नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन नगराउनका लागि गठबन्धन बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न बाध्य तुल्याएको बताएका छन्।
रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा गरेको साक्षत्कारमा नेमकिपाका अध्यक्ष बिजुक्छेले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन नगर्ने उद्धेश्यसहित सरकार ढालिएको दाबी गरे। उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले यसअगाडि सरकारको नेतृत्व गरिसकेका कारण दुवै नेताबाट आश गर्ने अवस्था नरहेको बताए।
नेमकिपाका अध्यक्ष बिजुक्छेले अब बन्ने नयाँ गठबन्धन सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी नगरे काँग्रेस र माओवादी भारतबाट सञ्चालित भएको पुष्टि हुने दाबी गरे।
उनले नेकपा एमालेले सरकारमा रहँदा सकारात्मक काम गरेको भन्दै उसले प्रतिपक्षको सबल भूमिका निभाए काँग्रेस र माओवादी केन्द्रको अब बन्ने गठबन्धन सरकारले गलत काम गर्न नसक्ने बताए। उहाँले नेमकिपा प्रतिपक्षमा बस्ने पनि बताए।