कला र संस्कृतिको एेतिहासिक सहर भक्तपुरको 'जुजु धौ' भनेपछि थाहा नपाउने सायदै कोही होला। जुजु धौसँगै अचेल भक्तपुर चिनाउने अर्को चिज पनि छ- ख्वप।
'ख्वप' भनेको नेवारी भाषामा भक्तपुरको पुरानो नाम हो। यसको नयाँ चिनारी भने शिक्षा क्षेत्रमा भक्तपुर नगरले मार्दै गरेको फड्को हो।
यही नाममा भक्तपुर नगरपालिकाले दुई इन्जिनियरिङ कलेजसहित पाँचवटा शिक्षण संस्था चलाएको छ। नेपालमा सायदै कुनै स्थानीय निकाय होला, जसले स्कुल चलाएको होस्। भक्तपुर नगरपालिका यसमा पृथक छ। यसले लगायत कलेजहरुको सफल सञ्चालनपछि आफ्नो महत्वाकांक्षा बढाएको छ, विश्वविद्यालय चलाउने।
शिक्षा क्षेत्रमा भक्तपुरको यो जोड एक हिसाबले आफ्नो वैभवपूर्ण इतिहासको विरासत पुनर्स्थापना गर्ने प्रयत्न पनि हो। भक्तपुरका बूढापाका भन्छन्, 'पहिला उपत्यकाका तीन राज्य भादगाउँ, पाटन र काठमाडौंबीच प्रतिस्पर्धा हुँदा पाटनले धन देखाउँथ्यो, काठमाडौंले व्यापार देखाउँथ्यो भने भादगाउँले साफू (किताब) देखाउँथ्यो।'
नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहका सेनाले गरेको आक्रमणमा भादगाउँको साफु कोठा (पुस्तकालय) १५ दिनसम्म जलेको किम्बदन्ती छ।
विसं २०१३ मा त्रिभुवन विश्वविद्यालय बनाउन सुरु गर्दा पनि पहिले भक्तपुरमा जग्गा अधिग्रहण गरिएको थियो। पछि त्रिवि कीर्तिपुरमा बन्ने भयो। भक्तपुरका जनताको अधिग्रहण भएको जग्गामा सैनिक ब्यारेक बस्यो। भक्तपुरमा आधुनिक शिक्षण संस्था विकास हुन पाएन।
त्रिभुवन विश्वविद्यालय भक्तपुर नआए पनि भक्तपुरले आस मारेन।
सरकारले २०५५ माघ १५ गते गोरखापत्रमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न चाहनेलाई आवेदन फारम भर्न सूचना प्रकाशित गर्यो। यो सरकारी नीति आउनुभन्दा एक वर्षअघि २०५४ सालको स्थानीय चुनावमै नेपाल मजदुर किसान पार्टीले 'नगरमा आफ्ना उम्मेदवार निर्वाचित भए कम शुल्कमा गुणस्तरीय शिक्षा दिन विद्यालय खोल्ने' घोषणापत्रमा उल्लेख गरेको थियो।
भक्तपुर नगरको मेयर, उपमेयरसँगै १७ मध्ये १५ वडामा नेमकिपाका उम्मेदवार विजयी भए। प्रेम सुवाल मेयर बने। त्यसपछि पार्टी र नगरपालिकामा निर्णय गराएर उनीहरु आवेदन दिन भक्तपुरकै ठिमीमा रहेको उच्च माध्यामिक शिक्षा परिषद कार्यालय पुगे। मेयर सुवाल आफैंले टोलीको नेतृत्व गरेका थिए।
परिषदका कर्मचारी उनीहरुको प्रस्ताव सुनेर आश्चार्यमा परेछन्। उनीहरूले यो लफडामा लाग्नुभन्दा निजी कलेज खोल्न सुझाएछन्। ‘नगरपालिकाले अहिलेसम्म नेपालमा कतै स्कुल त खोलेको छैन, तपाईँहरु किन कलेज खोल्नुहुन्छ?’ सुवालले १७ वर्षअघि परिषदका कर्मचारीले भनेको सम्झिए, ‘तपाईंहरु पनि आपसमा मिलेर निजी कलेज खोल्नुस्, पछि फाइदा हुन्छ।’
