होली पर्वका दिन भर्याङबाट झरेर हातमा चोट लागेका एक वृद्धको उपचारका क्रममा निधन भएको विषयलाई लिएर पाटन अस्पतालमा तनाव भएको छ ।
ललितपुरको लगनखेलका ७२ वर्षिय राम पूजारीको उपचारका क्रममा निधन भएको विषयलाई लिएर शनिबार पाटन अस्पतालमा तनाव भएको हो । आफन्तजनहरुले चिकित्सकहरुको लापर्वाहीका कारण पूजारीको निधन भएको भन्दै उपचारमा संलग्न चिकित्सकमाथि कारवाहीको माग गरेका छन् ।
होली पर्वका दिन मादक पदार्थ सेवन गरेका पूजारी विहान करिब ११ बजेतिर घरको भर्याङबाट खसेका थिए । लगत्तै कान्छा छोरा उमेशले पाटन अस्पतालको आकस्मिक कक्षमा लगेका थिए । उमेशका अनुसार आकस्मिक कक्षमा रहेका चिकित्सकहरुले चोट लागेको हातको एक्स रे गरेपछि खासै समस्या नरहेको भन्दै वृद्ध पूजारीलाई पेन किलर र निदाउने औषधी दिएका थिए । त्यहि पेनकिलर र निदाउने औषधीको असरका कारण आफ्ना पिताको निधन भएको भन्दै उमेशले आफन्तजनहरुलाई लिएर अस्पताल पुगी दोषी चिकित्सकमाथि कारवाहीको माग गरेका छन् ।
होलीका दिन भर्याङबाट खसी घाइते भएका ७२ वर्षिय पूजारीको आइसियुमा राखेर उपचार गरिरहेको अवस्थामा शनिबार विहान मृत्यु भएको हो । मृतक पूजारी पाटन अस्पताल सुधार समितिका पूर्व सदस्य समेत हुन् । उपचारमा लापर्वाहीका कारण मृत्यु भएको भन्ने पूजारीका आफन्तजनहरुको आरोपका बारेमा अस्पताल प्रशासनले भने प्रतिक्रिया दिन मानेन ।