बुढाबुढी हराए जब ब्युटी पार्लर आए
बुढी बुढी हुँदिनन्, बुढा देखिनै छाडे।
न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ,
न आँखा धमिलो कोहीको, न चाउरी नै देखा पर्छ,
न तालुखुइले कोही छ, टोपी समान कपाल छ
भूतपूर्व यी युवाको फेशन ओहो कमाल छ
पैसा बुढाबुढीको कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए।
बुढो धाउँछ हरदिन नर्सिङ होम जचाउँन
आज खकार जाँचे भोलि प्रेसर जचाउँन
पर्सि सुगर जचाउँछ, जचाउँछ केही हरेक दिन
उसको प्रयास छ बेग्लै, एउटी त्यहाँ फसाउँन
स्कुल पार्टी पिकनिक गल्ली कुना शहरमा
ठिटाठिटीले भ्याए, बुढाबुढी क्लिनिकमा
प्रवचन पुराण कता छ ? - भोलि त्यता भेटौंला
इयररिङ झैँ देखिने एक हियरिङ एड दिउँला !
बुढी गन्हाउँछिन ठुसठुस, नुहाए रंग जान्छ
बुढोको पेट खराब छ, क्रिम पाउडर धेर खान्छ
बालेर अगरबत्ति धुँवैधुँवा छ घरमा
गन्ध लुकोस् कतिन्जेल धुवाँ सुँगाको भरमा ?
पैसा बुढाबुढीको कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।
पाउडर र क्रिमका बट्टा हुन्थे ती साना साना
ल्याउन थालिन बुढीले भरेर माना माना
चाउरी ती धर्सा पुर्न दिनकै खपत बढी छ
विवाद बुढाबुढीबीच कसको खपत बढी छ ?
पैसा बुढाबुढीको कस्मेटिक पसलले खाए
बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।