बर्दिबास क्षेत्रमा फेला परेको भूकम्पीय दरारबाट कोइला झिक्दै फ्रेन्च भूगर्भविद् पल ट्यापोनियर (बायाँ) र भुइँचालोले पारेका दरार खोज्दै अमेरिकी, जापानी तथा नेपाली भूगर्भविद् (दायाँ)। तस्बिर सौजन्य : अर्थ अब्जर्भेटरी अफ सिंगापुर र दीपक चाम्लागाइँ
काठमाडौं उपत्यकाको माटोमा एउटा खास विशेषता छ– यसले ठूलो भुइँचालो जाँदा एक किसिमको गुण देखाउँछ भने सानो भुइँचालो जाँदा अर्कै किसिमको।
पाँच म्याग्निच्युडभन्दा ठूलो भुइँचालो जाँदा यहाँको माटोले नै ‘भुइँचालो प्रतिरोधक’ व्यवहार देखाउने भूगर्भ वैज्ञानिक डा. दीपक चाम्लागाइँको निष्कर्ष छ।
‘काठमाडौं उपत्यकाको माटोमा ठूलो भुइँचालो जाँदा त्यसको तरंगको शक्ति सोस्ने गुण छ। यसरी माटोले भुइँचालो तरंग सोसेपछि जमिनको हल्लिने दर (प्रवेग) ह्वात्तै घट्छ,’ उनले भने।
डा. चाम्लागाइँ खानी तथा भूगर्भ विभागद्वारा आयोजित दुईदिने अन्तर्राष्ट्रिय कार्यशालाको दोस्रो दिन सोमबार ‘गोरखा भुइँचालोको सन्दर्भमा काठमाडौं उपत्यकाको माटोको विशेषता’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै थिए। कार्यशालामा ५८ कार्यपत्रमाथि छलफल भयो।
‘काठमाडौं उपत्यका जति हल्लिनुपर्ने थियो, त्यति हल्लिएन। उपत्यका वरिपरिको चट्टान हल्लियो, बीचको भाग हल्लिएन,’ त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्रध्यापक चाम्लाइँले आफ्नो अनुसन्धान–निष्कर्ष प्रस्ट्याउँदै सेतोपाटीसँग भने, ‘जमिन नहल्लिनुको कारण यहाँको माटोले भुइँचालो तरंग आउँदा कसरी प्रतिक्रिया जनायो भन्ने हो।’
[ad_banner left]त्यस्तो प्रतिक्रिया थाहा पाउन उपत्यकाका ४० भन्दा बढी ठाउँबाट माटोको नमूना संकलन गरेर भुइँचालो आउँदा देखिने परिवर्तन अनुसन्धान गरेको उनले बताए।
‘यहाँको माटोमा अलग्गै विशेषता रहेछ। यसमा भुइँचालो तरंगको शक्ति सोस्ने क्षमता छ। यहाँको माटोमा छिर्नेबित्तिकै त्यसको शक्ति घट्छ। शक्ति घटेपछि भुइँचालो तरंगले जमिनको सतह जति हल्लाउनुपर्ने हो त्यति हल्लाउन सक्दैन,’ उनले भने।
उनका अनुसार काठमाडौंको माटोले दुई अवस्थामा अलग–अलगै व्यवहार देखाउँछ।
भूगर्भविद् दीपक चाम्लागाइँ आफ्ना विद्यार्थीसँग। तस्बिर : सुदीप श्रेष्ठ/सेतोपाटी
पहिलो, पाँच म्याग्निच्युडभन्दा सानो भुइँचालो गयो भने यहाँको माटोले ‘लिनियर’ प्रतिक्रिया देखाउँछ। भन्नुको मतलब, यस्तो अवस्थामा माटोले भुइँचालो तरंगको शक्ति सोस्दैन, उल्टो बढाइदिन्छ। यसले जमिन हल्लिने दर पनि बढ्छ। तर, पाँच म्याग्निच्युडभन्दा कम भुइँचालोमा जमिनलाई हल्लाउने शक्ति नै कम हुन्छ।
दोस्रो, पाँच म्याग्निच्युडभन्दा जतिसुकै ठूलो भुइँचालो जाँदा पनि यसले ‘नन–लिनियर’ प्रतिक्रिया देखाउँछ। भन्नुको मतलब, यस्तो अवस्थामा माटोले भुइँचालो तरंगको शक्ति सोस्छ र जमिन हल्लिने दर ह्वात्तै घट्छ।
