राज्य एकीकरणका बेला पृथ्वीनारायण शाहकी 'सातमध्ये साहिँली पत्नी' का सन्तान बाटैमा पर्ने धादिङमा स्थापित भए। लामो कालखण्ड बित्यो। त्यो परिवारको एघार पुस्तापछि एक जना छोरी आफ्नो पुर्ख्यौली हजुरबुवाकै नुवाकोट दरबारभित्र बिहे गरेर आइपुगिन्। हजुरबुवा पृथ्वीनारायणले बनाएको दरबारमै द्वारे काम गर्ने ठकुरी खलक (मेदासी शाही) मा बिहे भएर भित्रिएकी ६६ वर्षीया मन्जुकुमारी शाह भन्छिन्, ‘नुवाकोटबाहेक अन्त कतै बिहे भइदिएको भए मेरो जीवन धेरै सुखी हुने थियो।’
किन?
‘किनभने जहाँ दरबार हुन्छ, त्यहाँका बासिन्दामा पनि तामसी तडकभडकको परम्परा अघि बढ्दो रहेछ,’ उनले भनिन्, ‘त्यसैको प्रभावमा छोरा र छोरीबीचको विभेदले बिहे भएर आउनेलाई नर्क हुँदो रहेछ।’
मन्जुलाई मैले असार अन्तिमतिर नुवाकोट दरबार घुम्दै गर्दा दक्षिणतर्फ जोडिएको बस्तीमा भेटेको थिएँ। भुइँचालोले ध्वस्त पारेको घरको पिँढीमै बसेर बात मार्दै गरेका वृद्धवृद्धा देखेपछि त्यतातिर मेरो जिज्ञासा जागेको थियो।
उनीहरुमध्ये एक जना थिए ७० वर्षीय हिराबहादुर डंगोल, जसका पितापुर्खा पृथ्वीनारायण शाहभन्दा पहिले यस स्थानमा बसोबास गर्दै आएका रहेछन्। दरबार क्षेत्रकै भैरवी मन्दिरको पुजारी खलक डंगोलसँग कुरा गरिरहँदा छेवैमा उसैगरी बसिरहेकी वृद्धाले ‘हजुर, बक्स्योस्’ का भाकामा कुरा गरेपछि अनौठो लाग्यो। जिज्ञासा राख्दा त स्वयम् छेउको दरबार बनाउनेकै रगत रहिछन्। अनि भाग्यले उनलाई त्यसै दरबारका जागिरेको बुहारी बनाएको रहेछ।
इतिहासले एक जना मकवानपुरकी र अर्की काशीकी राजकुमारीलाई पृथ्वीनारायण शाहको पत्नी भएको बताउँदै आएको छ। जबकि, मञ्जुका अनुसार उनको माइतीमा पनि पृथ्वीनारायणसँगै जोडिएको वंशावली छ।
बाहिरबाट घुम्न जानेहरुका निम्ति धादिङ र नुवाकोटमा खासै भिन्नता देखिन्न। तर, झण्डै आधा दसकअघि धादिङको ढ्वाँकोट रातमाटेबाट बिहे भएर आएकी मन्जुका निम्ति यी दुई ठाउँमा छोरीहरुका निम्ति ठूलो अन्तर छ।
‘धादिङमा घरका आइमाईसँग लोग्ने मान्छेहरु पनि काम गर्छन्,’ उनले अनुभव सुनाइन्, ‘नुवाकोटमा गर्दैनन्।’ उनका अनुसार दरबारको प्रभावले नै लोग्ने मानिसहरु जागिर खाने र बचेको समय रमाइलो गरेर बिताउने मानसिकता बोकेका हुन्छन्।
यो दरबार क्षेत्रमा मात्र होला, सम्पूर्ण नुवाकोटमा होइन होला कि!
