राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बहुमतीय प्रक्रियाबाट सरकार निर्माणका लागि दलहरूलाई आव्हान गर्ने भएकी छन्।
वर्तमान संविधान अनुसार राष्ट्रपतिले सहमतीय प्रक्रियाबाट सरकार निर्माण गर्न दिएको ७ दिनको म्याद आज सकिँदैछ।
आज राष्ट्रपति भवनमा प्रमुख दलहरुको छलफलमा उक्त अवधिमा राजनीतिक सहमतीयका आधारमा सरकार निर्माण प्रक्रियाका लागि कस्ता प्रयास गर्नुभयो भनेर राष्ट्रपतिले जिज्ञासा राखेकी थिइन्।
माओवादी अध्यक्ष पुष्पकलम दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी थिए।
‘बैठकमा दलका नेताहरुले राजनीतिक सहमतिका लागि प्रयास जारी राखेको बताउनुभयो।आज रातिसम्म पनि प्रयास जारी राख्ने भन्नु भएको छ,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सेतोपाटीसँग भने, ‘तर उहाँहरूले सहमतीय सरकार निर्माणका लागि म्याद थप गर्ने विषयमा कुरा गर्नु भएन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् भने उनको दल एमाले सरकारमा नजाने भएपछि राजनीतिक सहमतिको आधारमा सरकार बन्ने सम्भावना लगभग छैन।
राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने - ‘सहमति नहुँदा भोलि नै राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि दलहरुलाई आव्हान गर्नुहुनेछ।’
भिडियो