अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग २०७५ को प्राविधिक प्रतिवेदन तथा तथ्याङ्कको सार्वजनिक गरेको छ।
एन्फाले लिग सकिएको तीन महिनापछि प्रतिवेदन र तथ्याङ्क शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
गत फागुन पहिलो साता सकिएको लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्माले प्रतिवेदन सार्वजनिक गरे।
प्राविधिक समितिका प्रमुख तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहका अनुसार प्रतिवेदनमा ए डिभिजन लिग २०७५ को विश्लेषण गरिएको छ। यस्तै सबै क्लबको इतिहास समावेश गरिएको छ।
सिजनको लिग खेलेका खेलाडीको सबै पक्षको तथ्याङ्क पनि प्रतिवेदनमा छ। यस्तै प्रत्येक क्लबले खेल्ने शैली पनि प्रतिवेदनले समेटेको छ।
यस्तो प्रतिवेदन दक्षिण एसियाकै पहिलो भएको अध्यक्ष शेर्पाको दाबी छ।