कार्यकर्ता रिहाईको माग राखेर मेची अन्चल बन्द आव्हान गरेको नेत्र बिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा माओवादीले गरेको मेची बन्दमा कुनै प्रभाव देखिएको छैन। झापाको पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा निर्वाध यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
बजार, करकारखाना, उद्योग, विद्यालय पनि सञ्चालनमा आएको प्रहरीले बताएको छ। घोषित बन्दले कुनै असर नगरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता समेत रहेका डिएसपी हरिप्रसाद शर्माले सेतोपाटीलाई बताए।
मेची अञ्चलका सबै बजार बिहानैदेखि खुलेका छन्। झापा सदरमुकाम चन्द्रगढी, ईलाम सदरमुकाम ईलाम, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदरमुकाम फुंलिङका बजार बिहानैदेखि खुलेको प्रहरीले जानकारी दिएको छ।
राजमार्ग र बजारमा बन्दकर्ता देखिएका छैनन्। झापाको काकडभिट्टा, भद्रपुर, बुधबारे, गौरीगञ्जबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन बिहानैदेखि निर्वाध सञ्चालनमा आएको डिएसपी शर्माले बताए।
आन्दोलनका क्रममा काठमाडौंमा प्रहरी गिरफ्तारमा परेका कार्यकर्ताको निःशर्त रिहाईको माग राखेर शुक्रबार मेची अञ्चल बन्दको आव्हान गरेको सो पार्टीका झापा प्रवक्ता सुमनसिंह पौडेलले सेतोपाटीलाई बताए।