नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका सल्यान जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लामा रहेका एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले बुधवार बिहान नियन्त्रणमा लिएको हो।
गत जेठ ३० गते कुपिण्डे दह गाविसको जयतपानी र शारदा नगरपालिका–१४ डाँडागाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको विषयलाई लिएर उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
केसीलाई कोरवाङ्ग झिम्पेबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
एनसेल टावर जलाइएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार गाविसका स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्। रासस