भारतविरूद्ध मैत्रीपूर्ण खेलमा नेपालको भलिबल टिम ३–० को सोझो सेटमा पराजित भएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल २५–२०, २५–१९ र २७–२५ को सोझो सेटमा पराजित भयो। घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो। तेस्रो सेट २२–२२ को बराबरीमा पुगेको बेला प्रतिभा मालीले आफ्नो उत्कृष्ट स्पाइकबाट लगातार २ अंक जोडे पछि नेपाल २४–२२ को अवस्थामा पुगेको थियो। तर, यही अवस्थाबाट नेपाली टोली चुक्न पुगेपछि ३–० को सोझो सेटमा हारेको थियो।
कप्तान एवम सेटर बिनिता बुढाथोकीले अन्तिम सेट नियन्त्रणमा राख्न नसक्दा खेल हार्नु परेको बताइन्। भनिन, ‘अन्तिम समयमा मैले प्रतिभालाई स्पाइक नदिने निर्णय लिनु नै गलत सावित भयो। त्यतिबेला प्रतिभालाई ब्लक आइरहेको थियो।’
प्रतिभाले यस खेलमा सर्वाधिक २६ स्कोर गरिन्।
प्रशिक्षक सुदेश रिमालले घरेलु टोलीमा आफनो टोलीमा उत्कृष्ट प्रदर्शन गरेको बताए। भने,‘हामीले आफनो स्तर अनुुसार राम्रो खेलेका हौ। उनीहरूको जम्प र स्पाइक राम्रो थियो। हाम्रो टोलीमा अनुभवको पनि कमी छ।’
भारतीय महिला टोलीकी प्र्रशिक्षक बैशाली फडतरेले नेपालले राम्रो खेलेको बताइन्। उनले भनिन्, ‘विगतको तुलनामा उनीहरूले राम्रो खेलेका छन्। दुई वटा मैत्रीपूर्ण खेल खेल्न आएको भारतले अब अर्को खेल खेल्नेछ।