नगर प्रतिनिधिले भने मानेनन्।
उनीहरुले नाफाका लागि होइन, जनताका लागि प्लस-टु खोल्न चाहेका थिए। उनीहरुले नगरपालिकाले नै कलेज चलाउने अड्डी कसेपछि परिषदका कर्मचारीले भौतिक पूर्वाधार, भवन लगायत विषयमा प्रश्न उठाए।
त्यतिबेला भक्तपुरको च्यामसिंहमा नगरपालिका कार्यालयका लागि भवन बनाइएको थियो। नगरपालिकाले त्यहाँ कार्यालय नसर्ने बरु प्लस-टु चलाउने निर्णय गर्यो। परिषदका कर्मचारी आएर निरीक्षण गरे। नाइँ भन्न सक्ने अवस्था थिएन। ‘कुनै नगरपालिकाले कलेज सञ्चालन गरेका थिएनन्, त्यो फरक कुरा हो,’ सुवालले सेतोपाटीसँग भने, ‘नगरपालिकालाई प्लस-टु चलाउन कानुनले रोक लगाएको थिएन।’
२०५६ असार १७ गते परिषदले भक्तपुर नगरपालिकालाई प्लस-टु चलाउन स्वीकृति दियो। त्यही शैक्षिक सत्रबाट सुरु भयो– ख्वप उच्च माध्यमिक विद्यालय। ‘स्वीकृति पाएको १५ दिनमा त हामीले क्लास नै सुरु गरिसकेका थियौं,’ सुवालले भने।
ख्वप उच्च माध्यमिक विद्यालयमा विज्ञान र व्यवस्थापन विषय पढाइ हुन थाल्यो। भक्तपुरका विद्यार्थीले सस्तो मूल्यमा घरनजिकै पढ्न पाए। कलेजमा ५० प्रतिशत भक्तपुर नगरका विद्यार्थीलाई छुट्याइएको थियो भने ५० प्रतिशत देशभरिका विद्यार्थीलाई।
दुई वर्षपछि २०५८ सालमा प्लस-टु पास भएका विद्यार्थीले स्नातक पढ्नुपर्ने भयो। नगरपालिका ती विद्यार्थीलाई स्नातक पढाउने कलेज पनि आफैं चलाउन चाहन्थ्यो। त्यसका लागि सम्बन्धन लिन पुग्नुपर्थ्यो त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर।
प्लस-टुमा व्यवस्थापन पढेकालाई बिबिएस र विज्ञान पढेकालाई बिएसस्सीका लागि सम्बन्धन लिन सुवालसहितको टोली त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको अफिस पुग्यो। त्यतिबेला उपकुलपति थिए, नवीनप्रकाश शाह। शाहले सम्बन्धन प्रक्रियाबारे छलफल गर्नुको साटो भनेछन्, 'नचलाउनुस्।'
कांग्रेस कोटाबाट उपकुलपति नियुक्त भएका शाहलाई मनाउन नसकेपछि उनीहरुले राजनीतिक 'सोर्स' को उपाय निकाले। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो मनले खाएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई समस्याको बेलिबिस्तार लगाए। ‘भट्टराईले हुन्छ म भनिदिउँला भनेर आश्वासन दिनुभयो,’ सुवालले भने।
भट्टराईको सोर्सपछि शाहले विज्ञान पढाउन स्वीकृति दिए, तर व्यवस्थापनमा दिन मानेनन्।
स्नातक पढाउनै त्यत्रो 'सोर्सफोर्स' लगाउनु परेपछि इन्जिनिरिङ कलेज चलाउनलाई फेरि त्रिवि धाउन उनीहरुको जाँगर मर्यो। उनीहरुले पूर्वाञ्चल विश्वविद्यालयसँग स्वीकृति मागे। ‘पूर्वाञ्चलले त आजको भोलि नै दिने भयो,’ सुवालले भने, ‘हामीले पूर्वाञ्चलकै स्वीकृतिमा ख्वप इन्जिनियरिङ कलेज सुरु गर्यौं।’