‘मैले यतातिर बिहे गरेर आउने अन्य महिलामा पनि यस्तै गुनासो देखेँ,’ मेरो जिज्ञासामा उनले जवाफ फर्काइन्, ‘जबकि अन्यत्र बिहे गरेर गएका मेरा साथीसंगीहरू खुसी पाएकी छु।’
उनले आफ्ना भनाइलाई थप्दै लगिन्–
‘यो उहिलेदेखि शासन गरेको ठाउँ हो। अड्डा अदालतको ठाउँ। यस्तो ठाउँमा लोग्नेमान्छे हैकमले बाँचेका हुन्छन्। सबै कामकाज छोरी मान्छेको थाप्लोमा राखिन्छ। यो पहिलेदेखिकै कुरा हो बाबु। दरबारको ठाउँ, शासन गर्ने ठाउँ भनेपछि मनोवृत्ति नै बेग्लै हुँदोरहेछ। तामसी भनेको बुझिबक्सन्छ होला नि? हो, यो तामसी ठाउँ हो।’
मन्जुका अनुसार लोग्ने र स्वास्नी भनेका ढुंगा र माटोजस्तै हुन्। ‘ढुंगाको भर माटोलाई, माटोको भर ढुंगालाई’।
मन्जुका दुई छोरी छन्। एउटीको बिहे नवलपरासी र अर्कीको पर्सा जिल्लातिर भएको उनले बताइन्। एउटा छोरा कमाउन केही वर्षदेखि अबुधाबी पुगेका छन्। ६ वर्षीया एउटी नातिनीलाई पढाउन बुहारी काठमाडौंमै बसेकी छिन्। तीन वर्षअघि श्रीमानको पनि निधन भएपछि हिजोआज मन्जुको दिन नुवाकोटमा एक्लै बित्छ। श्रीमान्ले उनी पछि पनि बिहे गरेका थिए। सौताका परिवार तल त्रिशूलीतिर बस्ने उनले सुनाइन्।
‘जे होस्, छोरीहरूले मजस्तो बेहोर्नुपरेको छैन,’ उनले थपिन्, ‘सुखी छन्।’
मन्जुलाई अहिले पनि उनको बिहेको झझल्को आउँछ। त्योबेला ठूलै धुमधाम भएको थियो। नुवाकोटदेखि पुगेको जन्ती।
‘उ बेलाको काल,’ भन्छिन्, ‘मानिसै अर्कै थिए, रमाइलै अर्को थियो।’
पृथ्वीनारायणकै सन्तान भएकाले मन्जुका पिताले पछिसम्म दरबारबाट भत्ता बुझ्ने गर्थे।
‘म केटाकेटी हुँदा एक सय रुपैयाँ भत्ता मिल्थ्यो,’ उनले भनिन्, ‘पछि त पाँच सयसम्म पुगेको थियो।’ उनका अनुसार त्यतिबेला त्यो पैसाको पनि मूल्य असाध्यै बढी थियो।
मन्जुलाई बाल्यकालको सबैभन्दा रमाइलो लाग्ने दृश्य उतिबेला राजा महेन्द्र गाउँ आउँदाको हो।
राजा महेन्द्र त्यो समय उनको गाउँ पुगेका थिए, जतिबेला बाहिरको नौला आगन्तुक देखेपछि गाउँलेहरु तर्सन्थे। घोडा दौडेको देख्दा त भागाभागै हुन्थ्यो।
‘त्यस्तो बेला सयौं घोडा एकैपटक त्यहाँ पुगेको थियो,’ करिब नौ वर्षको स्मरण ठम्याउँदै उनी भन्छिन्, ‘सिपाही र अरू मानिसको त लश्करै थियो।’
शान्त गाउँमा त्यो घटनाले ठूलै हलचल ल्याएको थियो। गुटुटुटु जता पनि दौडादौड देखिन्थ्यो। ठाउँ ठाउँमा फूलहरु राखेर ढोका बनाइएका थिए।
