अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिन बनाउन नहुने बताएका छन्।
सरकारले कोरोना भाइरसको संक्रमण खतरा न्यूनिकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने चर्चा चलेपछि अध्यक्ष शेर्पाले त्यसलाई नराम्रो खबर भनेका छन्।
सरकारले विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउनु अघि विभिन्न स्थानमा क्वारेन्टिन स्थापना गर्नका लागि काम गरिरहेको छ।
'दशरथ रंगशालामा छिर्दै गर्दा एउटा नराम्रो खबर सुनेँ,' शेर्पाले शुक्रबार रंगशालामा ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा भने, 'हामीले रंगशालाको मैदानलाई लकडाउनमा पनि मर्मत सम्भार गरिरहेका छौ। अन्तर्राष्ट्रिय स्तरको रंगशालामा बनाउने हो भने क्वारेन्टिन बनाउन नदिनका लागि सदस्यसचिवले प्रयास गर्ने विश्वास गरेका छौं।'
सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालको पनि उपस्थिति थियो। सिलवालले दशरथ रंगशालामा क्वारेन्टिन बनाउने विषयमा केही बोलेनन्। शेर्पाले भने मैदानमा क्वारेन्टिन बनाउन नहुने बताउँदै सिलवालले रोक्नु पर्ने संकेत गरे। रंगशाला राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा छ।
'यदि क्वारेन्टिइन राखेको खण्डमा हप्ता-दश दिन भित्रै घाँस उक्किन्छ। मैदान बनाउन फेरि जिरोबाट सुरु गर्न पर्ने हुन्छ। त्यसैले सदस्य सचिवज्यूले रोकेर कम्तिमा मैदानमा क्वारेन्टिन नराखेर अन्य स्थानमा राख्न अनुरोध गर्दछु,' उनले भने।
मैदानको विकल्प दिन एन्फा तयार रहेको पनि शेर्पाले भनाइ राखे।
'मैदानमा राख्ने क्वारेन्टिनको स्थान खोज्न भनेमा हामी स्कुल कलेजलाई अनुरोध गर्छौ। त्यसको व्यवस्थापनका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्छु,' शेर्पाले भने।
भूकम्पले क्षतिग्रस्त बनेको नेपालको अन्तर्राष्ट्रिय रंगशाला गत मंसिरमा भएको १३औं सागका लागि हतार हतार पुनर्निर्माण गरिएको थियो।
यसअघि एन्फाले रौतहटको महिला फुटबल एकेडिमी र बुटवलको एन्फा टेक्निकल सेन्टर भने क्वारेन्टिनका लागि उपलब्ध गराएको थियो।
दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउनका लागि एन्फाले ए डिभिजन लिगपछि मर्मत गरिएको छ। रंगशालामा विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनविरुद्धका खेल तय भए पनि कोरोनाका कारण स्थगित भइसकेका छन्।
त्यसअघि नेपालले विश्वकप छनोटका खेल रंगशाला समयमै तयार नहुँदा पहिला अवे खेल खेल्न बाध्य भएको थियो। रंगशालाकै कारण नेपालले कुवेतविरुद्धको होम म्याच भुटानमा खेलेको थियो।
एन्फाले दशरथ रंगशालामा क्वारेन्टिन बनाउन नहुने बताइरहदा कतिपय देशमा भने रंगशाला क्वारेन्टिनमा परिणत भएका छन्।
इन्डियन सुपर लिग टिम जम्शेदपुर एफसीको घरेलु मैदान क्वारेन्टाइन सेन्टरको रूपमा परिणत भएको छ। झारखण्डमा रहेको जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्सलाई क्वारेन्टाइन सेन्टरका प्रयोग गरिएको हो।