संसदको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने भएको छ।
मंगलबार बिहान बसेको एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्री पदका लागि बुधवार हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो दलको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकले संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने समेत निर्णय गरेको शाक्यले बताइन्।
कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि आफ्नो उम्मेदवारी दर्ता गराइसक्नु भएको छ। योसँगै प्रचण्ड बुधवार देशको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचन हुने पक्का भएको छ। प्रचण्डलाई कांग्रेस, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिसहित मधेसी मोर्चालगायत दलको समर्थन छ।
संसदमा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार हुँदा पनि मत विभाजनको प्रक्रियाबाट प्रधानमन्त्री चयनको निर्णय गर्नुपर्ने भएकाले पनि उम्मेदवारको विपक्षमा मत हाल्न पाइने व्यवस्था छ।
एमाले नेतृत्वको सरकारबाट बाहिरिएर संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
प्रधानमन्त्री चयनका लागि मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारी दर्तापछि मंगलबार नै प्रधानमन्त्रीका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयको तयारी छ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संयुक्त रुपमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले गत साउन १० गते सहमतीय सरकार गठनका लागि भन्दै एक साताको समय दलहरुलाई दिएकी थिइन्।