पछि २०६५ मा त्रिभुवन विश्वविद्यालयले पनि इन्जिनियरिङ कलेज सञ्चालनको स्वीकृति दियो। त्यसपछि सुरु भयो– ख्वप कलेज अफ इन्जिनियरिङ।
अहिले भक्तपुर नगरको लिवालीमा ख्वप कलेज अफ इन्जिनियरिङ (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त) र ख्वप इन्जिनियरिङ कलेज (पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त) सञ्चालनमा छन्। एउटामा बिहानी सत्रको पढाइ हुन्छ भने अर्कोमा दिउँसो। कलेका पाँचवटा भवन छन्।
नेपाली शैलीमा बनाइएका यी भवन सुविधासम्पन्न र आधुनिक छन्। कलेजको आँगन सफा र चिटिक्क छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसका अतिथि प्राध्यापक सूर्यराज आचार्य नगरपालिकाले चलाएका यी स्तरीय क्याम्पस देखेर दंग छन्। नेपालका अरु सरकारी कलेजको तुलनामा यी कलेज अब्बल रहेको उनलको भनाइ छ।
‘मैले त्यहाँका भौतिक संरचना, सरसफाइ, स्रोतसाधन र प्राज्ञिक वातावारण अन्य कलेजको भन्दा उत्तम पाएँ,’ आचार्यले भने, ‘त्यहाँका फ्याकल्टी मेम्बरको प्राज्ञिक चेत र विद्यार्थीको मोटिभेसन पनि गज्जबको छ। पुल्चोकपछि त्यो कलेजलाई इन्जिनिरिङ क्षेत्रमा पनि राम्रो मानिँदो रहेछ।’
ख्वप कलेज अफ इन्जिनियरिङमा बिईतर्फ सिभिलमा ९६ र इलेक्ट्रोनिकमा ४८ जनाको पढाइ हुन्छ। पूर्वाञ्चलबाट स्वीकृति पाएको ख्वप इन्जिनियरिङ कलेजमा बिई सिभिलमा ९६, कम्प्युटरमा ४८, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा ४८, आर्किटेक्चरमा २४ जना पढ्न पाउँछन्। त्यस्तै, एमईतर्फ अर्थक्वेक इन्जिनियरिङमा २० र अर्बान डिजाइन एन्ड कन्जरभेसनमा २० जनाको कोटा छ।
इन्जिनियरिङ कलेजमा पढ्न भक्तपुर नगरका ३०, भक्तपुर जिल्लाका २५ र बाँकी ४५ प्रतिशत देशभरिका विद्यार्थीलाई कोटा छुट्याइएको छ। त्यसमा ५ प्रतिशत सरकारले तोकेका दुर्गम क्षेत्रका विद्यार्थीलाई छुट्याइएको छ। कलेजबाट अहिलेसम्म १० ब्याचका १५२७ विद्यार्थीमध्ये ११८६ जनाले बिई सकेका छन् भने ७ ब्याचका १९४ जनामध्ये ९९ जनाले एमई सकेका छन्।
कलेजको पुस्तकालयमा करिब ४२ हजार किताब छन्। सुविधासम्पन्न प्रयोगशाला छन्। लोडसेडिङको मार शैक्षिक गतिविधिमा नपरोस् भनेर १ सय २ केभीको जेनेरेटर छ।
ख्वप कलेज
निजीभन्दा ४० प्रतिशत सस्तो
भक्तपुर नगरपालिकाले निजी कलेजभन्दा स्तरीय शिक्षा निजी कलेजभन्दा सस्तो शुल्कमा उपलब्ध गराउँछ। यहाँको शुल्क अन्य निजी इन्जिनियरिङ कलेजको तुलनामा ४० प्रतिशत सस्तो रहेको कलेज प्रशासनको दाबी छ।
कलेजमा बिई सिभिल इन्जिनियरिङको शुल्क ४ लाख २८ हजार २ सय २० (पूर्वाञ्चल विश्वविद्यालय) र ४ लाख ३० हजार २ सय २० (त्रिभुवन विश्वविद्यालय) पर्छ। बिई कम्प्युटरको शुल्क ४ लाख १८ हजार २ सय २० पर्छ भने बिई इलेक्ट्रिकलमा ४ लाख २० हजार २ सय २० (त्रिवि) लाग्छ। बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन ४ लाख १८ हजार २ सय २० र बिई आर्किटेक्चर पढ्न ५ लाख २२ हजार ७ सय ७५ रुपैयाँ लाग्छ।