‘हामी सबैलाई लाइन लगाएर फूलको माला दिनू भनेर अह्राइएको थियो,’ उनले भनिन्, ‘माइकमा बोल्दै अघि अघि हिँड्ने मान्छे देख्दा मलाई अनौठो लागेको अहिले पनि सम्झन्छु।’
मन्जुका अनुसार त्यो बेलाको कालमा तारे घोँडी भनेपछि प्रसिद्ध थियो। त्यसैको माथि राजा महेन्द्र सवार थिए। पातलो ज्यानका। त्यो घोडी पनि ज्यामरुङमा पुगेपछि बिरामी भएर मरेको उनले सुनेकी थिइन्।
‘सवारीको निम्ति कटुन्जेमा खानाको बन्दोबस्त थियो,’ उनी भन्छिन्, ‘मेरो बुवाले हिँड्नै नसक्ने ज्यानको ठूलो खसीलाई डोकोमा लगेर त्यहाँ चढाइबक्सेको थियो।’
त्यो बेला उनको बुवालाई राजाले हजार रुपैयाँ दिएका रहेछन्। ‘त्यो बेला कालको हजार रुपैयाँ...’ उनले भनिन् र एकछिन केही सोचेजस्तो गरेर चुप बसिन्।
त्यतिबेला त्यो भ्रमणका बारे उनको बुवाले सुनाएको कुरा मन्जुलाई अहिले पनि सम्झना छ।
‘उहिले उहिले हाम्रा बुवाहजुर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिबक्सेपछि फेरि एकपटक गोर्खा भ्रमण गर्ने इच्छा राखिबक्सेको थियो,’ बुवाको भनाइ उल्लेख गर्दै मन्जुले सुनाइन्, ‘सकिबक्सेको रहेनछ त्यसैले अहिले महेन्द्र सरकारले त्यो धोको पूरा गरिबक्सेको हो।’
त्यतिबेला राजा महेन्द्रको मुख्य इच्छा देश र जनताको अवस्था हेर्ने भए पनि बाटोभरि उतिबेला छरिएका आफ्ना सन्तान र नातागोतालाई पनि पहिलोपटक गाउँ ठाउँमै पुगेर भेटघाट गरेको मन्जु बताउँछिन्।
मन्जुलाई बुवाले सुनाएको एउटा कुराले अहिले पनि हाँसो छुट्छ। त्यतिबेला धादिङको पन्ध्र कोश भन्ने ठाउँमा भोटेगाउँ पर्थ्यो।
‘त्यहाँ भोटे गन्हायो भनेर सरकारको सवारी बेतोडले कुदाएको थियो रे!’ मन्जु एकछिनसम्मै खितखिताएर हाँसिन्।
मन्जुलाई पृथ्वीनारायण शाहपछि शाह वंशका राजाहरुमध्ये राजा महेन्द्र मनपर्दो रहेछ। उनी अरूभन्दा बेग्लै रहेको पनि उनको दाबी थियो।
‘उ बेला यसैगरी देश घुम्दा मनाङ पुगेपछि मनाङेको दुःख देखेर उनीहरुलाई सुन ल्याउन फ्री गरिदिइबक्सेको थियो रे,’ उनले थपिन्, ‘आज पनि मनाङेको घर पुग्दा महेन्द्रको तस्बिर देखिन्छ रे भन्ने सुनेकी छु।’
मन्जुका छ दिदीबहिनी र एउटा भाइ रहेकामा भाइ राम शाहको पनि निधन भइसकेको छ। गाउँलेहरुले लगातार जिताएपछि उनका बा १४ वर्षसम्म त गाउँको प्रधानपञ्च नै भएका थिए।
‘बुवा समाजसेवी होइबक्सन्थ्यो,’ उनी भन्छिन्, ‘त्यसैले गाउँलेहरु जहिल्यै जिताएर गाउँ जिम्मा लगाउँथे।’
गाउँमा ढुंगा लगाएको तीनवटा घर थियो। गाईको गोठधरि ढुंगाकै थियो। उनले प्रस्ट्याइन्, ‘बेस्सरी पहाड हो हाम्रो भेग।’
