सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा छाउपडी गोठमुक्त समाजको अभियान चलिरहेको छ। झट्ट सुुन्दा विश्वास नलाग्न सक्छ तर सुविधा सम्पन्न र विकासोन्मुखतर्फ अघि बढिरहेको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘सी’ गाउँमा अझै पनि ९० प्रतिशत घरमा छाउपडी गोठ छ भनेर।
रजश्वला भएको महिलालाई छाउपडी भन्ने गरिन्छ। रजश्वला भएको समयमा घरभित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भंग हुने अन्धविश्वास भएका कारण परिवारले घरभित्र बस्न नदिने गरेका उदाहरण सुदूरपश्चिमका पहाडी जिल्ला प्रशस्तै पाइन्छ।
खुला अनि साँघुरो कोठाभित्र बस्न बाध्य उनीहरुले छाउपडी गोठमा वस्दा विभिन्न किसिमका यातना भोगेको भएपनि घरपरिवारको डरले पछिल्लो पुस्ता समेत छाउपडी गोठमा बस्न बाध्य भएको बताएका छन्। धनगढी बजारमा दिनैपिच्छे महिला अधिकारका बारेमा आवाजहरु उठ्ने भएपनि धनगढी उपमहानगरपालिका १२ जुगेडामा अझै पनि छाउपडी गोठ हट्न नसक्नु दुखद भएको समाजसेवी चन्द्रबहादुर विकले बताए। उनले जुगेडा सि गाउँका महिलाहरु छाउपडीको भएको बेला असुरक्षित तरिकाले रात काट्न बाध्य रहेको बताए।
धनगढी उपमहानगरपालिका–१२ सी गाउँका ७७ वर्षीय हरि विकले छोरी वुहारीलाई घर भित्र राख्ने रहर हुँदाहुँदै पनि प्ररम्परादेखि चलिआएको चलन तोड्न नसकेको बताउँदै अन्धविश्वासमा परेर रजश्वला भएका बेला छोरी,वुहारीलाई घरभित्र राखेमा घरपरिवारमा विरामी हुने, अन्नबाली बिग्रने देवता रिसाउने विश्वासले गर्दा चाहेर पनि घरभित्र राख्न नसकिएको उनले बताए।
समाजमा एकपछि अर्को परिर्वतन हुँदै गएपनि धनगढी उपहमहानगरपालिका–१२ सि गाउँमा अझै पनि थुप्रै महिलाहरु अन्धविश्वासमा बाँचिरहेका छन्। घरमा रजश्वला भएकी महिलालाई राखेको अवस्थामा देउता रिसाउने, घरमा सर्प आउने, अन्नबाली घट्ने र रजश्वला भएको महिलालाई छोएमा विसन्चो हुने भएका कारण छापडी गोठ बनाएको स्थानीय चम्फा वादीले बताइन्।
महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले कोठे कार्यक्रममा आफुहरुलाई सीमित राख्दा अन्धविश्वासले जकडेको जुगेडा सि गाउँमा थुप्रै महिलाहरुले रजश्वला भएको बेला असुरक्षित रात विताउनु परेको छ।