एमई अर्थक्वेक र एमएएसी अर्वान डिजाइन एन्ड कन्जरभेसन पढ्न १ लाख ५७ हजार ८० रुपैयाँ लाग्छ। कलेजमा भर्ना हुन सुरुमा डिपोजिट पनि ९० हजार मात्रै बुझाए पुग्छ।
खुला राजनीतिमा आएपछि २०६३ सालमा तत्कालीन नेकपा माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई भक्तपुर नगरले चलाएका शिक्षण संस्था भ्रमणमा गएका थिए। ‘हामीले जनवादी शिक्षा ल्याउन भूमिगत भएर जनयुद्ध लड्यौं तर सकेनौं, तपाईँहरुले सञ्चालन नै गरिसक्नुभएछ,’ भट्टराई भनेको सम्झैदै सुवालले भने।
ख्वप कलेजको नाम अहिले देशभर फैलिएको छ। यसले विशेष गरेर अरु नगरपालिकाहरुको ध्यान खिचेको छ। 'धेरै नगरपालिकाका प्रतिनिधि भक्तपुर घुम्न आउँछन्, आफूले पनि त्यस्तै शिक्षण संस्था खोल्ने भन्छन् तर अहिलेसम्म कसैले सञ्चालन गरेका छैनन्,' सुवालले भने।
भक्तपुर नगरपालिकामा वर्षौंदेखि नेपाल मजदुर किसान पार्टीको वर्चस्व छ। एक हिसाबले ख्वप कलेजहरुको सञ्चालनमा पनि यही राजनीतिक पार्टीको प्रमुख भूमिका छ। देशका धेरै सरकारी कलेज चरम राजनीतिले बिग्रेका छन्। विद्यार्थी युनियन र ती युनियनसँग जोडिएर आउने विकृतिले सरकारी कलेजहरु थलिएका छन्। त्यतिले नपुगेर राजनीतिक पार्टीहरुसँग कुम जोडिएका प्राध्यापक संघको बोझ बेग्लै छ।ख्वप कलेजहरुमा भने प्राध्यापक र विद्यार्थी दुवैले राजनीति गर्न पाउँदैनन्।
विद्यार्थीका समस्या समाधान गर्न 'कक्षा प्रतिनिधि' को व्यवस्था गरिएको छ। उनीहरुले विद्यार्थीका समस्या व्यवस्थापनलाई सुनाउँछन् र समस्याको हल खोजिन्छ। लेक्चररहरुले पनि कुनै पार्टीको झन्डा बोक्न पाउँदैनन्।
अहिले पनि ६ वटै संस्थाको व्यवस्थापन समितिका अध्यक्ष रहेका पूर्वमेयर सुवाललाई हामीले सोध्यौं, 'राजनीति र राजनीतिक पूर्वाग्रहलाई क्याम्पसबाट कसरी बाहिर राख्नुहुन्छ?'
सुवाल भने, 'शिक्षक हामी देशभरिबाट छान्छौँ। हामीले पत्रिकामा विज्ञापन गरेर अन्तर्वार्तामा छानिएकालाई मात्र जागिर दिन्छौं। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस ख्वपमा काम गर्छन्। कर्मचारीमा भने भक्तपुर जिल्लाकाले नै धेरै प्राथामिकता पाएका छन्।' स्थानीयको करबाट कलेज चल्ने भएकाले उनीहरुले प्राथामिकता पाएको सुवाल स्वीर्काछन्।
प्रतिस्पर्धाबाटै छानिएका ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुजन माका भर्खर ३० वर्ष लागे। उनले पहिलो कार्यकालको दुई वर्ष कलेजको प्रिन्सिपल भएर चलाइसके। अर्को कार्यकालको पनि ६ महिना बितिसक्यो।
‘यति कलिलो प्रिन्सिपललाई पत्याउँछन् त?’
