भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदलाई बुधबार गरेको सम्वोधन पछि दुई देश बिचको सम्वन्ध नयाँ उचाइमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले टिप्पणी गरेका छन्।
तीन दिने अमेरिका भ्रमणमा रहेका मोदीलाई अमेरिकाले आफ्नो संसदलाई गर्न दिएको सम्वोधनले दुई देश बिच बढेको निकटताका रूपमा अर्थ्याइएको छ।
बुधबार जारी भएको संयुक्त विज्ञप्तिमा अमेरिकाले भारतलाई पहिलो पटक ‘प्रमुख सुरक्षा साझेदार’ देशका रूपमा मान्यता प्रदान गरेको छ।
अमेरिका र भारत बिचको सम्वन्ध पछिल्लो चरणमा आएर निकट हुँदै गएको छ। तीन वर्ष अघि मात्र एक भारतीय कुटनीतिज्ञलाई अमेरिकी प्रहरीले श्रम शोषण र भिसासम्वन्धी मुद्दामा पक्राउ गरेपछि दुई देश विचको सम्वन्ध सम्वन्ध तनावपूर्ण भएको थियो।
मोदी गुजरातका मुख्य मन्त्री हुँदा २००२ मा भएको मुस्लिम नरसंहार रोक्न उनले कुनै कदम नलिएको भन्दै अमेरिकाले उनलाई अमेरिका छिर्न रोक लगाएको थियो।
तर, आज मोदी र अमेरिकाको सम्वन्धले कोल्टे फेरेको छ। बढ्दो चिनियाँ समृद्धि र उसले विश्व भू-राजनीतिमा दिर्घकालिन प्रभाव पार्न शुरू गरेपछि अमेरिकाका निम्ति भारत एक भरपर्दो साझेदारका रूपमा देखिएको छ। एक-अर्कासँग नजिकिनु दुवैले आफ्नो आवश्यकता ठानेका छन्।
दुई वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएदेखि मोदीले अमेरिकी प्रधानमन्त्री बराक ओबामासँग ७ पटक भेट गरिसकेका छन् । यसैगरी ओबामले पनि भारतको दुई पटक भ्रमण गरिसकेका छन्।
भारतलाई अमेरिकी सहयोगमा ३४ देश सदस्य रहेको ‘मिसाइल टेक्नोलोजी कन्ट्रोल रेजिम’को सदस्यता प्राप्त हुने भएको छ। उक्त संस्थामा चीन सदस्य छैन र त्यसका अन्य सदस्यले भारतको सदस्यताका लागि दिएको निवेदन माथि विरोध गरेनन्।
उक्त सदस्यता सँगै भारतलाई आधुनिक प्रविधिका मिसाइल किन्न र बेच्न सजिलो हुनेछ। रसियासँग मिलेर बनाएको ‘सुपरसोनीक’ ब्रह्म्मो भन्ने मिसाइल अन्य देशलाई बेच्न सक्ने भारतीय संचार माध्यमले बताएका छन्।
भारतको मुख्य चाहना ‘न्युक्लियर सप्लायर्स ग्रुप’ को सदस्य बन्नु हो, तर त्यसमा चीनले विरोध गरेकोले भारतको महत्वाकांक्षा पूरा हुन सकेको छैन। तर ‘मिसाइल टेक्नोलोजी कन्ट्रोल रेजिम’को सदस्य बनेपछि चीनले भारतलाई ‘न्युक्लियर सप्लायर्स ग्रुप’ को सदस्यका रुपमा स्वीकार्न दवाव पुग्ने भारतीय संचार माध्यमले बताएका छन्।
भारत र अमेरिका बिच सन् २००९ मा ६० अर्ब अमेरिकी डलर बराबरको ब्यापार २०१५ मा आइपुग्दा १०७ अर्ब डलर पुगिसकेको छ। यसैगरी अमेरिकी कम्पनीले भारतलाई एक दशक अघि सम्म ३० करोड डलर बराबरको सुरक्षा सामग्री बेच्थे तर अहिले आएर उक्त व्यापार १४ अर्ब डलर पुगेको छ।
यसैगरी अमेरिकी कम्पनी वेस्टिङहाउसले भारतमा ६ वटा न्युक्लियर रिएक्टर स्थापना गर्ने छ जसलाई मोदी भ्रमणको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ। यसले भारतको खनिज इन्धन माथिको निर्भरता हटाउने छ।
मोदीको अर्को उपलब्धि भनेको भारतमा अमेरिकी लगानी पनि हो। ‘युएस-इन्डिया बिजनेस काउन्सिल’ले अबको केही वर्ष भित्रै ४५ अर्ब अमेरिकी डलर बराबर लगानी गर्ने बताएको छ। काउन्सिलले विगत दुई वर्षमा २८ अर्ब डलर भारतमा लगानी गरेको थियो।