मधेसी मोर्चासहितको संघीय गठबन्धनमा आबद्ध दलले कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सहभागी नहुने प्रस्ट पारेका छन्। ११ बुँदे मागमा लिखित प्रतिबद्धता जनाएपछि मात्रै सरकारको समर्थन गर्ने मधेसी दलका नेताहरूको भनाइ छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
‘कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सहभागी हुने कुनै सम्भावना छैन,’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘अहिलेको सरकार मोर्चाका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मातजस्तै हो।’ नयाँ बन्ने सरकारले आफूहरूको मागलाई कसरी लिन्छ, त्यसै आधारमा समर्थन र सरकारमा सहभागिताका विषयमा निधो हुने संघीय समाजवादी फोरमका नेता अशोक राईले बताए।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि तत्काल सरकारमा सहभागी हुने संभावना नरहेका बताए। मधेसी मोर्चासहितको संघीय गठबन्धनका ४१ सांसद छन्।
गठबन्धनले खोजेको प्रतिवद्धता
संघीय गबठन्धनले सरकारका लागि बनेको नयाँ गठबन्धनसँग न्यूनतम चार बुँदामा लिखित प्रतिवद्धता खोजेको छ।
पहिलो मन्त्रिपरिषद् बैठकबाट ११ बुँदे माग सम्बोधनबाहेक मधेश आन्दोलनका मृतकलाई सहिद घोषणा, न्यायिक आयोग गठन, घाईतेको उपचार खर्च निकासा र संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्ने माग रहेको गठबन्धनका नेताहरूको भनाइ छ।