धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ।
बिहीबार साँझ सिधुवामा भएको दुर्घटनामा घाइते भएका धरान १७ का चेतबहादुर मगरको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो। घाइते मगरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थ राज्यमन्त्री हरिराज सेवासहित १४ जनाको बिहीबार मृत्यु भएको थियो।
पूर्वराज्यमन्त्री सेवासहित ७ जनाको घटनास्थलमै र अन्य आठ जनाको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी परेवादिन–७ धनकुटाका तारा बस्नेत र उनकी छोरी खिममाया बस्नेत, धरान–२ का बेदप्रकाश अग्रवाल, परेवादिन–७ धनकुटाका अतिमाया तामाङ, मारेकटहरे–३ धनकुटाका वीरबहादुर काफ्ले, लेगुवा–६ धनकुटाका तेजबहादुर थापा, चालक काभ्रे घर भई हाल बुढीमोरङ मुलघाट बस्दै आएका सनम तामाङ , फुलेक–९ धनकुटाकी होमा पौडेलसहित १४ जनाको मृत्यु भएको थियो।
सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान आउँदै गरेको बा २ ख ७३६६ नम्बरको बस ब्रेक फेल भएर बिहीबार साँझ सिधुवामा दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका अन्य २९ जनाको धरानमा र पाँच जनाको विराटनगरमा उपचार भइरहेको छ ।