना दाजु ड्राइभरी गर्थे। उनले काठमाडौं घुम्न जाने बहानामा ट्रक चलाउने तीनै दाजुलाई फकाएछन्। र, २०५० सालमा भागेर काठमाडौं छिरेछन्।
एकाबिहानै आमाबुवालाई छलेर घरबाट भाग्दा जीतसँग खल्तीमा सुको पैसा थिएन। गाउँले दाजुले पनि हेटौंडा छाडेपछि मात्र थाहा पाए, केटो त घर छाडेर भागेको रहेछ। उनैैले काठमाडौंमा जीतलाई बस्ने र खाने व्यवस्था मिलाइदिए। त्यो थियो, ठमेलको कालधारामा बसोबास गर्ने मनाङे व्यापारी उर्गेन घलेको घरमा।
जीतको आर्चरी खेलाडी बन्ने अभियान यहीँबाट सुरु भएको हो।
मनाङ, भ्राकका उर्गेन आर्चरीका सोखिन व्यापारी हुन्। उनले नै जीतलाई पहिलोपल्ट बाँसले बनाएको आर्चरीबाट तीर हान्न सिकाएका थिए। उनी उर्गेनलाई अहिले पनि आफ्नो ‘गडफादर’ मान्छन्।
मनाङेहरूमा एउटा भनाइ चर्चित छ– जसलाई तीर हान्न आउँदैन, ऊ मनाङे हुनै सक्दैन। उर्गेनको त्यतिबेला न्युरोडमा जिन्सको पसल थियो। जीत दिनभरि त्यही दोकानमा काम गर्थे र बिहान उर्गेनको पछि लागेर स्वयम्भुतिर तीर हान्न जान्थे।
‘दाजु (उर्गेन) को पछि लागेर हिँड्दा हिँड्दै कतिबेला यो खेलमा सोख पलाएछ, थाहै पाइनँ,’ ओलम्पिकका लागि ब्राजिल उड्नुअघि उनले सेतोपाटीसँग भने।
मनाङेहरू परम्परागत आर्चरी खेलेर आफ्नो चाडपर्व मनाउने गर्छन्। त्यतिबेला आयोजना हुने आर्चरी प्रतियोगितामा ठूलो जुवासमेत लाग्ने गर्छ। उर्गेनबाट आर्चरी सिकेको केही वर्षमै जीत निशाना लगाउन पोख्त भइसकेका थिए। पछि त उनलाई चुनौती दिने नै कोही निस्किएनन्। जुवाको सबै पैसा उनको हातमा आउन थाल्यो। त्यसपछि उनलाई आर्चरीमा झन् रस बस्दै गयो।
आफ्ना व्यावसायिक साझेदारसँग कुरा नमिलेपछि उर्गेन न्युरोडको जिन्स पसल बेच्ने फैसलामा पुगेछन्। त्यतिबेला जीतलाई बेरोजगार भइने डरले सतायो। सुत्ने र खाने ठाउँ उर्गेनको घरमा छँदै थियो, तैपनि निन्द्रा उनको आँखामा थिएन। केही महिनापछि उर्गेनकै सल्लाहबमोजिम उनले लैनचोरस्थित स्काउट भवनमा रहेको लैला गुरुङको पसलमा साँचो बनाउने सिप सिके।
‘मलाई सुरुदेखि नै पैसा कमाउनेभन्दा सिप सिक्ने रहर थियो,’ जीतले भने, ‘दुई वर्ष यही पसलमा काम सिक्ने क्रममा लैला आफ्नो परिवार बोकेर अमेरिका उड्ने तय भयो।’
त्यसपछि उनलाई प्रस्ताव आयो, ‘लगनशील छौ, पसल तिमी नै किन।’
लैलाले पसलको दाम पाँच लाख रुपैयाँ राखेका थिए। जीतसँग कामबाट जोगाएको र आर्चरीबाट जितेको पैसा जम्मा गर्दा दुई लाख रुपैयाँ मात्र जुट्यो।
उनलाई पसल आफ्नो हातबाट फुस्किने हो कि भन्ने ठूलो डर थियो। दुई वर्ष त्यहाँ काम गर्दा उनले बुझिसकेका थिए, पसलको कमाइ राम्रो छ। यहाँ फेरि उनलाई उर्गेनले साथ दिए। अपुग तीन लाख रुपैयाँ कमाएर दिने सर्तमा। त्यो उनले दुई वर्षमै चुक्ता गरे।
अहिले लाजिम्पाटमा रहेको साँचो पसल उनकै नाममा छ। उनले यसको शाखा कलंकीमा पनि फैलाइसकेका छन्। करिब आठ जनालाई त रोजगारी नै दिएका छन्। यही साँचो बनाउने क्रममा उनीभित्र धैर्य र एकाग्रता विकास भयो। आर्चरी खेलाडीमा चाहिने सबभन्दा ठूलो गुण यसैलाई मानिन्छ।
यसपालि ओलम्पिक खेल्न जाने सात नेपाली खेलाडीमध्ये दुई जनाबाट निकै राम्रो प्रदर्शनको आशा गरिएको छ। त्यसमा एक जना पौडीकी गौरिका सिंह हुन् भने अर्का यिनै जीत हुन्।
७० मिटरको आर्चरी प्रतिस्पर्धा जित्न सबै देशका खेलाडीलाई धैर्य र एकाग्रता नै आवश्यक पर्छ। ‘सबैले हान्ने १० अंक नै हो,’ साँचो बनाउँदा घन्टौं एकाग्र हुने यी ओलम्पियन भन्छन्, ‘प्रतिस्पर्धाको बेला राम्रो लय बन्यो र हावाको बहावलाई समात्न सकेँ भने जे पनि हुन सक्छ।’
जीतले गत वर्ष थाइल्यान्डको राजधानी बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपअन्तर्गत ७० मिटर स्पर्धामा कुल ६ सय ४२ (३२१ र ३२१) स्कोर गरेका थिए। यही प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय आर्चरी महासंघले उनलाई ओलम्पिक खेल्न ‘वाइल्ड कार्ड’ प्रदान गरेको थियो।
ओलम्पिकका लागि पोखरामा भएको अभ्यासमा उनले ६ सय ७४ (३३७ र ३३७) स्कोर ल्याएका थिए। यो स्कोर ‘वल्र्ड–क्लास’ मानिन्छ। ‘यही स्कोरलाई त्यहाँ दोहोर्याउन सफल भएँ भने मेडलको आशा गर्न सकिन्छ,’ सन् २०१० को ढाका सागमा टिम इभेन्ट्सतर्फ कास्य जितेका जीत भन्छन्।
जीतको भित्री इच्छा छ, गाउँमै बसोबास गरिरहेका आफ्ना आमाबाबुका लागि काठमाडौंमा घर किनिदिने। यसका लागि उनले ३५ वर्षको उमेरमा पनि विवाह गरेका छैनन्। उनलाई थाहा छ, काठमाडौंमा घर जोड्न ठूलै रकम चाहिन्छ।
तर, कसलाई के थाहा, कर्ममा विश्वास राख्ने यी खेलाडीले ओलम्पिकमा पदक जितेर यही वर्ष काठमाडौंमा घर बनाउने सपना पूरा गर्ने हुन् कि!
तस्बिर : नारायण महर्जन/सेतोपाटी