जिमेलको इन्बक्समा एउटा इमेल आयो। जहा लेखिएको थियो – ओके। सो ओन्ली स्लाइट्ली फन्नी फिलिङ माइ वाटर बोटल विथ स्कच। सेक्युरिटी डिडन्ट इभन चेक। सुरक्षाकर्मीले आफुले पानीको बोतलमा रक्सी भरेर लादा सुइकोसम्म नपाएको कुरा व्यक्त गरिएको थियो। साथै सुरक्षा जाँचको मजाक पनि उडाइएको थियो। यो इमेल म लगायत अरु ६ जनालाई पनि पठाइएको थियो। नेपाल भ्रमण सकेर केही घण्टाअघि एयरपोर्ट प्रस्थान गरेका विदेशी जो नेपाल भ्रमणका क्रममा मसँग साथी बनेका थिए। उनैले यो समाचार साथी ठानेर विश्वासले बाँडेका थिए।
इमेल सम्प्रेषकको यो तरिका मलाई राम्रो लागेन, यदि उनलाई नेपाली रक्सी मन परेको हुँदो हो त उनले ड्युटी फ्रीबाट किनेर नियमले तोकेको परिणाम सानदारसँग लानुपथ्र्यो। संवेदनशील क्षेत्रमा त्यस्तो हर्कत गरेकोमा मैले उनको इमेलको उत्तर ‘यू क्रेजी’ भनेर टारे। ह्याण्ड क्यारी वा लगेज केमा उनले यो तरिका अपनाए मलाई सोध्न पनि मन लागेन तर पनि उनको इमेललाई विश्वास गर्दा उनले पानीको बोतलमा रक्सी भरेर ह्याण्डक्यारीमा लगेको जस्तो लाग्यो, उनले यात्रा अवधिभर पिउदै जाने उद्देश्यले यो जोखिम मोलेको हुनुपर्छ। उनले जान्दा जान्दै पनि नजाने जसरी लगे। यदि त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा यो पर्दाफास भएको भए उनले आफूलाई जानकारी नभएको भनेर पन्छिन्थे होलान् तर उनी लान सफल भए र खुसीको इमेल बाँडे। आजकल विदेशीहरु सुरुमा गल्ती गर्ने अनि त्यसो भनेर उम्कने रणनीति प्रयोग गर्छन्।
आजसम्म म संसारका अत्यन्त विकसित र अविकसित मुलुकका जुन जुन एयरपोर्टमा पुगें पानी भरेको बोतल मैले सेक्युरिटी पार गरेर लगेको छैन र अरु यात्रीहरुले पनि लगेको देखेको छैन। पानी, जुस लगायतका पेय पदार्थ एयरपोर्टको सेक्युरिटी जाँचमा जब पुगिन्छ, अधिकारीले कि पानी लगायत पेय पदार्थका बोतल डस्विनमा फाल्न लगाउँछन् कि पानी पिएर रित्तो बोतल आफूसँग लैजान अनुमति दिन्छन्।
हवाई यात्रुले पानी भनेर अन्य रसायनिक पदार्थ लान सक्ने र पछि त्यसलाई विस्फोटक पदार्थमा सजिलै रुपान्तरण गर्न सक्ने कारणले एयरपोर्टले सुरक्षा जाँचमा पानी सहितका अन्य झोल पदार्थ लान निषेध गरेका हुन्छन्। टुथपेष्ट, स्याम्फु लगायतका लिक्युइडमा पनि सक्दो रोकथाम लगाउँछन् ह्याण्डक्यारीमा, सुरक्षाको दृष्टिले यो राम्रो पनि हो।
मेरो विदेशी साथीले भने पानीको नाममा रक्सी हालेर एयरपोर्टको सेक्युरिटी पार गरेको देखिन्छ। उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जाँचलाई झुक्याएर आफ्नो इच्छा पुरा गर्न सफल बनेका छन्। हामी अतिथि देवो भवः मा एक इन्च पछि हटेका छैनौं तर पर्यटकहरु जथाभावी ड्रोन उडाउने, राजनीतिक नारा जुलुसमा सहभागी भएर खुलेआम हिँड्ने, निषेधित क्षेत्रका पदयात्रामा विना अनुमति जाने, एयरपोर्टमा जिस्किने जस्ता काम गरिरहेका छन्। यी राम्रा कुरा होइनन् नेपालले उनीहरुलाई सम्मान गरेको छ त उनीहरुले पनि सम्मानले हेर्नुपर्दछ नेपाललाई।
