विभिन्न टुक्रामा विभक्त भएका माओवादी घटकले इतिहासमै सबैभन्दा ठूलो केन्द्रीय समिति बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने भएका छन्।
बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी रहेको एकीकृत नेकपा (माओवादी), नेकपा क्रान्तिकारी (माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त केन्द्रीय समितिको बैठक बसको छ।
एमाओवादी काठमाडौँका अध्यक्ष हिमाल शर्माका अनुसार एकता प्रक्रियालाई भव्य र व्यवस्थित बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।
एकता प्रक्रियामा सामान्य असहमति राख्दै आएका नेकपा (माओवादी) का संयोजक मातृका यादव पनि एकता प्रक्रियामा आउन तयार भएका छन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादीका संयोजक यादवबीच आज बिहान भएको संयुक्त बैठकपछि उनी पनि एकताको लागि तयार भएका हुन्।
सबै माओवादी घटकको संयुक्त बैठक बसिरहेको र एकता प्रक्रियालाई टुङ्गो लगाउने तयारी गरिएको छ। बैठकपछि आजै अपराह्न ३ बजे संयुक्त एकता घोषणा सभाको आयोजना गरिने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।
बुधबार साँझ बसेको एकता संयोजन समितिको बैठकले एमाओवादी अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको थियो। सोही प्रतिवेदनका आधारमा साङ्गठनिक विषयलाई टुङ्गो लगाइने र आज घोषणा गरिने छ।
यस्तै रामबहादुर थापाले प्रस्तुत गरेको पार्टीको अन्तरिम विधानलाई पनि छलफलपछि पारित गरिने छ। एकता प्रक्रियामा नेत्रविक्रम चन्दको माओवादीबाट पनि एक दर्जन बढी केन्द्रीय सदस्य सहभागी हुने जनाइएको छ भने नयाँ शक्तिमा लागेकाहरु समेत एकता प्रक्रियामा सहभागी हुने एमाओवादीले जानकारी दिएको छ। रासस