‘वीर अस्पताल भक्तपुर सर्न लागेको हो?’
वीरका लागि भक्तपुर, दुवाकोटमा ५७३ रोपनी जग्गा छुट्याउने मन्त्रिपरिषद निर्णयसँगै नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. गणेशबहादुर गुरुङलाई सबैले यही प्रश्न सोधिरहेका छन्।
‘वीर सर्न लागेको होइन, विस्तार हुन लागेको हो,’ उनी प्रत्येकलाई सम्झाइरहेका छन्, ‘यहाँ त अझ ठूलो अस्पताल बन्दै छ।’
डा. गुरुङका अनुसार वीरको समेत व्यवस्थापन गर्ने निकाय न्याम्सको सेवा विस्तारका लागि भक्तपुरमा जग्गा हेरिएको हो। ‘यहाँ त कता विस्तार गर्ने? अब कि तला थप्दै माथिमाथि आकाशतिर जानुपर्यो कि जमिनमुनि जानुपर्यो,’ उनले सेतोपाटीसँग भने, ‘अनि नयाँ ठाउँ चाहिएन त?’
वीरले बुधबार १२७ औं स्थापना दिवस मनायो। विसंं १९४६ साउनमा तत्कालीन प्रधानमन्त्री वीरशमशेरको नामबाट खुलेको यो अस्पतालले राणा शासन, प्रजातन्त्र, पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्दा नाम र सान दुवै कमायो।
पछिल्लो समय यही नाम र सान कायम राख्नु वीरको चुनौति बनेको छ।
सन् १९९० पछि सरकारले उदारीकरण नीति अंगालेसँगै स्वास्थ्यमा पनि सरकार निजी क्षेत्रकै बढी भर पर्न थालेको थियो। त्यही भएर सरकारी स्वास्थ्य संस्थाको उन्नतिमा सरकारले खासै ध्यान नदिएको गुरुङको बुझाइ छ।
‘सरकारले ध्यान नदिँदा सरकारी स्वास्थ्य संस्था पहिलेकै स्थितिमा रहे तर निजी क्षेत्रले ठूलो फड्को मार्यो,’ उनले भने, ‘वीरले पनि पछिल्ला केही दशक आफूलाई विस्तार र विकास गर्न मात्रै नसकेको हो। यसले वीरको पुरानो साख गुम्दै गएको छ भने बिरामीहरूको विश्वास कम हुन थालेको छ।’
विकास र विस्तारको कुरा गर्दा अहिलेकै भवन तथा उपकरणका भरमा वीरलाई धेरै प्रभावकारी र अत्याधुनिक बनाउन नसकिने उनले ठानेका छन्।
‘हामीसँग २०३५ सालमा बनेका संरचना छन्, त्यसबेला त यी भवन निकै ठूला र आधुनिक देखिन्थे,’ डा. गुरुङले भने, ‘अहिले प्रविधिले फड्को मारिसकेको छ। नेपालकै जनसंख्या तीन गुणा बढिसक्यो। यसलाई थेग्न पनि वीरको विस्तार जरुरी भइसकेको छ।’
अझै पनि देशभरका निम्नवर्गीय जनताको आशाको अन्तिम थलो वीर नै हो। वीरले एकदिनमा लगभग ३ हजार ५ सय बिरामीलाई सेवा दिन्छ। यसका लागि अहिलको ‘स्पेस’ साँघुरो भइसकेको डा. गुरुङ बताउँछन्। ‘गुणस्तरमा परिवर्तन ल्याउन थालेपछि बिरामीको चाप अझ बढ्छ। त्यसैले फराकिलो ठाउँ खोजी गरेका हौं,’ उनले भने।
उनले सुनाएका सबै योजना कार्यान्वयन हुने हो भने १२७ वर्षपछि वीरको काँचुली फेरिन लागेको संकेत पाइन्छ।
के के छ त वीर विस्तारको योजना?
