लागूऔषधबाट मुक्त भएपछि फेरियो जीवन


‘प्रिय बुबा र आमा

कुनै विषयमा म कसरी नराम्रोसँग असफल भएँ

तर मलाई सधैं विजेताजस्तै व्यवहार गर्नुभयो अनि सहयोगी बन्नुभयो

धन्यवाद, सद्भावका लागि’

 दाहिने हातमा खोपिएको ट्याटुमा लेखिएको छ।

पातलो शरीर, अग्लो कद। जीउ सुहाँउदिलो पहिरन छ। हातमा ट्याटु खोपेका छन्। विराटनगर पोखरियाका ३५ वर्षीय प्रवीन बस्नेत लामो समयपछि यसरी साधारण जीवनमा फर्किन सफल भएका व्यक्ति हुन्।

बाबुआमाको कान्छो छोरा प्रवीनलाई केही कुराको कमी थिएन। स्वतन्त्र हिँडडुलको वातावरण थियो, यस्तो पारिवारिक स्वतन्त्रताले साथीभाइको संगत बाक्लो बनायो। चुरोट, बिँडी हुँदै उनी लागुऔषध प्रयोगकर्ता बन्न पुगे।

कानुनमा आइए पढ्दापढ्दै २०५७ सालमा उनी लागुऔषध प्रयोगकर्ता बनेका थिए। यो हुनुमा पारिवारिक स्वतन्त्रता नै प्रमुख कारण रहेको उनी बताउँछन्।

२०३९ सालमा जन्मिए। प्राथमिक र निमावि तहको पढाइ पोखरिया उच्च माविमा पूरा गरे। माध्यमिक शिक्षा शिक्षादीप उच्च माविमा हासिल गरे। २०५६ सालमा उनी जब ल क्याम्पस भर्ना भए, त्यसपछि उनको जीवन लागुऔषधजस्तो डरलाग्दो लतमा फस्यो।

साथीभाइको लहैलहैले २०५७ सालबाट उनी लागुऔषधको अम्मली बने। प्रवीनलाई लागुऔषध जुटाउन असहज थिएन, किनभने जोगबनी बजार विराटनगरबाट नजिकै पर्छ। ‘बुवा व्यवसायी हुनुहुन्थ्यो। पैसाको समस्या थिएन,’  उनी भन्छन्, ‘जोगबनी पुग्थें। कहिले फेन्सिडिल त कहिले नाइट्रोजन ट्याब्लेट खान्थें।

यसरी भयो परिवर्तन

२०६४ साल पुस महिनाको एक दिन। लागुऔषधले शिथिल बनाएको शरीरसँगै उनको मन पनि शिथिल बन्दै गएको थियो गाउँ समाजमा सबैको परिवर्तन देखिरहेका प्रवीनले आफूलाई एक्लो देखे। जीवनमा पछि परेको अनुभूति मनमा पलाएपछि परिवर्तन नै अन्तिम विकल्प भएको निष्कर्षमा उनी पुगे। र, परिवर्तनको संकल्प लिएर आफैं सुधार केन्द्र पुगे।

रिचमण्ड फेलोसिपमा करिब एक वर्ष बसेपछि उनमा अब आफैं सुधारक बन्नुपर्छ भन्ने भावना पैदा भयो। सामाजिक, पारिवारिक रुपमा छि..छि बनेका उनले यसरी परिवर्तनको बाटो समातेपछि अहिले परिवार र समाज दुबै खुसी छन्। वास्तविक संसार उनले अहिले देख्न थालेका छन्। वास्तवमा त्यो आफैंभित्रको आत्मबलले सम्भव भएको थियो।

‘ती दिन सम्झँदा अहिले पनि शरीर जिरिङ्ग भएर आउँछ, सुधार आफैंबाट सकिन्छ, यदि आत्मविश्वास भए,’ उनी भन्छन्, ‘२०६४ पुस ४ गतेको त्यो दिन (सुधार केन्द्र गएको) मेरो लागि परिवर्तनको पहिलो खुड्किलो थियो।’

उनी सुधार गृहमा बसेपछि पारिवारिक सहयोग प्राप्त भयो। सात वर्षे नशाको जीवनलाई परिवर्तन गर्नु चानुचुने कुरा थिएन। तर उनले हिम्मत हारेनन् र पूर्णतः त्यो जीवनलाई परिवर्तन गरे।

