तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्तावक राखेर मंगलबार उम्मेद्वारी दर्ता गराएका हुन्। सभामुख ओनसरी घर्तीले बुधबार हुने निर्वाचनका लागि मंगलबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय तोकेकामा माओवादी केन्द्रका अध्यक्ष दाहालले नौ दलका सांसद्लाई समर्थक राखेर बिहान ११ बजेर २५ मिनेटमा संसद् भवनमा उम्मेद्वारी दर्ता गराएका हुन्।
दाहालको उम्मेद्वारीको प्रस्तावमा मधेशी मोर्चाका प्रमुख घटक दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद् सर्वेन्द्रनाथ शुक्ल र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका छन्।
नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल र स्वतन्त्र सांसद् चन्द्रेश्वर झा पनि समर्थक बसेका छन्।
प्रस्तावक र समर्थक दलका आधारमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री निर्वाचित हुने निश्चितप्रायः भएको छ । दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलको अध्यक्षका नाताले दाहालले करिब ९ महिना प्रधानमन्त्रीको जम्मेवारी निर्वाह गरिसकेका छन्।
बुधबार संसदमा नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ।