भारतविरूद्ध दोस्रो टेष्टको पहिलो इनिङमा वेष्ट इन्डिजले ७ रन जोड्ने क्रममा ३ विकेट गुमाएपछि घरेलु टोली दबाबमा देखिएको छ। शनिबार पहिलो दिनको खेलमा रविचन्द्रन अश्विनको घातक स्पिनका कारण वेष्ट इन्डिजले पहिलो इनिङमा १ सय ९६ रन मात्र जोड्न सफल भयो। प्रतिउत्तरमा शनिबारनै पहिलो इनिङको सुरुवात गरेको भारतले १ विकेटको क्षतिमा १ सय २६ रन बनाएको छ। भारत पहिलो दिन ७० रनले मात्र पछि परेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेका वेष्ट इन्डिजको माथिल्लो क्रमका ३ ब्याट्सम्यानले ७ रन मात्र जोडे। क्रेग ब्राथवाइट (१), राजेन्द्र चन्द्रिका (५) र डारेन ब्रोभो (०) सस्तैमा समेटिएपछि वेष्ट इन्डिजको अवस्था दयनीय बन्न पुगेको थियो। सन् १९८३ पोर्ट अफ स्पेन टेष्टमा पनि वेष्ट इन्डिजको माथिल्लो ३ ब्याट्सम्यान भारतसँग १ रन बनाउने क्रममा आउट भएका थिए।
ब्राभोले घरेलु मैदानमा भएको पछिल्लो ७ टेष्टमा ७० रन मात्र जोड्न सकेका छन्। यसमा उनको उत्कृष्ट १९ रन हो। वेष्ट इन्डिजका लागि जेरेमाइन ब्ल्याकउडले सर्वाधिक ६२ रन बनाए। अश्विनले ५ विकेट लिए।
भारतका लोकेश राउल ७५ रनमा अविजित छन्। भारतले पहिलो विकेट शिखर धवनको २७ रनमा गुमाएको थियो। चेतेश्वर पुजारा पनि २८ रन बनाएर अविजित छन्।