अब एयरपोर्टको कुरा गरौं – त्रिभुवन विमानस्थल नेपालको परिचय हो। यसले आधा शताब्दी काटिसकेको छ। त्यो समय जतिखेर नेपालको हवाई यात्राको सानो बजार थियो आज त्यो छैन, पचासौं वर्ष पुरानो संरचनाले हालको व्यस्तता थेगिरहेको छ। २०१४ र २०१५ मा गरिएको विश्वभरिका एयरपोर्टको सर्वेक्षण रिपोर्टअनुसार त्रिभुवन विमानस्थल विश्वमा सबैभन्दा खराब १० एयरपोर्टमध्ये तेस्रो नम्बरमा छ। तुलनात्मक रुपले हेर्दा नजिकैको सानो देश भुटान र ठूलो देश भारतका कुनै एयरपोर्ट खराब १० नम्बरमा परेका छैनन्।
स्लीपिङ इन एरपोर्ट भन्ने साइटले त्रिभुवन विमानस्थललाई तेस्रो खराब एरपोर्टको संज्ञा दिएको छ।
त्रिभुवन विमानस्थल जहाज अपहरण, लागुऔषध तस्करीका साथै मानव तस्करीको पनि अखडा बनिरहेको छ। साउथ अमेरिकाबाट युरोप लाने लागुऔषध नेपालका बाटो हँुदै जाने यथेष्ट प्रमाण भेटिएका छन्। काठमाडौंबाट उड्ने यात्रुहरु सुरक्षित छैनन्, न त जहाजहरु नै सुरक्षित छन्। त्यसै भएर होला भारतीय जहाज कम्पनीले नेपालको सुरक्षा जाँचमा विश्वास नलागेर उनीहरुले जहाजको ढोकामा पस्ने बेला पुनः उनकै कर्मचारीले एकपटक भारत उड्ने यात्रुका जिउमा खानतलासी गर्दछन्। के हाम्रो सुरक्षा त्यति कमजोर भएकै हो त?
त्रिभुवन विमानस्थलमा जहाजको बोर्डिङ्ग पास लिएपछि अध्यागमनको डिपार्चर छाप हान्नको लागि तीन वटा लाइन बनाइएको छ।
विदेशी पर्यटकको लागि, नेपाली पर्यटक वा गैरकामदारका लागि र खाडी मुलुक अन्तर्गतका विभिन्न गन्तव्यमा काम गर्न जाने कामदार यात्रुको लागि।
सरसर्ती हेर्दा पहिलो र दोस्रो लाइन छिटो सर्छ तर तेस्रो लाइन अत्यन्त ढिलो सरेको देखिन्छ। उता जहाजले उडानको घण्टी बजाउन थाल्छ यता अरब मलेसिया जाने कामदार यात्रुलाई पासपोर्टमा डिपार्चर छाप हान्न धौ धौ परेको हुन्छ। म धेरैचोटी यात्रा गर्दा एयरलाइन्सका कर्मचारी यात्रुलाई खोज्दै हिँड्नुपर्ने र कर्मचारीको एयरपोर्ट व्यवस्थापनको कारणले भएको ढिलाइको मार निर्दोष कामदार यात्रुले खानु पर्ने गरेको देखेको छु। पर्यटकलाई छुट्टै लाइन बनाउनु राम्रो छ तर विकसित देश जाने, घुमफिर गर्न जाने नेपाली र अरब मलेसिया काम गर्न जाने कामदार यात्रुको लागि ठूलो विभेद गरिएको छ एयरपोर्टमा दुईखाले लाइन बनाएर। यसको अतिरिक्त डिपार्चर फर्म भर्न कति कामदार यात्रुले नसकेर अरु यात्रुसँग सहयोगको हात मागिरहेका हुन्छन्। राज्यले आफ्नो नागरिकको हैसियत राम्रोसँग बुझेको छ, दिनहुँ हजारौंको संख्यामा नेपाली कामदार बाहिर जान्छन्, यिनैको पैसाले देशको अर्थतन्त्र धानेको छ। तर एयरपोर्टका अधिकारीबाट उनीहरुलाई एयरपोर्टमा सहयोग हुने खालका काम गरिएका छैनन्।