मन्जुले जीवनमा भोगेको सबैभन्दा ठूलो संकट पोहोर सालको भुइँचालो नै हो।
‘गाउँमा जे पर्दा पनि एकले अर्कालाई सहयोग गर्ने सान्त्वना दिने चलन छ,’ उनी भन्छिन्, ‘भुइँचालोको बेला त भएभरका सबैलाई एकैपटक उही दुःख आइलागेर सबका सब थला परे।’
यो टोलमा सबैजसो घर भत्किए पनि एक जना मानिसधरि नमर्नुमा भगवानकै देन रहेको उनलाई लाग्छ। उनका अनुसार घरहरु हल्लिन थालेको एकैछिनमा यो सम्पूर्ण भेग धुलोको संसार बनेको थियो। दरबारभन्दा दक्षिणतिर त एउटै घर सद्दे बचेनन्। साततले दरबारमा मात्र त्यो दिन असी जनाभन्दा बढी घुम्न आएकाहरु चढेका थिए। सब भागाभाग गरेर ओर्ले। रुवाबासी चल्यो। धुलोले रोएको मात्र सुनिन्थ्यो, बाँकी केही नदेखिने। भोलिपल्ट साततले दरबार माथिबाट जुत्ता र चप्पलको थुप्रो जम्मा भएको थियो।
नब्बे सालको भुइँचालोमा पनि साततले दरबारको गजुर मात्र झरेको उनले सुनेकी थिइन्। उनका अनुसार त्यसपछि दरबारै पाँचतले बनाइएको थियो।
‘पछि राजाको सवारी भएका बेला विस्तारमा सोध्दा पहिलेभन्दा फरक बनाएको थाहा पाएपछि पुरानै स्वरुपमा लैजान हुकुम बक्सेको रहेछ,’ उनले भनिन्, ‘त्यसपछि पुरानै आकारमा फेरि साततले दरबार उभिएको हो।’
यसरी ०९० सालभन्दा यसपाला ठूलो क्षति भएको उनको दाबी छ। उनका अनुसार त्यतिबेला यो गाउँमै केवल एउटा घर लडेको थियो भने यसपाला त यो टोलमा मात्र २२ वटा घर भएकामा केवल तीनवटा बचेका देखिन्छन्।
‘भुइँचालो जाँदा त बेहोसै भइयो,’ उनले भनिन्, ‘त्यसपछि पनि कति महिनासम्म त मनै थिरमा बसेन।’
बिहे गरेर आएको यो खलक परम्परादेखि दरबारको सेवा गर्ने भए पनि यतिबेला मन्जुको परिवारलाई कुनै जिम्मेवारी छैन।
‘यही घर सम्हालेर बस्ने हो,’ उनले भनिन्, ‘अरू त केही छैन।’
मुलुकको अवस्था दिनप्रतिदिन बिग्रँदै गएकाले आफ्नो मात्र होइन, गाउँका धेरैको सन्तान वैदेशिक रोजगारमा गएको मन्जु सुनाउँछिन्। उनका अनुसार गाउँमा जम्मा एक बाली खेती हुन्छ। त्यसले खानै नपुग्ने भएपछि खेतहरु बाँझै राखेर सबै अरु विकल्पको खोजीमा लागेका छन्।
‘नेपालमा त के छ? केही उद्योग छैन,’ उनले भनिन्, ‘अलि अलि भएको पनि सबै खत्तम भइगयो।’
यस्तो बेथिति चलेको बेला गाउँ र गाउँका मान्छे समेत फेरिएको देखेर उनलाई अचम्म लाग्छ।
‘पहिले गाउँठाउँमा सबैको मानसम्मान थियो। अहिले कसैले कसैलाई टेर्दैनन्,’ उनले थपिन्, ‘यो अरु केही होइन बाबु, कली लागेर संसार मास्न खोजेको छ।’
