प्यूठानमा वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन कठिनाइ भएको छ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पुर्याउन नेपाली सेनाको सहयोग लिएपनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत पुर्याउन कठिनाइ भएको हो।
राहत सामग्री ढुवानी गर्न फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरेपनि केन्द्रबाट हेलिकोप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए।
प्यूठानमा बाढीपहिरोका कारण ३८ जनाको मृत्यु तथा झण्डै ३०० घर परिवार विस्थापित भएका छन्। पहिरोमा परी मृत्यु भएकाको आफन्त र विस्थापित भएका व्यक्तिलाई खानेपानी, स्वास्थ्य सेवा तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयबासिन्दा तथा उद्धार तथा राहत वितरणमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए।
प्रजिअ जनकराज पन्तले पीडित परिवारकालागि तत्कालीन रुपमा आठ/आठ हजार राहत वितरण गरिएको बताए। रासस