नेपालको एयरपोर्टमा वैध भिसा टिकट लिएर जाँदा पनि विमान कर्मचारी वा अध्यागमनका कर्मचारीको कहिल्यै मिठो स्वागत र सहयोग म आफंैले पाएको छैन। विदेश जाने र आउने यात्रुलाई डिपार्चर र एराइभल काउण्टरमा एउटा अपराधीलाई झैं रुखो तवरमा प्रश्न गरिन्छ। कहाँ जाने? कति बस्ने ? किन जाने ? अरु कति कति। यसको भित्री कारण सकारात्मक सोचले गरिएको जस्तो पनि देखिदैँन। यसको सत्य अर्थ त्यहा काम गर्ने ब्यूरोक्रेसीलाई थाहा होला वा ओहोरदोहर गर्नेलाई।
पोहोर म र मेरी श्रीमती मलेसियासम्म उड्दा एउटा विमान कम्पनीमा कारिन्दाले टिआइएको काउण्टरमा निकै ¥याक गरे। कारण थियो मेरी जहानको पासपोर्टमा उनले भनेजति अमेरिकन डलर स्ट्याम्प नहुनु। मैले आफ्नो क्रेडिट कार्ड भएको र यात्रामा दुवैको खर्च सोही कार्डले गर्ने कुरा राखें। तर उनले उनको माथिको नियम भनेर आधा घण्टा फोकडमा रोके। कति कुराको नियम भए पनि व्यवहारिकतामा ती लागु हुँदैनन्। पछिल्लो समय भिसा लगाइएको पासपोर्टको म्याद सकिएकोले नयाँ पासपोर्टमा यात्रा गर्दा पुरानो भिसा नयाँमा स्थानान्तरण गरेर आउनुस् भने अर्को विमान कम्पनीका कर्मचारीले, अब संसारमा गर्ने नपर्ने कुरा गर्न म कुन दूतावास जाऊँ? उनले बुझी बुझी नबुझेझैं गरी मलाई दुःख दिने प्रयास गरे।
विदेश जानेलाई आफ्ना परिवार, साथीभाईले राम्रोसँग विदा गर्न पाउँदैनन्। तल रिङ्गरोड छेउको गेटमै रोकिन्छ, मुस्किलले ड्युटीमा खटिएका प्रहरीलाई अनुनय विनय गरेर १–२ जना जान दिइन्छ। तर एयरपोर्ट भरी नै अनावश्यक मान्छे सलबलाइरहेका देखिन्छन्। यस्ता कति अनावश्यक मान्छेको जमात पर्यटकका ट्रली गुडाउन सहयोग गरेजस्तो नाटक गर्ने, जबरजस्ती तान्ने र रकम जबरजस्ती असुल्ने काममा संलग्न छन्। यी ट्यापे र मुन्द्रेको कारणले पर्यटकमा पहिलो गासमा नै ढुङ्गा भने जस्तै नेपाल टच गर्नासाथ सुरुमै अति नराम्रो सन्देश गएको छ। यो पर्यटन व्यवसायी र सरोकारवालालाई थाहा छ तर त्यहाँ परिचालित सुरक्षाकर्मीको सहयोग भएर हो या के हो यो नराम्रो प्रथा घट्नुको साटो बढ्दो छ। यो नेपालको दुर्भाग्य हो।
अहिले देशमा काठमाडौं–निजगढ फास्ट्रयाक र ठूला जलविद्युत नेपालीले बनाउन सक्छन् कि सक्दैनन्, विदेशीलाई दिने कि हामी आफैंले बनाउने भन्ने बौद्धिक सर्कलमा तीब्र बहस चलेको छ तर हामीसँग भइरहेका यस्तै महत्वका क्षेत्रको सञ्चालन र व्यवस्थापन के सन्तोषजनक छ त ? उदाहरणको लागि त्रिभुवन विमानस्थललाई नै लिन सकिन्छ। नेपाल एयरलाइन्स, अन्य धेरै छन्।
एयरपोर्ट अत्यन्त संवेदनशील क्षेत्र हो। नेपालको अन्य सरकारी कार्यालयको कामकाज जसरी एयरपोर्टलाई लिनु हुन्न। दक्ष कर्मचारी र समय अनुसारको टेक्नोलोजीमा जानु पर्दछ। हामीलाई थाहा छ हाम्रै एयरपोर्टको सानो कमजोरीले विगतमा काठमाडौंबाट भारतको नयाँ दिल्ली उडेको एयर इन्डियाको फ्लाइट ८१४ को विमान अपहरणमा परेर अफगानिस्तानको कान्दाहर पुगेको थियो।