एउटाले अर्कोलाई दोष दिएको, देशभित्रकाले बाहिरकालाई दोष दिएको देख्दा हाम्रो यस्तो बेथितिमा साझा दुश्मनचाहिँ को हो भनेर थाहा पाउन पनि नसकेको उनले सुनाइन्।
‘उनीहरु नै सत्ता साटासाट गरिरहेका छन्। यहाँ ठडिएर एउटा मात्र बसिदिए पनि एउटाको कुरो हुन्थ्यो नि। आज एउटा आएर एकथोक कुरा गरेको छ, भोलि नै अर्कोथरि आएर अर्कोथोक कुरा गर्छ। कसरी हुन्छ? उनीहरु उनीहरु लडेका छन्। हामी त वाल्ल परेका छौं। पहिला पहिला एउटा मुखियाको भरमा सिंगै गाउँ चल्थ्यो। औंलो उठाएको भरमा काम कुरो हुन्थ्यो। अहिले सरकारलाई नै टेर्ने कोही छैन। छ त कोही? लौ त बाबु त्यहाँ गएर कसैसँग कुरा गरिबक्स्योस् त, प्रधानमन्त्रीलाई गन्दैनन्। अब यस्तोमा कसरी देश चल्छ? अनि यो कमजोर कसले बनायो भन्दा जो कुर्सीमा गइरहेका छन् उसैले बनाएको छ। सत्ता भनेको बलियो हुनुपर्ने चिज हो (मुठ्ठी दह्रो गरेर कस्दै देखाइन्)। यस्तो फितलो पनि सत्ता हुन्छ?’
उनको कुरा अझै सकिएको थिएन।
‘अहिले त्यस्तरी बाढी आइरहेको छ। ह्वाँ खासातिर बगाइरहेको छ रे। मान्छेका विचल्ली छन्। कति पीडा छ दुनियाँमा। तर, यो देशमा बाउआमा नै कोही भइदिएनन्।’
उनले यति कुरा गर्दागर्दै छिमेककी अर्की वृद्धाले मरेको कुखुरा हातमा झुण्ड्याउँदै ल्याइन्। उनीहरुबीच कुराकानी चल्न थाले। जसअनुसार गएको राति गाउँमा चरीबाघ आएको रहेछ। मन्जुले त्यो कुखुरालाई त्यतिकै नफालेर कतै खाल्डो खनेर गाड्ने सुझाव दिइन्। त्यसपछि फेरि कुरा सुरू भयो।
‘यी हामी यस्तै बुढाबुढी मात्र पिँढी रूँगेर बसेका छौं,’ उनले भनिन्, ‘भएभरका तन्नेरी त अब अरूकै देशको सेवामा हिँड्ने भइगए।’
पैसाको गर्जो टार्न अलिअलि वर्षका निम्ति विदेस गए पनि लामो समय उतै नबस्न उनी सबैलाई अनुरोध गर्छिन्। उनकै जेठी छोरीको श्रीमान् कोरिया गएको पनि १३ वर्ष भयो। आउन मानिरहेका छैनन्।
उनले फेरि पनि मनको कुरा राखिन्–
‘पैसा ठूलो होइन बाबु। परिवारमा बस्नुपर्छ। परिवार भनेको फेरि कहिले पाउनू? यो कर्कलोको पानीजस्तै जीवन हो। कताबाट आइबक्सेको हजुरहरुसँग बात मार्दैछु भोलि नै मर्न सक्छु। के ठेगान छ र? त्यसैले धन होइन मन ठूलो बनाउनु पर्छ। तर, म बुढीले भनेको कस्ले मान्छ र?’
उनका यति कुरा सुनुन्जेल घाम चर्किसकेको थियो। यहाँबाट मन्जुको पुर्खा आएको गोरखासम्मको पैदलयात्रा थाल्न अब हामीलाई अबेर भइसकेकाले विदा भयौं।