त्यो अवधिमा धेरै लागुऔषध प्रयोगकर्ता उनका साथी भए। त्यो साथ यस्तो थियो कि, न त्यहाँ धर्मको कुरा हुन्थ्यो, न त जात नै। न उमेरले छेक्थ्यो, न त अरु केहीले नै। जतिबेला तलतल लाग्थ्यो त्यो बेला हर हालतमा लागुऔषधको जोहो गर्ने उद्देश्य हुन्थ्यो। ‘लागुऔषध प्रयोग गर्न नपाएको क्षण एकदमै पीडादायी हुन्थ्यो,’ उनी भन्छन्, ‘जीवन नै जटिल भएजस्तो अनुभूति हुन्थ्यो।’

प्रवीनको पहिचान हिजोआज फेरिएको छ। एउटा सप्लायर्सको व्यापार सुरू गरेका छन्। समाजमा स्थापित हुन समाजसेवादेखि लिएर व्यापारमा समेत हात हालेका उनको जीवनशैली बदलिएको छ।

सबैले सम्मानसाथ व्यवहार गर्छन्। ‘बिग्रिएका भाइहरूका बुवा–आमा जतिबेला मलाई भेटेर छोरो सप्रिएको खुसी साट्नुहुन्छ। त्यसबेला म आफूलाई सफल भएको ठान्छु,’ उनले भने।

कसरी छुटकारा पाउने?

लागुऔषधको लतबाट पार पाएपछि उनी नयाँ जीवनमा प्रवेशमात्र गरेनन्, उनले आफूजस्तै प्रयोगकर्तालाई सुधारे। त्यस्तो समस्या झेलिरहेका धेरै परिवारलाई खुसी बनाएका छन्। महेन्द्र मोेरङ क्याम्पसछेऊमा रहेको न्यू लाइफ फेलोसिपका अध्यक्ष प्रवीनले हालसम्म लागुऔषधको प्रयोगमा होमिएका करिब ८ सय प्रयोगकर्तालाई सुधारको बाटो देखाएका छन्।

उनले स्थापना गरेको सुधार केन्द्रमा अहिले ३९ जना लागुऔषध प्रयोगकर्ता छन्।

२०६७ सालमा स्थापित सो संस्थाले लागुऔषधको प्रयोगकर्तालाई नशामुक्त जीवनको सुरुवातका लागि मद्दत गरिरहेको छ। रक्सी, गाँजा, फेन्सिडिल, ब्राउन सुगरजस्ता लागुऔषध प्रयोगकर्तालाई सुधारेपछि उनले सामाजिक सद्भाव पाएका छन्।

‘धेरैजसो मध्यम र निम्नवर्गीय परिवारका युवाहरू लागुऔषध प्रयोगकर्ता बनेको पाएको छु,’ उनी भन्छन्, ‘पहिलो त देखासिकी नै हो लागुऔषध प्रयोगमा, नशामा अनमक्त हुँदै गएपछि विस्तारै व्यक्ति प्रयोगकर्ता बन्छ।’

पूर्वाञ्चलका धेरै स्थानबाट लागुऔषध प्रयोगकर्ताहरू जीवन सुर्धान आउने गरेको उनले सुनाए। ‘लागुऔषध प्रयोगकर्तालाई समाजले गलत दृष्टिकोणबाट हेर्छ। त्यो गलत हो,’ उनी भन्छन्, ‘उनीहरूमा पनि सुधार आउँछ, समाजमा उदाहरणीय कार्य गर्न सक्छन् भन्ने सोच्नुपर्छ।’

उनको विचारमा मान्छे त्यतिकै भने प्रयोगकर्ता बन्दैन। प्रयोगकर्ता बन्नुमा सामाजिक कारण हो। पारिवारिक र आर्थिक कारण पनि यसमा जोडिएको हुन्छ। परिवारले गलत बाटोमा लागेका छोराछोरीलाई सुधारका निम्ति उत्प्रेरणा र आत्मविश्वास जगाउन सक्नुपर्छ।

उनका अनुसार सुधार गृहले लागुऔषधको प्रयोगकर्तालाई हेरचाह, सन्तुलित आहार, औषधि, कक्षागत सल्लाह, व्यायमजस्ता विषयमा केन्द्रित गर्ने गर्छ। लागुऔषधका विषयमा जानकारी, आत्मबल बढाउने, आफ्नो दायित्व र कर्तव्य लगायत सामाजिक जिम्मेवारी, व्यक्तित्व विकासजस्ता कार्यमा उत्प्रेरित गराउने गराइने गरेको बस्नेत बताउँछन्।

सुधार गृहमा आइपुग्ने सबै ठिक भने हुँदैनन्। तथ्याङ्क अनुसार करिब ४० प्रतिशतले मात्रै पूर्णरुपमा लागुऔषध त्याग्ने गरेको उनी बताउँछन्। अन्यलाई औषधि र परामर्शद्वारा विस्तारै सुधार्न सकिने उनले बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.