निर्माणाधीन हुलाकी सडक कैलालीमा कटानको उच्च जोखिममा परेको छ। हसुलिया गाविसस्थित भितरिया क्षेत्रमा मोहना नदीले जमिन कटान गर्न थालेपछि हुलाकी सडक पनि जोखिममा परेको हो। हाल हुलाकी सडक र मोहना नदीबीचको दुरी करिब पाँच मिटर मात्रै छ।
मोहना नदीमा आएको बाढीले तीव्र रुपमा कटान गर्न थालेपछि हुलाकी सडक पनि उच्च जोखिममा परेको स्थानीयले बताएका छन्। उनीहरूले कटान रोकथामका लागि कतैबाट पनि पहल नभएको गुनासो गरेका छन्। भितरीयाका स्थानीय राजसमझ चौधरीले मोहना नदीले जमिन कटान गर्न थालेपछि हुलाकी राजमार्ग जोखिममा परेको बताउँदै नदी कटान नियन्त्रणका लागि अझैसम्म कहीँ कतैबाट पहल नभएको गुनासो गरे।
हसुलिया गाविसका सचिव खड्गबहादुर शाहले नयाँ आर्थिक वर्ष भर्खर सुरू भएका कारण कटान समस्याको तत्काल समाधान गर्न नसकिने उल्लेख गर्दै कटानबारे जिल्लाभरिका सरोकारवाला निकायमा जानकारी गराइसकेको बताए।
हुलाकी राजमार्ग कटानको उच्च जोखिममा परे पनि जोगाउने उपाय अपनाउन नसकेर हुलाकी राजमार्ग निर्माण आयोजना पनि मुकदर्शक बनेको छ। बर्खा याममा कटान नियन्त्रणका लागि कुनै पनि काम हुन नसक्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख तुरुन्त मण्डलले बताए। उनले नदीमा तटबन्ध निर्माणका लागि केन्द्रमा पत्र पठाएको उल्लेख गर्दै बजेट नआएको कारण समस्या भएको जानकारी दिए।
भितरिया गाउँको पूर्वतिर रहेको कल्भर्टदेखि एक किलोमिटरसम्म हुलाकी सडक नदी कटानको जोखिममा परेको छ। तत्काल नदी नियन्त्रणका लागि पहल गर्न आवश्यक रहेको स्थानीयले माग गरेका छन् । सो क्षेत्रमा हुलाकी सडक कालोपत्रे भइ पूर्ण रुपमा निर्माण कार्य सम्पन्न भएको छ।
यसअघि, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि कटान क्षेत्रको निरीक्षण गर्दै जिल्लास्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र हुलाकी सडक निर्माण आयोजनालाई कटान नियन्त्रण गर्नका लागि निर्देशन दिएको बताए।