वैशाख १२ को गोरखा भुइँचालोले काठमाडौं उपत्यकामा धेरैले सोचेभन्दा कम क्षति पुग्नुमा माटोको यो विशेषता एउटा मुख्य कारण रहेको डा. चाम्लागाइँको निष्कर्ष छ।
‘जाइकाको सन् २००२ को रिपोर्टमा यत्रो भुइँचालो जाँदा काठमाडौं ध्वस्तै हुन्छ भनिएको थियो। त्यसो भएन। यसको कारण के भने, जुन तरिकाले प्रकोप मूल्यांकन गरिएको थियो, त्यसका लागि पर्याप्त तथ्यांक उपलब्ध थिएन,’ उनले भने।
‘गोरखा भुइँचालो गइसकेपछि हामीसँग थरीथरीका तथ्यांक छन्। कुन बेला यहाँको जमिन कसरी हल्लियो, कुन ठाउँमा बढी हल्लियो जस्ता सबै कोणका तथ्यांक उपलब्ध छन्।’
भुइँचालोसम्बन्धी यी तथ्यांकले नै काठमाडौं उपत्यकाको यस्तो विशेषता संकेत गरेको थियो। अन्य वैज्ञानिकहरूले समेत यहाँ भुइँचालोले ‘नन–लिनियर’ प्रभाव पार्छ भन्दै आएका थिए। माटोको गुण परीक्षण गरेर वैज्ञानिक रूपमा पुष्टि भने हुन सकेको थिएन। चाम्लागाइँ र उनको टोलीले पहिलोपटक यस्तो परीक्षण गरी वैज्ञानिक निष्कर्ष निकालेका हुन्। उनी यो निष्कर्षसहितको प्रतिवेदन जर्नलमा प्रकाशित गर्ने क्रममा छन्।
काठमाडौंको माटोले किन यस्तो गुण देखायो त?
माटोको एउटा चक्रीय गति हुन्छ। ठाउँअनुसार यो गति फरक हुन्छ। यसका लागि माटोमा रहेका कसिना कण कसरी चल्छन् भनी हेर्नुपर्छ।
चाम्लागाइँले यसलाई व्याख्या गर्दै भने, ‘ठूलो म्याग्निच्युडको भुइँचालो जाँदा यहाँको माटोका कणमा बढी तनाव उत्पन्न हुन्छ। सानो जाँदा कम तनाव उत्पन्न हुन्छ। बढी तनाव उत्पन्न हुनेबित्तिकै त्यसले माटोलाई कठोर बनाइदिन्छ। अर्थात्, माटोमा भुइँचालो तरंग सोस्ने शक्ति ह्वात्तै बढाइदिन्छ।’
भुइँचालोले पुर्याउने भौतिक क्षतिमा माटोको यो शक्ति एउटा मुख्य कारण हो, तर यो मात्रै कारण होइन। यसमा जमिनको भौगोलिक अवस्थादेखि घरको संरचना कत्तिको सुरक्षित छ भन्नेसम्म पर्छन्।
सबभन्दा महत्वपूर्ण कुरा त सुरक्षित निर्माण नै हो। ‘काठमाडौंको माटोमा यस्तो शक्ति त १९९० सालको भुइँचालो जाँदा पनि थियो। त्यतिखेर धेरै घर भत्किए। यसको कारण, त्यतिबेला घरको संरचना अहिलेभन्दा कमजोर थियो,’ उनले भने, ‘बलियो र भूकम्प प्रतिरोधक घर बनाउनु नै भुइँचालोबाट बच्ने सबभन्दा प्रभावकारी बाटो हो।’
‘जमिनको भौगोलिक अवस्थाले पनि प्रभाव पार्छ, डाँडामाथि कम्पन बढी हुन्छ। भक्तपुर, साँखुमा बढी क्षति हुनुको कारण यही हो,’ उनले भने।
काठमाडौं उपत्यकाका केही ठाउँमा भुइँचालो जाँदा ‘तरलीकरण’ को सम्भावना पनि देखिएको उनले बताए। भुइँचालोपछि जमिनको सतहमा भएका संरचना पानीमा तैरिएजस्तो हुने अवस्थालाई ‘तरलीकरण’ भनिन्छ। पांगो माटो भएको ठाउँमा यस्तो जोखिम बढी हुन्छ। बाग्डोल, बालाजु, गोंगबु, इमाडोलमा तरलीकरणको सम्भावना बढी पाइएको चाम्लागाइँले बताए। सीतापाइला, टौदह, इमाडोल, फुकुनेपाटी (भक्तपुर) मा गत वैशाख १२ गते तरलीकरणको अवस्था देखिएको थियो।
कसरी गरियो अनुसन्धान ?
