१८औँ सार्क शिखर सम्मेलनका दौरान काठमाडौंका मुख्य सडकमा जडान गरिएका सौर्यबत्ती बल्न छाडेका छन्। डेढ वर्ष नहुँदै बत्ती बल्न छाडेका वेला राजधानी काठमाडौंका सडकमा थप साढे सात हजार बत्ती बाल्ने तयारी भइरहेको छ। तर, यसलाई सर्वसाधारणले संशयको दृष्टिले हेरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
१८औँ सार्कका वेला विद्युत् प्राधिकरणले घन्टाघर, रत्नपार्क, भृकुटीमण्डप सडकखण्ड हुँदै भद्रकाली, सिंहदरबार हुँदै माइतीघर मण्डला सडकखण्ड, माइतीघरदेखि थापाथली हुँदै त्रिपुरेश्वर र सुन्धारासम्म सौर्यबत्ती जडान गरेको थियो।
माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तिनकुने खण्ड, तीनकुनेदेखि एयरपोर्ट हुँदै गौशाला खण्डमा पनि प्राधिकरणले नै सौर्यबत्ती राखेको थियो। पुरानो बसपार्क आसपासका क्षेत्र, न्युरोडदेखि हनुमानढोकासम्मको सडक क्षेत्र, धरहरा आसपासका क्षेत्र, केशरमहलदेखि पानीपोखरी हुँदै शीतलनिवास र शीतलनिवासदेखि महाराजगन्ज सडकखण्डमा भने महानगरपालिकाले सौर्यबत्ती राखेको थियो।
९ करोडको बत्ती डेढ वर्षमै बिग्रिदै
धुलो र मर्मतको अभावमा अहिले सडकमा रहेका सौर्यबत्ती बल्न छाडेका हुन्। काठमाडौं महानगरपालिकाका अनुसार अहिले पाँच सयभन्दा धेरै सौर्यबत्ती बल्न छाडेका छन्। सार्क सम्मेलनअघि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले नौ करोड रुपैयाँभन्दा धेरै खर्च गरेर मुख्य सडकमा सौर्यबत्ती जडान गरेका थिए।