फ्रान्समा जारी युरो २०१६ मा बुधबार तीन खेल हुनेछन्।
आज राति हुने खेलमा समूह एका दुई खेल र समूह बीको एक खेल हुनेछ। प्रतियोगितामा कुन टोली कस्ता छन्।
रसिया विरूद्ध स्लोभाकिया
युरो कपको दोस्रो खेलमा रसियाले सन् २०१४ मा स्लोभाकिया विरूद्ध भएको मैत्रीपूर्ण खेल दोहोर्याउने लक्ष्यसहित मैदान उत्रिने भएको छ।
आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्धी इंल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको रसियाले आज स्लोभाकियालाई पन्छाउँदै दोस्रो चरण प्रवेशलाई सहज बनाउने ध्याउन्नमा रहेछन्।
यता बेल्ससँग २-१ ले पराजित स्लोभाकिया प्रतियोगितामा रहिरहन आज रसियाको चुनौती पन्छाउने दाउमा छ।
नेपाली समयः १८: ४५ बजे
हेड टु हेड
अहिलेसम्म यी दुई टोलीबीच दुई पटक प्रतिश्पर्धा भएको छ। दुबै टोलीले समान एक-एक खेलमा जित हात पारेका छन्।
तत्कालिन सोभियत संघ र चेकोस्लोभाकियाले भने एक-एक खेलमा एक अर्कालाई पराजित गरेका छन्।
प्लेयर्स टु वाच
अलेक्सान्ड्रे कोकोरिन
अलेक्सान्ड्रे कोकोरिन रसियाबाट प्रतिनिधित्व गर्दै विदेशी क्लबमा आवद्द भएका सर्वाधिक महंगा खेलाडी हुन्। उनी हाल पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्छन्। रसियाकै राम्रा स्ट्राइकर मानिने कोकोरिनले राष्ट्रिय टोलीबाट ३९ क्याप जितेका छन्। यस क्रममा उनले १२ गोल गरिसकेका छन्।
डुसान स्भेन्टो (स्लोभाकिया)
डुसान स्भेन्टोले सन् २००८ को युरोकपमा उत्कृष्ट एट्याकिङ स्टाइकरको उपाधि जितेका थिए। राष्ट्रिय टोलीबाट ४० क्याप जितेका उनले अहले सम्म एक गोल मात्र गरेका छन्। जर्मन क्लब कोलिनमा आवद्ध डुसान स्लोभाकियाका भरपर्दा खेलाडी मानिन्छन्।
स्विटजरल्याण्डविरूद्ध रोमानिया
पार्क डे प्रिन्समा हुने आजको दोस्रो स्विटजरल्याण्डले रोमानियाको सामना गर्नेछ।
स्विट्जरल्यान्ड लगातार दोस्रो जितसहित समूहचरण पार गर्ने दाउँमा मैदान उत्रने छ भने युरो २०१६मा कायम रहिरहन रोमानिया जितको खोजिमा हुनेछ।
डिमित्री पायटले अन्तिम क्षणमा गरेको निर्णायक गोलले आयोजक फ्रान्सलाई रोमानियाले उद्घाटन खेल १-१ गोको बराबरीमा रोकेको थियो।
यता फावियन स्केरको शक्तिशाली हेडमा १० खेलाडीमा समेटिएको अल्बानियालाई स्विट्जरल्यान्डले १–० ले हराउँदै प्रतियोगितामा सानदार सुरूआत गरेको थियो।
आज जित हात पार्न सके स्विट्जरल्यान्डले समूह ‘ए’बाट अन्तिम १६ मा पुग्ने लगभग निश्चित गर्नेछ। यदि रोमानियासँग हारेमा लिलेमा आइतबार फ्रान्सलाई हराउँनुपर्ने हुन्छ।
हेड टु हेड
रोमानिया र स्विटजरल्याण्डले अहिलेसम्म १२ पटक प्रतिश्पर्धा गरेका छन्। दुबै टोलीमा समान ५-५ खेलमा जित हात पारेका छन्। बाँकी खेल बराबरीमा टुंगिएको थियो। सन् १९९४ को विश्वकपमा रोमानियाले स्विस टोलीलाई ४-१ ले हराउँदै अन्तिम आठमा पुगेको थियो।
प्लेयर टु वाच
राज्भान राट (रोमानिया)
राट रोमानियाका भरपर्दा खेलाडी हुन्। स्पेनिस क्लब रायो भाल्कोनोमा आवद्ध उनले रोमानियाका लागि १११ क्याप जितेका छन्। सन् २००८को युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्षिय उनले राष्ट्रिय टोलीबाट २ गोल मात्र गरेका छन्।
ह्यारिस सेफेरोमिक (स्विटजरल्याण्ड)
ह्यारिस स्विस टोलीका भरपर्दा खेलाडी हुन्। सन् २०१४ मा रोमानिया विरूद्ध नै डेब्यु गरेका उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट ३१ क्याप जितिसकेका छन्।
उनले जर्मन क्लब फ्यांकफर्टमा व्यवसायिक फुटबल खेल्ने गरेका छन्।
फ्रान्सविरूद्ध अल्बानिया
तुलनात्कम रूपमा कमजोर मानिएको अल्बानियाले बुधबार राति युरो २०१६ को आयोजक फ्रान्ससँग प्रतिश्पर्धा गर्दैछ। मार्सेमा हुने समूह ‘ए’को यो भेटमा आयोजकले पहिलो खेलको कमजोरी सुधार्ने प्रयास गर्नेछ।
पहिलो खेलमा रोमानियासँग १-१ गोलको बराबरीमा रोकिएको फ्रान्सका लागि आज अंक जोड्ने अवसर पनि हुनेछ।
यता पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–० ले शनिबार हारेको अल्बानियाका लागि कप्तान लोरिक कानाको अभाव खड्किने छ। स्विसविरूद्धको खेलमा रातो कार्ड पाएर बैदान छोडेपछि उनी यो खेलमा हुनेछैनन्।
फ्रान्सले बुधबार जित हात पार्दै प्रतियोगितामा अन्तिम १६ मा स्थान सुरक्षित गर्न चाहेको छ।
हेड टु हेड
फ्रान्स र अल्बानियाले अहिलेसम्म २ वटा प्रतियोगिता भएका छन्। जसमा अल्बानिया अगाडि छ। पहिलो खेल जितेको उसले दोस्रो खेलमा फ्रान्सलाई बराबरीमा रोकेको थियो।
प्लेयर टु वाच
पाउल पोग्वा
आयोजक फ्रान्सका लागि पोग्वा भरपर्दा मिडफिल्डर हुन्। सन् २०१३ मा जर्जियाविरूद्ध खेल्दा डेब्यु गरेका उनी राष्ट्रिय टोलीबाट ३२ क्याप जित्ने खेलाडी हुन्।
अहिलेसम्म ५ गोल गरेका २३ वर्षिय उनले आफ्नो प्रतिभा अझै निखार्ने छन्।
इरिट बेरिसा
पहिलो पटक युरो कपमा सहभागि भएको अल्बानियाका बेरिसा अल्बानियाका भरपर्दा खेलाडी हुन्। इरानविरूद्ध सन् २०१२ मा राष्ट्रिय टोलीका रूपमा डेब्यु गरेका उनी उत्कृष्ट गोल किपर हुन्।
अहिलेसम्म उनले राष्ट्रिय टोलीबाट ३५ क्याप जितेका छन्।
इटालियन क्लब लाजियोबाट व्यवसायिक फुटबल खेल्ने उनी अल्बानियाका लगातार नम्बर एक गोल किपर हुन्।