इंग्लिस प्रिमियर लिगमा लिभरपुलका फरवार्ड मोहमद सलाहले सय गोल पूरा गरेका छन्।
आइतबार राति लिड्स युनाइटेडलाई लिभरपुलले ३-० गोलले हराएको खेलमा सलाहले प्रिमियर लिगमा सयौं गोल गरेका हुन्।
उनले खेलको २०औं मिनेटमा गोल गरे। अलेक्जान्डर अर्नोल्डको पासमा उनले गोल गरेका थिए।
लिभरपुलका लागि थप गोल फाबिन्होले ५० र साडियो मानेले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गरे।
सलाह सन् २०१७ मा रोमाबाट लिभरपुलमा आबद्ध भएका थिए। त्यसयता उनले लिभरपुलबाट १४९ खेलबाट ९८ गोल गरिसकेका छन्। सन् २०१४ र २०१५ मा चेल्सीबाट १३ खेल खेल्दा उनले २ गोल गरेका थिए।
सलाहले प्रिमियर लिगमा सयौं गोल गरेको खेलमा जित हात पारेसँगै लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
लिभरपुलले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको चेल्सी र शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको पनि समान १०-१० अंक छ।