देशको ३९ औं प्रधानमन्त्रीका लागि बुधबार व्यवस्थापिका संसदमा मतदान हुँदैछ। प्रधानमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एक्लै मैदानमा छन्। अहिलेसम्म उनलाई ३ सय ५५ सांसदले समर्थन जनाएका छन्। दाहालले प्रधानमन्त्रीमा निर्वाचित हुन २ सय ९८ मत ल्याउनु पर्नेछ।
६०१ जना सांसद हुनुपर्ने व्यवस्थापिका संसदमा अहिले ५ सय ९५ जनामात्र सांसद छन्। ५सय ९५ जना सांसदमा पनि ४ जनाले मतदान गर्ने छैनन्।
तत्कालीन संविधान सभाका ६०१ सभासद्मध्ये २६ जना मन्त्रिपरिषद्ले मनोनयन गर्ने प्रावधान थियो। तर सुशील कोइराला सरकारले २४ जना मात्र मनोनयन गरेपछि संविधान सभामा ५ सय ९९ जना सभासद् मात्र थिए। त्यही संविधान सभा संविधान घोषणापछि व्यवस्थापिका संसदमा रुपान्तरित भएको हो।
५ सय ९९ जनामध्ये नेपाली कांग्रेसका सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सूर्यबहादुर थापाको निधन भएको छ। तत्कालीन एकीकृत नेकपा माओवादीका सांसद बाबुराम भट्टराईले सांसदबाट राजीनामा दिएका छन्।
एमालेकी सांसद विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचित भएपछि सांसद पद त्यागेकी छन्। बाँकी रहेका ५ सय ९५ जना सांसदमध्ये सभामुख बनेकी ओनसरी घर्तीमगरले प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न पाउँदिनन्।
अस्वस्थताका कारण कांग्रेस नेता नरहरि आचार्य पनि मतदानमा उपस्थित हुने सम्भावना न्यून छ। बैंक लकरमा पेस्तोलको गोली राखी प्रहरीले अनुसन्धानमा गरिरहेका माओवादीका सांसद ल्हारक्याल लामा निलम्बनमा परेका कारण मतदानमा सहभागी हुने छैनन। सद्भावना पार्टीका सञ्जय साह ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका कारण मतदान गर्न पाउने छैनन्।