लाग्थ्यो,
मान्छेहरूको बीचमा
कतै मन मुटुमा
फुलेको हुन्छ
मायाको फूल !लाग्थ्यो,
कोमल हृदयभित्र
बगेको हुन्छ
विश्वासको नदी
त्यसैले मुस्कुराउछन् ओठहरू।
लाग्थ्यो,
मसंग समाज छ
भर अभरमा
अंधेरोमा कहाली चिर्न
मन मनमा उज्यलो हुन्छ
खै ! किन लाग्थ्यो मलाई
मान्छेसंग बिवेक हुन्छ
पत्थर नवन्नलाई ।
आकाश ओढेर सुतेपछि
भत्किएको छ
मलाई लागेको मान्छेको मुहार !
अहो ! समाज त उहिल्यै मरिसकेछ
यतिखेर,
म घिनाई रहेछु मान्छेसंग !
समय विभत्स पल्टिएको छ
आँखा अगाडि
निरीह जीवात्मा
अर्को रात पर्खिरहेछन्
हुरी वतास र वर्षासंग
निख्रिन लागेको आँखा निखार्न ।
आकाशै आकाश उडिहिड्छ
सहयोगी व्यानरका ठूला ठूला अक्षरहरू !
सडक किनारामा
पल्टिरहेछन् घरसंगै क्लान्त जीवन
बाटोभरी गुडी हिंड्छन्
शब्दले भरिएका मोटरहरू
र खोजीहिड्छन् पीडित अनुहारहरू !
यो अन्धो समय दुख्छ नमिठो !
बहुलाएको विनास
दोहोराएर झम्टिरहेछ
पटक-पटक
उदिग्न मन तर्साइरहेछ
मौन छन् बिल्डिङभित्र कठ्पुतलीका हुलहरू
ए ! पीडितहरू हो
अव विश्वास नराख
आकाशै आकाश उडिजाने चिलगाडिमाथि
बाटैबाटो गुडिजाने ठूलाठूला व्यानरमाथि
कतै नभत्किएका छिमेकमाथि
सग्ला मानिसमाथि विश्वास नराख !
यि कठपुतलीका मनहरूमाथि
नफैलाउ याचक हातहरू
भो नरोउ अव,
यो पत्थर समय
पग्लिदैन तिमीमाथि !
यतिखेर,
म क्रिया वसेको छु
समाज मरे पछि कोरा पसेको छु ।
काला मान्छेहरूका
अपवित्र अक्षरहरू
रोकिनु पर्छ अव
हाम्रो भत्किएको बस्ति छिर्नबाट !
ए पीडित जीवनहरू हो !
आउ उठौं, आफैमा हातेमालो गर्दै ।
यि कठपुतलीका मनहरू
हाम्रो विनाशमा जुट्ने छैनन् कहिल्यै
ए थकित अनुहारहरू हो !
यो विभत्स समय
रातजस्तो कहालीहरूमा
सग्ला मानिसहरू आउने छैनन् अव ।
लाग्थ्यो,
आउनेछन् मानिसहरू !
पीडामा बाचिरहेकाहरूलाई
उठाउन आउनेछन् शभ्य समाजका उच्च मनहरू !
जीवन कस्तो भ्रम पाल्दोरहेछ ?