डा. चाम्लागाइँले यो अनुसन्धानका लागि यहाँको माटोको नमूना इटालीको रोम लगेर परीक्षण गराएका थिए। यस्तो जाँचको प्रविधि नेपालमा छैन।
उनी नेपालको माटो परीक्षण विधि नै गलत भएको बताउँछन्। ‘हामी ३० किलोको भारी बोकेर उभिरहन सकौंला, तर २० किलो बोकेर दौडन गाह्रै पर्छ। माटोको गुण भनेको हाम्रो शरीरको जस्तै हो। स्थिर अवस्थामा यसको एउटा क्षमता हुन्छ भने गतिशील अवस्थामा अर्कै। भन्नुको मतलब, भुइँचालोले हल्लाउँदा माटोले एकथरी व्यवहार गर्छ भने नहल्लाउँदा अर्कोथरी। माटोको सही गुण थाहा पाउन दुवै अवस्थामा परीक्षण गर्नुपर्छ। हामीले यो अनुसन्धान क्रममा त्यही गर्यौं,’ उनले भने।
चाम्लागाइँको अनुसन्धान वैशाख १२ को भुइँचालोअघि नै सुरु भइसकेको थियो। त्यतिबेला उनले गतिशील अवस्थामा माटोको गुण जाँच्न कृत्रिम कम्पन पठाउने गरेका थिए। भुइँचालो गइसकेपछि त्यसलाई निरन्तरता दिन सजिलो भयो। वैशाख १२ पछिका पराकम्प क्रममा प्राकृतिक रूपमै माटोको गुण जाँच्ने मौका मिलेको उनले बताए।
नेपालजस्तो भूकम्पीय जोखिम बढी भएको देशमा सुरक्षित निर्माणका लागि यस किसिमको माटोको परीक्षण अनिवार्य गर्नुपर्नेमा उनको जोड छ।
‘सामान्य घरका लागि हैन, तर अग्ला घर र ठुल्ठूला भौतिक संरचना निर्माण गर्न माटोको स्थिर र गतिशील दुवै अवस्थाको गुण जाँच्नुपर्छ,’ उनले भने, ‘यसले भुइँचालो प्रतिरोधक निर्माण गर्न सहयोग गर्छ।’
‘माइक्रो–ट्रेमर’ सर्वेक्षण
काठमाडौं उपत्यकाभित्र कुन ठाउँको माटोमा भुइँचालोको धक्का सहने क्षमता बढी छ र कुन ठाउँमा कम छ पत्ता लगाउन चाम्लागाइँ ‘माइक्रोट्रेमर’ सर्वेक्षणमा पनि जुटेका छन्। त्रिभुवन विश्वविद्यालय र थाइल्यान्डको थामासाट विश्वविद्यालयको यो संयुक्त अनुसन्धानमा चाम्लागाइँलाई उनकै विद्यार्थीको सहयोग छ।
‘काठमाडौं उपत्यकाभित्र आवासीय घर तथा अग्ला व्यापारिक कम्प्लेक्स बनाउन माटोको गुणस्तर परीक्षण गर्नु अनुसन्धानको उद्देश्य हो,’ चाम्लागाइँले भने, ‘यसका लागि हामी जमिनमुनि भुइँचालो तरंग कसरी प्रवाह हुन्छ भनी वैज्ञानिक रूपमा मापन गर्छौं।’
माइक्रो–ट्रेमर सर्वेक्षण क्रममा जमिनको तरंग नाप्ने उपकरण बिछ्याइन्छ। यसले जमिन हल्लिँदा सतहभन्दा एक हजार मिटर मुनिसम्म तरंगको गति (भेलोसिटी) मापन गर्छ। चट्टान भएको ठाउँमा गति बढी हुन्छ, कमलो माटो छ भने कम। गति जति बढी भयो, माटो उति राम्रो छ भन्ने देखिन्छ।
काठमाडौं उपत्यकामा माटोको गुणस्तर परीक्षणमा जुटेको ‘माइक्रो–ट्रेमर’ सर्वेक्षण टोली। तस्बिर सौजन्य : दीपक चाम्लागाइँ
काठमाडौंका ४३ ठाउँमा गरिएको यो सर्वेको तथ्यांक विश्लेषण बाँकी छ। चारवटा ठाउँको तथ्यांक उनले सोमबार कार्यपत्र प्रस्तुति क्रममा देखाएका थिए। एउटा नमूना औसत देखियो भने बाँकी नराम्रो। माटोको अवस्था नराम्रो छ भने पनि त्यसलाई राम्रो बनाउन सकिन्छ। अर्को खालको माटो थपेर वा बालुवाको मात्रा बेसी छ भने कालो माटो थपेर सुधार गर्न सकिने उनले बताए।
‘माटोको गुणस्तर जाँचेर घरको इन्जिनियरिङ निर्धारण गरे भुइँचालोको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ,’ चाम्लागाइँले भने, ‘हाम्रो अनुसन्धानको उद्देश्य यही हो।’
यो पनि हेर्नुहोस्