अहिले वीर अस्पताल भएकै ठाउँमा अब दुईवटा ठूल्ठूला भवन बन्ने छन्। मुख्य अस्पतालपछडि नर्सिङ कलेज रहेको स्थानमा ६५० शैय्याको भवन बन्ने छ। यहाँ रहेका संरचना हटाउन न्याम्सले ठेक्का दिइसकेको छ। यो भत्काउने क्रम सुरु भएसँगै नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान गरिने गुरुङले बताए।
मुख्य अस्पताल रहेको परिसरमा पनि थप ६५० शैय्याको अस्पताल बन्ने छ। यसको पनि प्रक्रिया सुरु भइसकेको छ।
यी दुई भवन बनिसकेपछि अहिले सञ्चालनमा रहेको ट्रमा सेन्टरसहित गरेर अस्पताल १५ सय शैय्यामा विस्तार हुनेछ। भवन मात्रै नभएर अस्पताललाई सेवा र उपकरणका हिसाबमा पनि उत्कृष्ट बनाउने योजनासहित काम भइरहेको उनले बताए।
यति मात्र होइन, सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताअनुसार स्वयम्भुको मनमोहन अस्पताल पनि वीरले खरिद गर्नेछ। भर्खरै सम्झौता भएकाले यो खरिद प्रक्रिया कसरी अघि बढ्छ भन्ने टुंगिएको छैन। न्याम्सले भने आफ्नो शिक्षण अस्पताल विस्तारको तयारी यसअघि नै थालिसकेको थियो। दुवाकोटको जग्गा न्याम्सको शिक्षण अस्पताल विस्तारकै लागि प्रयोग हुने डा. गुरुङले जानकारी दिए।
‘हिजो वीर एउटा अस्पताल मात्रै थियो, आज न्याम्सका रूपमा यो एउटा शैक्षिक केन्द्र पनि हो,’ उनले भने, ‘अब यो साँघुरो स्पेसमा देशकै चिकित्सा विज्ञानको यति ठूलो शैक्षिक केन्द्र रहन सक्दैन भनेर हामीले नयाँ योजना बनायौं। त्यसका लागि आवश्यक जग्गा खोज्दा दुवाकोटको जग्गा उपयुक्त देखिएको हो।’
अब बन्ने न्याम्सका पूर्वाधार चिकित्सा विज्ञान विश्वविद्यालयका लागि लक्षित गरेर विकास गरिने उनको भनाइ छ। दुवाकोटमा पनि यसैअनुसारका संरचना बनाउने योजना छ। त्यहाँ एक हजार शैय्याको अत्याधुनिक भवन बन्ने छ।
‘योचाहिँ अन्तराष्ट्रिय स्तरको अस्पताल हुन्छ, ‘फुल्ली इक्विपमेन्टेड’ हुन्छ,’ उनले भने।
त्यस्तै, चिकित्सा विज्ञान कलेज र नर्सिङ कलेजका लागि छुट्टाछुट्टै पूर्वाधार निर्माण हुने छ।
यी सबै कामका लागि कति बजेट लाग्ला त?
गुरुङ मुसुक्क हाँसे, ‘२० अर्बभन्दा बढी।’
झट्ट सुन्दा वीर अस्पतालकै लागि २० अर्ब खर्च गर्ने कुरा निकै अपत्यारिलो लाग्छ। डा. गुरुङले कन्भिन्स गर्ने प्रयास गरे, ‘नेतृत्वकर्ताले इनिसिएसन लिनुपर्छ। बजेट त जुटाउने हो। दाताहरुको सहयोग लिने हो।’
सम्भव छ त?
उनले प्रतिप्रश्न गरे, ‘सम्भव किन छैन?’
सरकार स्थिर हुने हो भने अबको ६ वर्षमा यी योजनाले मूर्तरूप लिइसक्ने उनले बताए। तर, अस्थिर सरकार र कर्मचारीतन्त्रमा भइरहने सरुवाले काम निकै प्रभावित बनाउने गरेको उनले सुनाए।
‘नयाँ मन्त्री–सचिवलाई छ–आठ महिना लगाएर योजना बुझाउनुपर्छ, कन्भिन्स गर्नुपर्छ,’ उनले भने, ‘जब काम सुरु हुन्छ, सरकार परिवर्तन हुन्छ। त्यसपछि कर्मचारीको पनि सरुवा भइहाल्छ।’
चिकित्सा शिक्षालाई प्रभावकारी बनाउन वीरले उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालसँग पनि सहकार्य गर्न सुरु गरेको उनले बताए। यही योजनाअन्तर्गत भरतपुर, विराटनगर र बुटवलमा काम सुरु भइसकेको छ। धादिङको जिल्ला अस्पतालमा पनि काम सुरु भएको उनले बताए।
न्याम्सले चिकित्साशास्त्रका अधिकांश विधामा शिक्षण गर्ने भएकाले काठमाडौंकै गंगालाल हृदयरोग केन्द्र र प्रसूति गृहसँग पनि सहकार्य गरिरहेको छ। यसरी न्याम्स विभिन्न रूपमा विस्तार हुँदै गइरहेको उनले बताए।
‘वीर अस्पतालले यो ऐतिहासिक थलो छोड्ने हामीले भनेकै छैनौं,’ उपकुलपति गुरुङले भने, ‘उता संरचना बनिसकेपछि न्याम्सचाहिँ मुख्य रूपमा दुवाकोटमै रहन्छ। न्याम्स विस्तार हुनु वीर नै कुनै न कुनै रूपमा विस्तार हुनु हो। त्यसैले यो वीर अस्पतालको विस्तार हो।’