नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदीय व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले यस्तो बताएका हुन्। उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नहुँदासम्म टालटुल पारेको संसदीय व्यवस्थाले देशको विकास हुन नदिने र राजनीतिक स्थिरता पनि नहुने बताए।
‘प्रचण्ड मेरो पूर्व सहयात्री हुनुहुन्छ, उहाँलाई शुभकामना र बधाइ छ, तर उहाँलाई म केही सुझाव दिन चाहन्छु,’ उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुन लाग्नु भएको छ तर, ख्याल गर्नुहोला, यो संसदीय व्यवस्था रहेसम्म तपाईं पनि धेरै टिक्नुहुन्न। त्यसैले सबैभन्दा पहिला यो व्यवस्था खारेज गर्नुहोस्।’
त्यसो गरिएको खण्डमा मात्रै त्यसपछि हुने निर्वाचनमा नयाँ शक्ति नेपाल पनि सामेल हुने उनले बताए। देशको नेतृत्वमा पुग्ने गरी आफूहरु त्यही अभियानमा लाग्ने उनले बताए।