सुमनले भने, 'पहिला विभागीय प्रमुख भएर काम गरिसकेकाले गाह्रो हुँदैन। फेरि उमेरभन्दा पनि कामको कुरा हो।'
माकाले राजनीतिक इच्छाशक्तिका कारण नै कलेजको व्यवस्थापन चुस्त रहेको बताए। उनका अनुसार कलेज सञ्चालन गर्न शैक्षिक व्यवस्थापन समिति छ, त्यो समितिको प्रत्येक महिना बैठक बस्छ। प्रत्येक सेमेस्टरको रिजल्ट आएपछि कलेजले विद्यार्थीका अभिभावक बोलाउँछ। र, उनीहरुलाई आफ्ना सन्तानको पढाइको बारेमा जानकारी दिन्छ।
राजनीतिबाट मुक्त ख्वप कलेजमा अहिलेसम्म कुनै पनि बहानामा एउटै कक्षा नरोकिएको माकाले बताए।
प्रेम सुवाल ,अध्यक्ष, व्यवस्थापन समिति
सपना ख्वप विश्वविद्यालयको
२०६१ सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सिभिल सब-ओभरसियर र नर्सिङ पढाउन सम्बन्धन माग्दा फेरि त्यस्तै लफडा भयो। स्वीकृति दिने सिटिइभिटीले पनि नर्सिङ पढाउन स्वीकृति नदिने भनेछ। अनि भक्तपुरका विद्यार्थी र प्रतिनिधि सानोठिमीमा रहेको सिटिइभिटीको कार्यालयमा जुलुस लिएर गएछन्। त्यसपछि सिटिइभिटीले पनि सम्बन्धन दियो।
अहिले ती सबै शिक्षण संस्था आफ्नै खुट्टामा उभिएका छन्। उनीहरुलाई नगरपालिकाले अतिरिक्त बोझ बोक्नुपरेको छैन। ‘हामीले भवन, जग्गा र स्रोतसाधन दिएका छौं तर अन्य प्रशासनिक खर्च र कर्मचारीको तलब सबै शिक्षण संस्था आफैंले धानेका छन्, नगरपालिकाले पैसा दिनु परेको छैन,’ सुवालले भने।
२०७० सालमा निजी स्तरबाट सञ्चालित शारदा क्याम्पसलाई पनि भक्तपुर नगरपालिकाले खरिद गरेको छ। त्यहाँ शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ। शारदा कलेजसहित नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्था ६ वटा पुगेका छन्। ख्वप उच्च मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप पोलिटेक्निक इन्स्टिच्युट र शारदा कलेज अहिले नगरपालिकाले चलाइरहेको छ। यी विभिन्न संस्थामा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन्। तिनै विद्यार्थी र स्रोतका आधारमा भक्तपुर नगर विश्वविद्यालय चलाउन कस्सिएको हो।
ख्वप विश्वविद्यालयसम्बन्धी विधयेक २०६४ सालमै शिक्षा मन्त्रालयमा दर्ता भइसकेको छ। अहिले सल्लाघारीमा रहेको नेपाल ट्रस्टको १०८ रोपनी जग्गा पनि नगरपालिकालाई दिएर विश्वविद्यालय स्थापना गर्नुपर्ने भक्तपुरवासीको माग छ। यसअघि जिल्लामा एक घर एक स्नातक कार्यक्रम सञ्चालन गरिएको थियो।
‘अब त एक घर एक स्नातकोत्तर हुने बेला भइसक्यो,’ सुवालले भने, ‘हामी जसरी पनि विश्वविद्यालय बनाएरै छाडछौं।’